२०८३ असार १

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली तथा पहाडी क्षेत्रसहित मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहेको छ भने अन्य तराई क्षेत्रमा मौसम सामान्यतया सफा छ।

विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। कोशी तराई र मधेस प्रदेशका केही क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकीका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यता, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन तथा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।