२०८३ आश्विन १

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै डिजिटल कर्जाको दायरा विस्तार गरेको छ । संशोधित व्यवस्थाअनुसार अब लघु, साना तथा मझौला व्यवसायीले पनि डिजिटल माध्यमबाट कर्जा प्राप्त गर्न सक्ने भएका छन् ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको संशोधित मार्गदर्शनअनुसार डिजिटल कर्जालाई थप सहज, व्यवस्थित र व्यवसायमैत्री बनाउने उद्देश्य राखिएको छ । नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई डिजिटल कर्जा प्रवाहका क्रममा प्रविधि सेवा प्रदायक संस्थासँग सहकार्य गर्न पनि अनुमति दिएको छ ।

संशोधनपछि बैंक तथा वित्तीय संस्थाले ग्राहकको विद्युतीय कारोबार, भुक्तानीसम्बन्धी विवरण तथा व्यवसायिक सूचनाका आधारमा कर्जा विश्लेषण गर्न सक्नेछन् । यसका लागि प्रविधि सेवा प्रदायक संस्थासँग सहकार्य गर्न पाइने भए पनि त्यससँग सम्बन्धित जोखिम व्यवस्थापनको जिम्मेवारी भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै रहने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले डिजिटल कर्जाको सीमा पनि स्पष्ट रूपमा निर्धारण गरेको छ । बैंक तथा वित्तीय संस्थामा तलब, पेशागत वा व्यवसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिले अधिकतम ५ लाख रुपैयाँसम्म डिजिटल कर्जा लिन सक्नेछन् । अन्य प्राकृतिक व्यक्तिका लागि यस्तो सीमा २ लाख रुपैयाँ तोकिएको छ । दुवै प्रकारका कर्जाको भुक्तानी अवधि अधिकतम ३ वर्षसम्म हुनेछ ।

त्यस्तै, लघु, साना तथा मझौला व्यवसायीलाई अल्पकालीन चालु पुँजी कर्जाअन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन सकिनेछ, जसको भुक्तानी अवधि १ वर्ष तोकिएको छ । यस्तै, दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जाअन्तर्गत अधिकतम १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । यस्तो कर्जाको भुक्तानी अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो कर्जा नीतिअनुसार निर्धारण गर्नेछन् ।

संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध व्यापारीको सहमतिमा उनीहरूको व्यवसाय तथा कारोबारसम्बन्धी आवश्यक विवरण प्राप्त गरी कर्जा विश्लेषणका लागि उपयोग गर्न सक्नेछन् ।

यसबाहेक, बैंक तथा वित्तीय संस्थाले प्रविधि सेवा प्रदायक संस्थामार्फत ग्राहकको सहमतिमा व्यवसाय तथा कारोबारसम्बन्धी आवश्यक विवरण संकलन गर्न सक्नेछन् । तर त्यस्ता कर्जामा निहित सम्पूर्ण जोखिम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, विवरण प्राप्ति प्रक्रिया, गोपनीयता, आधिकारिकता तथा ग्राहकको सहमतिसम्बन्धी विषय समेटेर प्रविधि सेवा प्रदायकसँग सम्झौता गर्नुपर्ने र त्यसको जानकारी राष्ट्र बैंकलाई दिनुपर्ने प्रावधान पनि थपिएको छ ।

राष्ट्र बैंकले यो संशोधनमार्फत डिजिटल कर्जाको पहुँच विस्तार गर्दै विशेषगरी लघु, साना तथा मझौला व्यवसायीलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

Read More

विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब, प्राथमिकताका साथ उठाउन मन्त्रीको निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब एक करोड भएको भन्दै 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अगाडी बढाउन निर्देशन दिएका छन् ।

प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरुको छुट्टाछुट्टै बैठकमा महशुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकमसमेत ठूलो रहेको हुँदा यसलाई छिटो फर्स्यौट गर्नुपर्ने सुझाव दिएका हुन् ।

महालेखा परीक्षकको ६३औं प्रतिवेदनमा विद्युत महशुल बक्यौता ५० अर्ब १ करोड रुपैयाँ रहेको छ ।

उनले विगतमा धेरै अध्ययन, छानविन र निर्णयहरु भइसकेको भन्दै यसमा थप निर्णयको आवश्यकता नरहेको र नियम अनुसार प्रक्रिया अनुसार गर्न निर्देशन दिएका छन् ।

डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्तीलगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उनले कानुनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिने नहुने बताए ।

Read More

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ९ सयले घटेर तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर तोलाको ४९०५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४८९५ मा कारोबार भएको थियो ।

Read More

‘परिवर्तनका लागि प्रविधि’ सम्मेलन सम्पन्न, नेपालगंजलाई नवप्रवर्तनको केन्द्र बनाउने लक्ष्य

काठमाडौँ । लुम्बिनी प्राविधिक विश्वविद्यालयले प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राखेर आयोजना गरेको दुईदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। ‘परिवर्तनका लागि प्रविधि’ विषयमा नेपालगन्जमा आयोजित सम्मेलनमा विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मेलनमा लुम्बिनी प्रदेशको दिगो विकासका लागि प्रविधिमैत्री समाधान खोज्ने, अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा शैक्षिक संस्था, उद्योग र सरकारी निकायबीच सहकार्य विस्तार गर्ने विषयमा गहन छलफल भएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका डिन डा. नीरज केसीले स्थानीय स्तरमा देखिएका चुनौतीहरू—बढ्दो गर्मी, पानी व्यवस्थापन र विकाससँग सम्बन्धित समस्याहरू—समाधान गर्न प्रविधि र नवप्रवर्तनलाई जोड्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको बताए।

उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालका अनुसार बाँके, बर्दिया, सुर्खेत, बुटवललगायत विभिन्न जिल्लाबाट विद्यार्थी तथा अनुसन्धानकर्ताहरूको सहभागिताले सम्मेलनलाई थप प्रभावकारी बनाएको छ। उनले नेपालगन्जलाई प्रविधि र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यतर्फ सम्मेलन महत्वपूर्ण कदम भएको बताए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झा, प्रा. डा. विनयकुमार मिश्र, प्रा. डा. मनिष पोखरेल र डा. राजन सुवाललगायतका विज्ञहरूले प्रविधि, अनुसन्धान र विकासका विविध पक्षबारे धारणा राखेका थिए। सहभागी विद्यार्थीहरूले आफ्ना अनुसन्धानपत्रहरू प्रस्तुत गर्दै नयाँ सोच र अवधारणाहरू पनि साझा गरेका थिए।

प्यानल छलफलमा वक्ताहरूले नेपालगन्जलाई सूचना प्रविधिको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सीमापार सहकार्य उपयोगी हुनसक्ने धारणा राखेका थिए। विशेषगरी भारतका उत्तर प्रदेश र बिहारका विद्यार्थीलाई समेत आकर्षित गर्ने सम्भावनाबारे चर्चा भएको थियो।

लुम्बिनी प्रदेशको गौरवको योजनाअन्तर्गत स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले छोटो अवधिमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शैक्षिक कार्यक्रम आयोजना गर्दै आफ्नो पहिचान बलियो बनाउँदै गएको छ।

Read More

नागढुंगा-मुग्लिन सडक विस्तारको काम फेरि सुरु, निर्माणले गति लिने अपेक्षा

काठमाडौँ । निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिका कारण केही समय रोकिएको नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारको काम पुनः सुरु भएको छ।

राजधानीको मुख्य लाइफलाइन मानिने यस सडकखण्डमा आवश्यक बिटुमिन आपूर्ति भएपछि काम फेरि अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ। शर्मा एण्ड कम्पनीका निर्देशक सौरभ शर्माका अनुसार हाल १०२ टन बिटुमिन आइसकेको छ भने थप आपूर्ति पनि आउने क्रममा छ। सामग्री आपूर्ति सहज हुँदै गएपछि कामले अझ गति लिने उनले बताए।

पश्चिम एसियामा जारी द्वन्द्व र भारतबाट हुने आयातमा आएको अवरोधका कारण केही समय निर्माण कार्य प्रभावित भएको थियो। मूल्य समायोजनको विषयमा निर्माण व्यवसायीहरूले सम्बन्धित मन्त्रीसँग छलफल गरेपछि काम अघि बढाउने सहमति बनेको हो।

कुल ९५ किलोमिटर लामो नागढुंगा–मुग्लिन सडकलाई पूर्व र पश्चिम गरी विभिन्न खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ। पूर्वी खण्डको नागढुंगा–नौबिसे खण्डमा काम करिब ८५ प्रतिशत पूरा भइसकेको छ भने नौबिसे–मलेखु खण्ड करिब ६० प्रतिशत प्रगतिमा छ।

त्यस्तै पश्चिम खण्ड मलेखु–मुग्लिन क्षेत्रमा काम करिब ४४ प्रतिशत सम्पन्न भएको छ। केही पुल र संरचना निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी काम तीव्र गतिमा अघि बढाइएको छ।

सडक विस्तार पूरा भएपछि यो मार्ग अझ सुरक्षित र सहज यात्रा योग्य हुने अपेक्षा गरिएको छ।

Read More

सुन एकैदिन तोलाको ८ हजार २ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ८ हजार २ सयले घटेर तोलाको ३ लाख ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३३५ रुपैयाँले घटेर तोलाको ४८९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५२३० मा कारोबार भएको थियो ।

Read More

सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको २१ सयले घटेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार  सुन तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ५२३० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५२८५ मा कारोबार भएको थियो ।

Read More

फाकफोकथुममा दुग्ध व्यवसायको सफल कथा : सहकारीमार्फत किसानको आम्दानी र आत्मनिर्भरता बढ्दै

काठमाडौं ।  बिहान ३ बज्नुअघि नै फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका शेषकान्त खनालको दिनचर्या सुरु हुन्छ। गाईगोठ सरसफाइ, गोबर व्यवस्थापन, गाईलाई नुहाइदिने, दूध दुहुने र दाना–पानी खुवाउने काममा व्यस्त रहने उनी दुग्ध व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन्।

दुई वटा गाईबाट दैनिक करिब ३५ लिटर दूध उत्पादन गर्ने खनाल दूध सङ्कलन केन्द्रमा बिक्री गरेर घर फर्किन्छन्। दुग्ध सहकारीले उचित मूल्य उपलब्ध गराएकाले गाईपालनप्रति थप उत्साह बढेको उनी बताउँछन्।

फुएतप्पास्थित थामडाँडा पशुपालन सहकारी संस्थामा हाल ८४ परिवार आबद्ध छन्। तीमध्ये ४५ परिवार नियमित रूपमा दूध उत्पादन तथा बिक्रीमा संलग्न छन्। सहकारीका सह–सचिव ढाकाबहादुर मगर पनि सफल दुग्ध किसानमध्ये एक हुन्। केही समयअघि दैनिक ७२ लिटर दूध बिक्री गर्ने गरेका उनले हाल चार वटा उन्नत जातका गाईबाट दैनिक ४८ लिटर दूध उत्पादन गरिरहेका छन्।

“व्यावसायिक रूपमा पशुपालन गर्न सके राम्रो आम्दानी सम्भव छ,” मगरले भने।

सहकारीमा दैनिक करिब ९५० लिटर दूध सङ्कलन हुने गरेको छ। किसानले दूधको गुणस्तरअनुसार प्रतिलिटर ५५ देखि ७५ रुपैयाँसम्म मूल्य प्राप्त गर्छन्। सहकारीका अध्यक्ष हरिप्रसाद दङ्गालीका अनुसार दूधको मूल्य ‘ल्याक्टो’ र ‘फ्याट’को आधारमा निर्धारण गरिन्छ। घिउ र छुर्पीको बजार मूल्यअनुसार किसानलाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ।

दूध सङ्कलनमा मात्र सीमित नरही सहकारीले मूल्य अभिवृद्धिमार्फत पनि आम्दानी बढाइरहेको छ। संस्थाले मासिक करिब १२ क्विन्टल छुर्पी र सात क्विन्टल घिउ उत्पादन गर्दै आएको छ। यी उत्पादनहरू स्वदेशी बजारसँगै विदेशमा समेत निर्यात भइरहेका छन्। सहकारी सदस्य सुजन श्रेष्ठले उत्पादन सङ्कलन तथा बजार व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका छन्।

अध्यक्ष दङ्गालीका अनुसार सहकारीको मासिक कारोबार १२ देखि १५ लाख रुपैयाँसम्म पुग्ने गरेको छ। सञ्चालन खर्च कटाएर मासिक करिब डेढ लाख रुपैयाँ बचत हुने गरेको उनले बताए।

उत्पादन वृद्धि गर्न सहकारीले प्रोत्साहनमूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ। मासिक ६०० लिटर दूध बिक्री गर्ने किसानलाई एक बोरा ब्रान, ९०० लिटर बिक्री गर्ने किसानलाई दुई बोरा तथा त्यसपछिका प्रत्येक ३०० लिटर उत्पादनमा थप एक बोरा ब्रान उपलब्ध गराइन्छ। यसले किसानबीच स्वस्थ प्रतिस्पर्धा र उत्पादन वृद्धिमा सहयोग पुगेको सहकारीकी उपाध्यक्ष भोजकुमारी खनाल बताउँछिन्।

सह–सचिव मगरले एक समय मासिक छ बोरासम्म ब्रान निःशुल्क प्राप्त गरेको अनुभव सुनाउँदै सहकारीले पशुपालन विस्तार गर्न चाहने किसानलाई सहुलियतपूर्ण ऋणसमेत उपलब्ध गराउँदै आएको जानकारी दिए।

२८ परिवारबाट सुरु भएको सहकारी २०६७ सालमा औपचारिक रूपमा दर्ता भएको थियो। हाल ८४ परिवार आबद्ध भए पनि ४५ परिवार सक्रिय रूपमा दुग्ध उत्पादनमा संलग्न छन्। सहकारीले एक हजार लिटर क्षमताको चिस्यान ट्याङ्की सञ्चालनमा ल्याएको छ।

हाल दैनिक उत्पादन करिब ९५० लिटर पुगेको भए पनि निकट भविष्यमै एक हजार लिटर पुर्‍याउने लक्ष्य रहेको अध्यक्ष दङ्गालीले बताए।

कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालित वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनाले सहकारीलाई व्यावसायिक योजना निर्माण, तालिम, प्रविधि तथा बजार पहुँच विस्तारमा सहयोग पुर्‍याएको छ। परियोजनामार्फत डिपफ्रिज, छुर्पी सुकाउने भवन, चेन पुली र जेनेरेटरजस्ता आवश्यक पूर्वाधार निर्माण गरिएको छ।

यता, फाकफोकथुम गाउँपालिकाले पशु स्वास्थ्य तथा व्यवसाय प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गर्नुका साथै किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्ने पहल जारी रहेको गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताए।

उनका अनुसार गाउँपालिकामा दैनिक करिब ३१ हजार लिटर दूध उत्पादन हुने गरेको छ। “कृषि र पशुपालनले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै आर्थिक समृद्धिको आधार तयार गरेको छ,” उनले भने, “यसले गाउँमै सम्मानजनक जीवनयापनको अवसर पनि बढाएको छ।”

Read More

बजेटप्रति सरोकारवालाहरूको मिश्रित प्रतिक्रिया: लगानी र डिजिटल रूपान्तरणमा जोड, कार्यान्वयनमा चुनौती

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेटप्रति अर्थशास्त्री, नीतिनिर्माता तथा उद्योग क्षेत्रका विज्ञहरूले मिश्रित प्रतिक्रिया जनाएका छन्। उनीहरूले लगानी, नवप्रवर्तन र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखिएको पक्षलाई सकारात्मक रूपमा लिँदै यसको प्रभावकारी कार्यान्वयनमा भने गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागअन्तर्गत इकोनोमिक्स स्टुडेन्ट्स सोसाइटी (इकोस) ले बुधबार आयोजना गरेको बजेटसम्बन्धी छलफलमा पूर्वअर्थमन्त्री युवराज खतिवडा ले बजेटले अर्थतन्त्रका केही संरचनागत समस्या पहिचान गरे पनि उत्पादन र उद्यमशीलता प्रवर्द्धनका लागि पर्याप्त प्रोत्साहन नदेखिएको टिप्पणी गरे।

उनले लगानी र उद्यमशीलता विस्तारको लक्ष्य राखिए पनि कम्पनी कर दर घटाउने विषयमा सरकार अग्रसर नभएकोप्रति प्रश्न उठाए। “यदि सरकार साँच्चिकै उद्योग तथा लगानी प्रवर्द्धन गर्न चाहन्छ भने २५ र २० प्रतिशत रहेको कम्पनी करलाई क्रमशः २० र १५ प्रतिशतमा किन नझारिएको हो?” उनले प्रश्न गरे। उनका अनुसार उपभोग कर संरचनामा केही परिवर्तन भए पनि उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार अपर्याप्त छन्।

खतिवडाले व्यक्तिगत आयकरको उच्चतम दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा घटाइएको व्यवस्थाले उपभोगमुखी वृद्धिलाई मात्र प्रोत्साहन गर्न सक्ने उल्लेख गर्दै रोजगारीमुखी आर्थिक रूपान्तरणका लागि साना, मझौला तथा घरेलु उद्योगको विस्तारमा जोड दिनुपर्ने बताए। यद्यपि सूचना प्रविधि क्षेत्रमा विदेशमा संस्थागत लगानी गर्न दिने व्यवस्था र नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिपछिको अवस्थाबारे पुनर्विचार गर्ने प्रयासलाई उनले सकारात्मक रूपमा मूल्यांकन गरे।

पूर्वअर्थमन्त्रीका अनुसार यो बजेट नेपालको इतिहासकै सबैभन्दा ठूलो हो, जुन चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा २५.२ प्रतिशतले बढी छ। सरकारले सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित संरचनात्मक सुधार र लगानी विस्तारका कार्यक्रम अघि सारेको छ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल ले बजेटलाई विद्यमान आर्थिक नीतिको निरन्तरताका रूपमा व्याख्या गर्दै डिजिटल रूपान्तरण र कृत्रिम बौद्धिकतालाई प्राथमिकतामा राखिएको बताए। उनले राजस्व संकलनको यथार्थपरकता र लक्ष्य प्राप्तिमा चुनौती रहेको भन्दै सरकारी आय–व्यय अनुमान व्यवहारिक छन् वा छैनन् भन्ने प्रश्न उठाए।

उनका अनुसार सरकारी खर्च बढेसँगै माग वृद्धि भई आयातमा समेत वृद्धि हुन सक्ने र त्यसले बाह्य क्षेत्रीय दबाब थप्न सक्ने जोखिम छ। साथै, विप्रेषणमा अत्यधिक निर्भरता अझै अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहेको उनले बताए।

डिजिटल नीतिका जानकार अमृता शर्मा ले बजेटमा डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइएको पक्षको स्वागत गर्दै यसले सार्वजनिक सेवा प्रवाह, पारदर्शिता र सुशासन सुधारमा योगदान दिन सक्ने बताइन्। उनले सूचना प्रविधि क्षेत्रमा कर प्रोत्साहन, गैरआवासीय नेपाली लगानी आकर्षण तथा कृत्रिम बौद्धिकता र डेटा सेन्टर विकाससम्बन्धी पहललाई सकारात्मक रूपमा लिइन्।

तर उनले “महत्वाकाङ्क्षा सराहनीय छ, तर कार्यान्वयन नै मुख्य प्रश्न हो” भन्दै दक्ष जनशक्ति उत्पादनमा पर्याप्त ध्यान नदिएको टिप्पणी गरिन्।

आध्यन्त फण्ड म्यानेजमेन्टका संस्थापक तथा अध्यक्ष मनोज पौडेल ले बजेटको संरचनालाई सकारात्मक बताए पनि लक्ष्य हासिल गर्न कार्यान्वयन क्षमतामा ठूलो चुनौती रहेको उल्लेख गरे। उनले औद्योगिक कच्चा पदार्थमा कर छुट तथा औद्योगिकीकरण प्रवर्द्धनलाई स्वागत गर्दै उच्च आर्थिक वृद्धिको लक्ष्य राखिएको अवस्थामा पुँजीगत खर्च घटाइनु विरोधाभासपूर्ण भएको टिप्पणी गरे।

उनका अनुसार बजेटको मूल्यांकन राजस्व संकलन, खर्च कार्यान्वयन क्षमता र नीतिगत पूर्वानुमेयताको आधारमा हुनुपर्छ। नेपालमा पुँजीगत खर्च कार्यान्वयन क्षमता कमजोर रहेको र प्रशासनिक संयन्त्र अझै प्रभावकारी नभएको उनको भनाइ थियो।

सार्वजनिक नीतिका जानकार प्रकृति भट्टराई ले बजेटले संस्थागत सुधार, लगानी प्रवर्द्धन र प्रविधि रूपान्तरणलाई प्राथमिकता दिएको उल्लेख गरिन्। वैदेशिक तथा प्रवासी नेपाली लगानी आकर्षणसम्बन्धी नीति सकारात्मक भए पनि कार्यान्वयन नै प्रमुख चुनौती भएको उनको भनाइ छ। साथै, कम आय भएका नागरिकका सरोकारलाई बजेटले पर्याप्त रूपमा सम्बोधन गरेको छ वा छैन भन्ने प्रश्न पनि उनले उठाइन्।

राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्ल ले बजेटले उत्पादनशील परियोजना, नवप्रवर्तन र सार्वजनिक सेवा सुधारलाई प्राथमिकता दिएको बताए। उनका अनुसार समस्या नीतिगत अभाव नभई कार्यान्वयन संयन्त्रको कमजोरी हो। उनले सुशासन सुदृढीकरण, नतिजामुखी मूल्यांकन प्रणाली र छरिएका कार्यक्रमको एकीकरणमार्फत कार्यान्वयन क्षमता सुधार गर्न सकिने धारणा राखे।

निष्कर्ष

समग्रमा, आगामी आर्थिक वर्षको बजेटलाई सरोकारवालाहरूले मिश्रित दृष्टिकोणबाट मूल्यांकन गरेका छन्। एकातिर लगानी, डिजिटल रूपान्तरण र नवप्रवर्तनलाई प्राथमिकतामा राखिएकोमा सकारात्मक प्रतिक्रिया आएको छ भने अर्कातिर कर नीति, पुँजीगत खर्च कार्यान्वयन क्षमता र राजस्व संकलनको यथार्थपरकताबारे गम्भीर प्रश्न उठाइएको छ। विज्ञहरूको साझा निष्कर्ष भनेको नेपालको प्रमुख चुनौती नीति निर्माणभन्दा पनि यसको प्रभावकारी कार्यान्वयन र संस्थागत क्षमताको सुदृढीकरण नै रहेको हो।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको सामान्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले घटेर तोलाको ५२८५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५३७० मा कारोबार भएको थियो ।

Read More