२०८३ कार्तिक ८

जर्मनीको शानदार सुरुआत, कुरासाओमाथि ७–१ को फराकिलो जित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत चार पटकको विश्वविजेता जर्मनीले प्रतियोगितामा शानदार सुरुआत गरेको छ। समूह ‘ई’ अन्तर्गत अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै पहिलो खेलमै प्रभावशाली जित दर्ता गराएको हो।

जर्मनीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल गर्दै विपक्षीमाथि पूर्ण दबाब कायम राख्यो। टोलीका लागि काई हाभाट्र्जले दुई गोल गर्दा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे।

खेलको छैटौँ मिनेटमै एनमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर २१औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ३८औँ मिनेटमा स्लोटरबेकले गोल गर्दै जर्मनीलाई पुनः अग्रता दिलाए।

पहिलो हाफको अतिरिक्त समयमा हाभाट्र्जले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीको अग्रता ३–१ मा पुर्‍याए। दोस्रो हाफमा मुसिएलाले ४७औँ मिनेटमा, ब्राउनले ६८औँ मिनेटमा तथा उन्डाभले ७८औँ मिनेटमा गोल थपे। हाभाट्र्जले ८८औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौँ गोल गर्दै जर्मनीको शानदार जित सुनिश्चित गरे।

यस जितसँगै जर्मनीले समूह चरणमा महत्वपूर्ण तीन अंक जोड्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

Read More

विश्वकप अन्तर्गत सोमबार बिहान दुई खेल हुदै

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह इ को पहिलो खेलमा आइभोरी कोस्ट र इक्वेडर आमने सामने हुदैछन् । यो खेल नेपाली समय अनुसार  सोमबार बिहान ४: ४५ बजेदेखि फिलाडेल्फिया रंगशालामा हुदैछ ।

आइभोरी कोस्टले आफ्नो पहिलो खेलअघि टिम चयनमा केही कठिन अवस्था सामना गरिरहेको छ । रोमा क्लबका रक्षक इभान एनदिकाको तिघ्राको चोटका कारण उनी खेलबाट बाहिरिएका छन् । तर अर्का रक्षक ओडिलोन कोसुनुले चोटको शंका पार गर्दै पूर्ण फिट भएपछि भने केहि राहत भएको छ । त्यस्तै इम्यानुएल अग्बाडोसँगै रक्षापंक्ति सम्हाल्ने अपेक्षा गरिएको छ ।

टोली अहिले नयाँ योजनाको चरणमा प्रवेश गरेको छ । अनुभवी अग्रपंक्ति खेलाडी सेबास्टियन हल्लरलाई टिमबाट बाहिर राखिएपछि युवा खेलाडीलाई मौका मिल्ने भएको छ । युवा आक्रमणमा यान डियोमान्डे र अमाद डियालो प्रमुख भूमिकामा देखिने अपेक्षा गरिएको छ । त्यस्तै मुख्य अग्रपंक्ति खेलाडीका लागि इभान गेसान्ड र एलिये वाहीबीच प्रतिस्पर्धा चलिरहेको छ ।

यता इक्वेडर पनि उच्च अपेक्षासहित प्रतियोगितामा उत्रिँदै छ । तर कप्तान एनर भालेन्सियाको फिटनेसलाई लिएर टिम चिन्तामा छ । हल्का खुट्टाको चोटका कारण उनको सहभागिता अन्तिम समयमा मात्र तय हुने भएको छ ।

भलेन्सिया खेल्न नसकेमा टोलीको आक्रमणको जिम्मेवारी युवा खेलाडी जोन येबोआ, गोन्जालो प्लाटा र निल्सन एङ्गुलोमा थपिनेछ । इक्वेडरको रक्षापंक्ति भने निकै बलियो मानिएको छ । विलियन पाचो, पिएरो इन्कापिए र पर्भिस एस्टुपिनान जस्ता शीर्ष स्तरका खेलाडीले रक्षालाई सम्हाल्नेछन् । मध्यभागमा मइसेस काइसिडोले खेलको गति नियन्त्रण गर्दै आक्रमण र रक्षा बीचको समन्वय गर्ने प्रमुख जिम्मेवारी पाउनेछन् ।

त्यस्तै सोमबार बिहान विश्वकप अन्तर्गत समूह एफ को पहिलो खेलमा स्वीडेन र ट्युनिसिया खेल्दैछन् । यो खेल मेक्सिकोको गुडालुपेमा रहेको एस्टाडियो मोन्टेरेमा हुनेछ । 

स्वीडेनले २०१८ को क्वाटरफाइनलसम्मको शानदार यात्रालाई दोहोर्याउने लक्ष्यसहित विश्वकपमा पुनः प्रवेश गरेको हो । प्रशिक्षक ग्राहम पोटरले छनोट चरणपछि टोलीलाई पूर्ण रूपमा नयाँ शैलीमा रूपान्तरण गरेका छन् । टिममा ठूला चोटका समस्या भने नरहेको बताइएको छ । डिफेन्डर इमिल होल्म प्रतियोगिता सुरु हुनुअघि नै बाहिरिएका थिए । गेब्रियल गुडमुन्डसन हालै गम्भीर भाइरल समस्यापछि शंकाको घेरामा छन् । आवश्यकता परे ड्यानियल स्वेन्सन वा इलियट स्ट्राउडले विंगमा खेल्ने सम्भावना छ ।

भिक्टर लिन्डेलोफ, एन्थोनी इलांगा, बेन्जामिन न्याग्रेन र अलेक्जान्डर बर्नहार्डसन भने साना समस्या पार गर्दै फिट भएका छन् । लिन्डेलोफले रक्षापंक्तिको केन्द्रमा टोलीको नेतृत्व गर्ने अपेक्षा छ । आक्रमणमा स्वीडेनले शक्तिशाली जोडी भिक्टर योकेरेस र अलेक्जान्डर इसाकलाई मुख्य हतियार बनाउनेछ ।

यता ट्युनिसियाले पनि पूर्ण फिट टोलीसहित खेल्ने तयारी गरेको छ । प्रशिक्षक साब्री लामोशीले बेल्जियमसँगको हारपछि टोलीमा केही परिवर्तन गर्ने संकेत दिएका छन् । मिडफिल्डमा हानिबाल मेज्ब्रीले पुनः सुरुआती स्थान पाउने सम्भावना छ भने रानी खेदिरा पनि टोलीमा फर्किने अपेक्षा गरिएको छ । पूर्व आर्सनल युवा खेलाडी ओमार रेकिकले रक्षापंक्ति सम्हाल्नेछन् । गोलपोष्टमा मोहिब चामाख सुरुआत गर्ने सम्भावना छ ।

Read More

पोखरा एभेन्जर्स र कर्णाली याक्सका ७-७ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ ।

पोखरा एभेन्जर्सले आगामी सिजनका लागि भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको हो ।

त्यस्तै पोखराले रोहित चन्द, सन्दीप क्षेत्री, कृष्ण पौडेल, तृतराज दास र अभिषेक तिवारीलाई रिलिज गरेको छ ।

यसअघि शनिबार कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित ७ जना खेलाडीलाई रिटेन गरेको थियो । कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दिपक प्रसाद डुम्रे, पवन सर्राफ, युनिस विक्रम सिंह ठकुरी र युवराज खत्रीलाई तेस्रो सिजनका लागि रिटेन गरेको हो ।

त्यस्तै कर्णालीले अर्जुन घर्ती, दिपेन्द्र रावत,  विपिन प्रसाद शर्मा, मनिष थापा र इमरान शेखलाई तेस्रो सिजनको लागि रिलिज गरेको छ । 

Read More

विश्वकपमा आजराती नेदरल्याण्डस र जापानबीच भिडन्त

काठमाडौं । जारी फिफा विश्वकप फुटबल अन्तर्गत नेदरल्यान्ड्स र जापानबीच समूह ‘एफ’ को पहिलो खेल आज राति एटी एन्ड टी स्टेडियममा हुदैछ । दुवै टोली प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन् ।

यो खेलमा नेपाली समय अनुसार आज राति १: ४५ बजेदेखि शुरु हुदैछ ।

नेदरल्यान्ड्स टोली चोटका कारण केही मुख्य खेलाडीबिना मैदानमा उत्रन बाध्य छ । आर्सनलका डिफेन्डर जुरियन टिम्बर, एक्सेभियर सिमन्स र जेर्डी साउटेन चोटका कारण टिममा छैनन् । मेम्फिस डिपे पुरानो ह्यामस्ट्रिङ समस्यासँग संघर्ष गरिरहेका छन् भने माथियास डे लिग्ट पनि फिटनेस समस्याका कारण शंकामा छन् । यद्यपि डेनजेल डम्फ्रीज फर्किएका छन् र रक्षापंक्तिलाई बल दिएका छन्। मिकी भान डे भेन र कप्तान भर्जिल भान डाइक सेन्टर ब्याकमा देखिने सम्भावना छ ।

जापान टोली पनि ठूलो झट्कामा परेको छ । कप्तान वाटारु एन्डो चोटका कारण बाहिरिएका छन् र अन्तर्राष्ट्रिय फुटबलबाट संन्याससमेत घोषणा गरेका छन् । काओरु मितोमा र ताकुमी मिनामिनो पनि चोटका कारण अनुपस्थित छन् । यसले जापानको आक्रमण कमजोर बनाएको छ । तर ताकेफुसा कुबो र रित्सु दोआनले टोलीको सिर्जनात्मक जिम्मेवारी सम्हाल्नेछन् भने अयासे उएदा अग्रपंक्तिमा रहनेछन् । नेदरल्यान्ड्स पछिल्ला खेलाडीहरूको चोटका बाबजुद प्रशिक्षक रोनाल्ड कोमानको नेतृत्वमा बलियो सुरुवात गर्ने प्रयासमा छन् । उता जापान प्रशिक्षक हाजिमे मोरियासुको टोली लगातार ६ मैत्रीपूर्ण जितसहित उत्कृष्ट लयमा प्रतियोगितामा आएको छ ।

दुवै टोलीबीचको पछिल्लो भेट सन् २०१३ नोभेम्बर १६ मा भएको थियो, जहाँ खेल २–२ को बराबरीमा सकिएको थियो ।

नेदरल्यान्ड्सको टिम

बार्ट भेरब्रुगेन, रोबिन रोएफ्स, मार्क फ्लेक्केन, लुत्सरेल गेरत्रुइडा, भर्जिल भान डाइक, नाथन एके, जान पल भान हेके, मिकी भान डे भेन, डेनजेल डम्फ्रीज, जोर्रेल हातो, क्विन्टेन टिम्बर, मार्टेन डे रोन, र्यान ग्राभेनबेर्च, माट्स वीफर, तिज्जानी रेइन्डर्स, गुस तिल, ट्युन कोपमाइनर्स, फ्रेन्की डि जोंग, जस्टिन क्लुइवर्ट, वाउट वेघोर्स्ट, मेम्फिस डिपाए, कोडी गाक्पो, नोआ लाङ, डोनियल मालेन, ब्रायन ब्रोबे र क्रेन्सियो समरभिल ।

जापानको टिम 

जियोन सुजुकी, केसुके ओसाको, तोमोकी हायकावा, युकिनारी सुगावारा, शोगो तनिगुची, को इताकुरा, युतो नागातोमो, त्सुयोशी वातानाबे, अयुमु सेको, हिरोकी इतो, ताकेहिरो तोमियासु, जुनोसुके सुजुकी, वाटारु एन्डो, आओ तनाका, रित्सु दोआन, दाइची कामादा, युइतो सुजुकी, काइशु सानो, ताकेफुसा कुबो, केसुके गोटो, दाइजन माइदा, केइतो नाकामुरा, जुन्या इतो, अयासे उएदा, कोकी ओगावा र केन्तो शिगोआइ ।

Read More

विश्वकपमा आजराती अनुभवी जर्मनी र नयाँ कुरासाओ आमने सामने

काठमाडौँ । जुलियन नागेल्समानको नेतृत्वमा रहेको जर्मनी २०२६ को विश्वकप उपाधि जित्ने मुख्य दाबेदारमध्ये भने राखिएको छैन । तर युवा खेलाडीले भरिएको यो टोलीसँग पर्याप्त अनुभव पनि छ, जसले गर्दा उनीहरू दबाबभन्दा बाहिर रहेर लामो यात्रा गर्न सक्ने टोलीका रूपमा हेरिएको छ ।

अर्कोतर्फ कुरासाओले पहिलो पटक विश्वकपमा स्थान बनाएको छ। अनुभवी प्रशिक्षक डिक एड्भोकाटको नेतृत्वमा यो सानो टापु राष्ट्रले ऐतिहासिक छनोट यात्रा पूरा गर्दै विश्वकपमा प्रवेश गरेको हो । जनसंख्याका हिसाबले विश्वकै सानो देशमध्ये पर्ने कुरासाओको यो उपलब्धिले विश्वभर धेरैलाई प्रेरित गरेको छ । टोलीका धेरै खेलाडी नेदरल्याण्ड्सको एरेडिभिसीमा खेल्छन् र उनीहरू अप्रत्याशित नतिजा निकाल्न सक्षम मानिन्छन् ।

जर्मनीका लागि आक्रमणमा काइ हाभेर्ट्ज राम्रो लयमा देखिएका छन् । उनलाई लेरोय साने, जमाल मुसियाला र फ्लोरियन भिर्ट्ज जस्ता खेलाडीले अवसर सिर्जना गरेर सहयोग गर्ने अपेक्षा छ । गोलरक्षकमा अनुभवी म्यानुएल नोयर पुनः फिट भएका छन् । मध्यभागको जिम्मा कप्तान जोशुवा किमिखले सम्हाल्नेछन् । तर टोलीका लागि ठूलो झट्का भने ल्यानार्ट कार्लको चोट हो। बायर्न म्युनिखका यी युवा खेलाडी प्रतियोगिताअघि नै बाहिरिनु जर्मनीका लागि ठूलो क्षति मानिएको छ।

कुरासाओले छनोट चरणमा जमैका र ट्रिनिडाड र टोबेगो जस्ता टोलीलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । त्यसैले उनीहरूलाई कमजोर आँक्न मिल्दैन । टोलीका धेरै खेलाडी नेदरल्याण्ड्सको एरेडिभिसीमा खेल्छन् । कप्तान लेआन्ड्रो बाकुना टोलीको मुख्य आधार हुन् भने उनका भाइ जुनिन्हो बाकुनाको भूमिका पनि महत्वपूर्ण रहनेछ ।

म्यानचेस्टर युनाइटेडको युवा प्रणालीबाट आएका ताहिथ चोङ मध्यभागबाट आक्रमणमा तीव्र खतरा सिर्जना गर्न सक्छन् । कुरासाओले अवसर पाएमा प्रतिआक्रमणमा खेल बदल्ने प्रयास गर्नेछ  ।

जर्मनी सम्भावित सुरुआती टोली

म्यानुएल नोयर. जोशुवा किमिख, जोनाथन टा, निको श्लोटरबेक, डाभिड राउम, लिओन गोरेट्स्का, अलेक्जान्डर पाभ्लोभिच, लेरोय साने, जमाल मुसियाला, फ्लोरियन भिर्ट्ज, काइ हाभेर्ट्ज ।

कुरासाओ सम्भावित सुरुआती टोली

एलोय रुम, जुरलेन गारी, रिचेड्ली बेजोयर, आर्मान्डो ओबिस्पो. शेरेल फ्लोरानुस, लेआन्ड्रो बाकुना, लिभानो कोमेनेन्सिया, डेभेरोन फोनभिल, जुनिन्हो बाकुना, युर्गेन लोकेडिया, ताहिथ चोङ ।

Read More

विश्वकपमा टर्कीविरुद्ध अस्ट्रेलियाको शानदार जित

काठमाडौँ । अस्ट्रेलियाले जारी फिफा विश्वकपमा विजयी शुरुवात गरेको छ ।

आइतबार बिहान सम्पन्न समुह डी  अन्तर्गतको खेलमा अस्ट्रेलियाले टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार शुरुवात गरेको हो ।

अस्ट्रेलियाको जितमा  नेस्टोरी इराङ्कुन्डा र कोनर मेटकाफले एक एक गोल गरेका थिए । अस्ट्रेलियाले खेलको २७औं मिनेटमा इराङ्कुन्डाको गोल गर्दै शुरुवाती अग्रता लिएकोमा दोस्रो हाफको ७५औं मिनेटमा मेटकाफले अग्रता दोब्बर पारेका थिए ।

यो जितपछि समुह डी मा अस्ट्रेलियाले महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब अस्ट्रेलियाले अर्को खेल जुन २० मा अमेरिकासँग र जुन २६ मा पराग्वेसँग खेल्ने तालिका छ । त्यस्तै टर्की भने यस खेलमा हार बेहोरेपछि दबाबमा परेको छ । अब टर्कीले जुन २० मा पराग्वेसँग र जुन २६ मा अमेरिकासँग खेल्ने तालिका छन् ।

Read More

स्कटल्यान्डको ३६ वर्षपछि विश्वकपमा ऐतिहासिक जित

काठमाडौँ । स्कटल्यान्डले जारी फिफा विश्वकपमा ३६ वर्षपछि पहिलो जित दर्ता गरेको छ । शनिबार समूह ‘सी’ अन्तर्गत भएको खेलमा स्कटल्यान्डले हैटीलाई १–० ले पराजित गरेको हो ।

स्कटल्यान्डको जितमा जोन म्याकगिनले खेलको २८औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । चे एडम्सको प्रहार गोलरक्षक जोनी प्लासिडेबाट फर्किएपछि आएको बलमा म्याकगिनले गरेको प्रहार विपक्षी रक्षकमा ठोक्किँदै जाली चुमेको थियो ।

सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको स्कटल्यान्डले विश्वकपमा अन्तिम पटक सन् १९९० मा स्विडेनलाई २–१ ले हराउँदै जित निकालेको थियो । त्यसयता टोलीले विश्वकपमा जित हात पार्न सकेको थिएन ।

यसअघि शनिबार नै समूहका बलिया टोली ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेलेपछि स्कटल्यान्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

सन् १९७४ मा पश्चिम जर्मनीमा भएको विश्वकपमा मात्र सहभागी भएको हैटी भने अझै विश्वकपमा पहिलो अंकको खोजीमा छ ।

खेलको १७औँ मिनेटमा स्कटल्यान्डका कप्तान स्कट म्याकटोमिनेले गरेको प्रहार पोस्टको माथिल्लो भागमा लाग्दै बाहिरिएपछि टोली गोल गर्नबाट वञ्चित भएको थियो ।

दोस्रो हाफमा हैटीले बराबरी गोलका केही अवसर सिर्जना गरेको थियो। ७४औँ मिनेटमा रुबेन प्रोभिडेन्सले दिएको पासलाई विल्सन इसिडोरले सदुपयोग गर्न सकेनन्। ८४औँ मिनेटमा फ्रान्ट्ज्डी पिएरोटको हेडर पनि गोलपोस्टको देब्रेपट्टि बाहिरिएको थियो ।

अब स्कटल्यान्डले जुन २० मा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ भने जुन २५ मा ब्राजिलको सामना गर्ने छ । त्यस्तै हैटीले जुन २० मा ब्राजिलको र जुन २५ मा मोरक्कोको सामना गर्ने छ ।

Read More

अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा भारतको विजयी शुरुवात

काठमाडौँ । भारतले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो । बर्षाले प्रभावित यो खेल २५-२५ ओभर खेलाइएको थियो । अफगानिस्तानले दिएको १९५ रनको लक्ष्य पछाएको भारतले २२.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि कप्तान शुभमन गिलले अविजित ८४ रन बनाएका थिए भने केएल राहुलले अविजित ३९ रन बनाएका थिए । त्यस्तै इशान किशनले ३४, रोहित शर्माले १६ र श्रेयस अय्यरले १२ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले रह्मनुल्लाह गुरबाजको ५१ बलमा १०२ रनको शतकीय पारीको मद्धतले २४.५ ओभरमा अल आउट हुदै १९४ रन बनाएको थियो ।

यो जित पछि ३ खेलको सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल बुधबार लखनउमा हुने तालिका छ ।

Read More

इन्जुरी समयमा कतारको गोल, स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ । यससँगै कतारले विश्वकपको अन्तिम चरणमा पहिलो पटक अंक हासिल गरेको छ ।

खेलभर दबाबमा रहेको कतारका लागि बुलेम खौखीले ९४औँ मिनेटमा होमाम एल अमिनको क्रसलाई हेडमार्फत जाली चुमाउँदै बराबरी गोल गरेका थिए । अन्तिम समयमा आएको उक्त गोलपछि प्रशिक्षक जुलेन लोपेटेगीको टोलीले उत्साहपूर्ण खुसी मनाएको थियो ।

खेलको अधिकांश समय स्विट्जरल्यान्डले नियन्त्रणमा राखेको थियो । पहिलो हाफमा प्राप्त पेनाल्टी अवसरलाई ब्रिल एम्बोलोले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

कतारका गोलरक्षक महमुद अबुनादाले रेमो फ्रुलरलाई लडाएपछि स्विट्जरल्यान्डले खेलको १७औं मिनेटमा पेनाल्टी पाएको थियो। यद्यपि टेलिभिजन पुनर्प्रसारणमा फ्रुलर आक्रमणको सुरुआती क्रममा सामान्य अफसाइड अवस्थामा देखिएको थियो ।

एम्बोलोको गोलपछि स्विट्जरल्यान्ड सहज जिततर्फ अघि बढिरहेको देखिएको थियो । तर अवसरहरूको सदुपयोग गर्न नसक्दा स्विट्जरल्यान्डले महत्त्वपूर्ण दुई अंक गुमायो । नटिङ्घम फरेस्टका आक्रमणकर्ता डान न्दोयेले केही उत्कृष्ट अवसर खेर फाले भने रुबेन भार्गास र एम्बोलोले पनि सहज गोलका मौका गुमाए । लामो समयसम्म खेलमा कमजोर देखिएको कतारले अन्तिम क्षणमा अवसरको फाइदा उठाउँदै अप्रत्याशित रूपमा एक अंक हात पार्न सफल भयो ।

अब कतारले अर्को खेल जुन १९ मा क्यानडासँग र जुन २५ मा बोस्निया हर्जगोभिनासँग खेल्ने छ । त्यस्तै स्विजरल्याण्डले जुन १९ मा बोस्निया हर्जगोभिनासँग र जुन २५ मा क्यानडासँग खेल्ने तालिका छन् ।

Read More

मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौँ । ब्राजिल र मोरक्को जारी फिफा विश्वकप फुटबलमा बराबरी खेलेका छन् । समुह सी अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा ब्राजिल र मरक्को १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

खेलमा मोरक्कोका लागि इस्माइल सैबारीले गोल गरेका थिए भने ब्राजिलका लागि भिनिसियस जुनियरले बराबरी गोल फर्काएका थिए ।

खेलको २१औं मिनेटमा सैबारीले गोल गर्दै मोरक्कोलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३२औं मिनेटमा भिनिसियसले गोल गर्दै बराबरी गरेका थिए । यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् ।

अब विश्वकप अन्तर्गत ब्राजिलले जुन २० मा हैटीविरुद्ध खेल्ने छ भने जुन २५ मा स्कटल्याण्डविरुद्ध खेल्ने छ । त्यस्तै मोरक्कोले जुन २० मा स्कटल्याण्डसँग र जुन २५ मा हैटीसँग खेल्ने तालिका छ ।

Read More