काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत चार पटकको विश्वविजेता जर्मनीले प्रतियोगितामा शानदार सुरुआत गरेको छ। समूह ‘ई’ अन्तर्गत अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै पहिलो खेलमै प्रभावशाली जित दर्ता गराएको हो।
जर्मनीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल गर्दै विपक्षीमाथि पूर्ण दबाब कायम राख्यो। टोलीका लागि काई हाभाट्र्जले दुई गोल गर्दा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे।
खेलको छैटौँ मिनेटमै एनमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर २१औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ३८औँ मिनेटमा स्लोटरबेकले गोल गर्दै जर्मनीलाई पुनः अग्रता दिलाए।
पहिलो हाफको अतिरिक्त समयमा हाभाट्र्जले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीको अग्रता ३–१ मा पुर्याए। दोस्रो हाफमा मुसिएलाले ४७औँ मिनेटमा, ब्राउनले ६८औँ मिनेटमा तथा उन्डाभले ७८औँ मिनेटमा गोल थपे। हाभाट्र्जले ८८औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौँ गोल गर्दै जर्मनीको शानदार जित सुनिश्चित गरे।
यस जितसँगै जर्मनीले समूह चरणमा महत्वपूर्ण तीन अंक जोड्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।




