२०८३ कार्तिक ८

विश्वकप फुटबल : दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो चेक रिपब्लिक

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको एटलान्टा स्टेडियममा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा चेक रिपब्लिकले प्रारम्भिक अग्रता जोगाउन नसक्दा दक्षिण अफ्रिकासँग बराबरीमा चित्त बुझाउनुपरेको हो।

खेलको छैटौँ मिनेटमै मिचल सादिलेकले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। पहिलो हाफदेखि नै अग्रता कायम राखेको चेक टोली जितनजिक पुगेको अवस्थामा अन्तिम समयमा पेनाल्टी गोल बेहोर्न पुगेको थियो।

खेलको ८३औँ मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका एक खेलाडीले हातले बल छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै तेबोहो मोकोनाले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो।

त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल निस्कन नसक्दा खेल बराबरीमा समाप्त भयो। बराबरीसँगै दुवै टोलीले समूह चरणमा एक–एक अंक जोड्न सफल भएका छन्।

समूह ‘ए’ अन्तर्गत आजै हुने अर्को खेलमा मेक्सिको र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुने तालिका रहेको छ।

Read More

पोर्चुगल र कंगोले अंक बाँडे

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एल’ अन्तर्गत पोर्चुगल र कंगोबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ।

अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा पोर्चुगलले छैटौँ मिनेटमै जुआँ नेभेसको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा खेलमा दबाब बनाएको पोर्चुगलले अग्रता जोगाउन नसक्दा अतिरिक्त समयको अन्तिम क्षणमा कंगोका योआने विस्साले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि स्कोर परिवर्तन हुन नसक्दा खेल बराबरीमा टुंगियो।

प्रतियोगिताअन्तर्गत आज नेपाली समयअनुसार राति १ः४५ बजे इंग्ल्याण्ड र क्रोएसिया, बिहान ४ः४५ बजे घाना र पानामा तथा ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ।

Read More

ह्यारी केनको दुई गोलमा क्रोएसियामाथि इंग्ल्याण्डको प्रभावशाली जित

काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगितामा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। अमेरिकाको डालासस्थित रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा ह्यारी केनले दुई गोल गर्दै इंग्ल्याण्डको जितमा प्रमुख भूमिका निर्वाह गरे।

इंग्ल्याण्डले खेलको १२औँ मिनेटमै पेनाल्टीमार्फत अग्रता लिएको थियो। कप्तान ह्यारी केनले अवसरलाई सदुपयोग गर्दै टोलीलाई सुरुआती बढत दिलाए। तर ३६औँ मिनेटमा मार्टिन बुटुरिनाले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए।

पहिलो हाफ सकिनुअघि केनले ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए। यद्यपि, अतिरिक्त समयमा पिटर मुसाले गोल गरेपछि क्रोएसियाले खेल २–२ को बराबरीमा पुर्‍याएको थियो।

दोस्रो हाफको सुरुमै जुड बेलिङ्हमले ४७औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई फेरि अघि बढाए। त्यसपछि ८५औँ मिनेटमा मार्कस र्यासफोर्डले अर्को गोल थपेपछि इंग्ल्याण्डले जित सुनिश्चित गर्‍यो।

निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ४–२ को नतिजासहित इंग्ल्याण्डको पक्षमा टुंगियो।

प्रतियोगिताअन्तर्गत हाल घाना र पानामाबीच प्रतिस्पर्धा भइरहेको छ। यस्तै, आज बिहान ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीचको खेल हुने तालिका रहेको छ।

Read More

विश्वकप–२०२६: अष्ट्रियाको विजयी सुरुआत, जोर्डनलाई ३–१ ले पराजित

काठमाडौं  । विश्वकप–२०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अष्ट्रियाले डेब्यु टोली जोर्डनलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा अष्ट्रियाले खेलको अधिकांश समय दबाब कायम राख्दै महत्वपूर्ण जित हासिल गरेको हो।

खेलको २१ औँ मिनेटमा रोमानो सिमिडले जाभर सिलागरको पासलाई गोलमा परिणत गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए। पहिलो हाफसम्म अष्ट्रिया अग्रतामा रहेको खेल दोस्रो हाफमा थप रोमाञ्चक बनेको थियो।

५० औँ मिनेटमा जोर्डनका अलि ओल्वानले नुर अल रावादेहको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।

तर, ७६ औँ मिनेटमा जोर्डनका याजन अल अरबको आत्मघाती गोलपछि अष्ट्रियाले पुनः अग्रता बनायो।

निर्णायक क्षणमा इन्जुरी समयको अन्तिम मिनेटमा प्राप्त पेनाल्टीलाई मार्को आर्नाटिभचले गोलमा परिणत गर्दै अष्ट्रियाको ३–१ को जित सुनिश्चित गरे।

जितसँगै अष्ट्रियाले समूह ‘जे’ मा तीन अंक जोड्दै दोस्रो स्थानमा स्थान बनाएको छ। समान तीन अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा छ भने जोर्डन तेस्रो र अल्जेरिया अन्तिम स्थानमा रहेका छन्।

Read More

मेस्सीको ऐतिहासिक ह्याट्रिकसँगै अर्जेन्टिनाको विजयी सुरुवात

काठमाडौं । कप्तान लियोनल मेस्सीको शानदार प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अभियानको सुरुवात प्रभावशाली जितसहित गरेको छ। अमेरिकाको कान्सास सिटीमा बुधबार बिहान सम्पन्न समूह ‘जे’ अन्तर्गतको खेलमा अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को सहज जित दर्ता गरेको हो।

जितसँगै अर्जेन्टिनाले महत्वपूर्ण तीन अंक बटुल्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ। टोलीको जितमा मेस्सी एक्लैले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे।

खेलको १७औं मिनेटमा पहिलो गोल गरेका मेस्सी भावुक देखिएका थिए। गोलपछि उनको अनुहारमा भावनात्मक क्षण झल्किएको थियो। त्यसपछि उनले ६०औं र ७६औं मिनेटमा थप दुई गोल गर्दै विश्वकप करिअरको पहिलो ह्याट्रिक पूरा गरे।

यो उपलब्धिसँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा नयाँ कीर्तिमान बराबरी गरेका छन्। विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्‍याउँदै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेका हुन्।

अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै मेस्सीले विश्वकपमा छैटौं संस्करण खेल्ने पहिलो फुटबलर बन्ने गौरवसमेत हासिल गरे। सन् २००६ मा विश्वकप यात्रा सुरु गरेका उनले सन् २०१० बाहेकका पाँच फरक संस्करणमा गोल गर्न सफल भएका छन्।

चार वर्षअघि कतारमा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेस्सीले २०२६ संस्करणको सुरुवात पनि सम्झनलायक प्रदर्शनमार्फत गरेका छन्। उनकाे उत्कृष्ट खेलसँगै अर्जेन्टिना उपाधि रक्षा अभियानमा बलियो दाबेदारका रूपमा देखिएको छ।

Read More

फ्रान्सको प्रभावशाली जित, एम्बाप्पेको दुई गोल

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा चार गोल भएका थिए।

फ्रान्सका लागि खेलको ६६औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल थप्दै फ्रान्सको अग्रता २–० बनाए।

दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका इब्राहिम एम्बायेले सान्त्वना गोल गर्दै अन्तर घटाए पनि त्यसको लगत्तै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

Read More

उरुग्वे र साउदी अरब बराबरीमा, समूह ‘एच’ का सबै टोलीको समान एक अङ्क

काठमाडौं। फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ मा उरुग्वे र साउदी अरबले बराबरी खेल्दै अंक बाँडेका छन्।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन्। खेलको पहिलो हाफमा साउदी अरबले अग्रता बनाए पनि उरुग्वेले दोस्रो हाफमा गोल फर्काउँदै खेल बराबरीमा टुंग्यायो।

साउदी अरबका लागि ४१औँ मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा प्राप्त उक्त अग्रता जोगाउने प्रयासमा रहेको साउदीविरुद्ध उरुग्वेले खेलको ८०औँ मिनेटमा बराबरी गोल फर्कायो। उरुग्वेका म्याक्सी अराजोले उत्कृष्ट फिनिसिङमार्फत टोलीलाई खेलमा फर्काएका थिए।

बाँकी समयमा दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा समाप्त भयो।

यस नतिजासँगै समूह ‘एच’ को अंक तालिका रोचक बनेको छ। पहिलो चरणका खेल सम्पन्न हुँदा समूहका चारै टोलीले समान एक–एक अङ्क जोड्न सफल भएका छन्। यसअघि सोही समूहअन्तर्गत भएको अर्को खेलमा स्पेन र केप भर्डेले पनि १–१ को बराबरी खेलेका थिए।

Read More

जापानी समर्थकहरूको अनुकरणीय सरसफाइ संस्कार फेरि चर्चामा

काठमाडौँ । विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको अनुशासित व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ।

टेक्सासमा नेदरल्यान्ड्ससँग २–२ को बराबरीपछि जापानी समर्थकहरूले स्टेडियममा बसेर आफ्ना सिट वरिपरिको फोहोर सङ्कलन गरी सफा बनाएपछि उनीहरूको सरसफाइ संस्कार फेरि चर्चामा आएको हो।

समर्थकहरूका अनुसार सार्वजनिक स्थान सफा राख्ने बानी जापानमा बाल्यकालदेखि नै सिकाइन्छ। विद्यालयमा विद्यार्थीहरूले कक्षाकोठा र विद्यालय परिसर आफैँ सफा गर्ने अभ्यास गर्छन् भने सार्वजनिक स्थानमा आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्ने संस्कार पनि बलियो छ।

विशेषज्ञहरूका अनुसार यस्तो व्यवहार सामाजिक जिम्मेवारी, सामूहिक अनुशासन र अरूप्रति सम्मानको भावनाबाट प्रेरित हुन्छ। एक व्यक्तिले सुरु गरेको सकारात्मक काममा अरूहरू पनि सहजै सहभागी हुने संस्कार जापानी समाजको विशेषता मानिन्छ।

जापानी समर्थकहरूका लागि खेलपछि सरसफाइ गर्नु कुनै विशेष अभियान नभई दैनिक जीवनको स्वाभाविक अभ्यास हो, जसले विश्वभर सकारात्मक सन्देश फैलाइरहेको छ।

Read More

स्विडेनको ५–१ को सानदार जित, ट्युनिसियामाथि फराकिलो प्रदर्शन

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन ले ट्युनिसिया लाई ५–१ गोलले पराजित गर्दै सानदार जित दर्ता गरेको छ। मेक्सिकोस्थित मोन्टेरी स्टेडियममा भएको खेलमा स्विडेनले पहिलो हाफमा २–१ को अग्रता लिँदै दोस्रो हाफमा थप तीन गोल गरेको हो।

स्विडेनका यासिन अयारीले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको सुरुवातमा नै टोलीलाई अग्रता दिलाए भने अतिरिक्त समयको अन्तिम मिनेटमा अर्को गोल थपे।

अलेक्जेन्डर इसाकले ३०औं मिनेटमा दोस्रो गोल गरे भने भिक्टर ग्योकेरेसले ५९औं मिनेटमा तेस्रो गोल गरे। माटियास स्वानबर्गले मैदान प्रवेश गरेको केही सेकेन्डमै चौथो गोल थपे। पछि उक्त गोललाई भिडियो सहायक रेफ्री (भिएआर) ले ८६औं मिनेटमा आधिकारिक रूपमा मान्यता दिएको थियो।

ट्युनिसियाका लागि ओमर रेकिकले ४३औं मिनेटमा एक मात्र गोल फर्काए।

यसअघि समूह ‘एफ’ कै खेलमा जापान र नेदरल्यान्ड्स ले २–२ को बराबरी खेलेका थिए। सो नतिजापछि स्विडेन समूहको शीर्ष स्थानमा पुगेको छ।

Read More

इक्वेडरलाई १–० ले हराउँदै आइभरी कोस्टको रोमाञ्चक जित

काठमाडौँ । २०२६ फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को दोस्रो खेलमा आइभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गरेको छ। फिलाडेल्फियामा सम्पन्न यो खेल निकै प्रतिस्पर्धात्मक रह्यो, जहाँ अन्तिम समयसम्म पनि दुवै टोलीले गोल गर्ने अवसर पाए तर सफल हुन सकेनन्।

खेलको ११ औँ मिनेटमै इक्वेडरले अग्रता लिने राम्रो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। १४ औँ मिनेटमा स्ट्राइकरले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो। त्यसपछि १७ औँ मिनेटमा आइभरी कोस्टको प्रयास पनि गोलमा परिणत हुन सकेन।

३० औँ मिनेटमा इक्वेडरले अर्को सुनौलो अवसर गुमायो, जहाँ प्रहार बारमा लागेर रिबाउन्ड भएको थियो। पहिलो हाफभरि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले गोल गर्न सकेनन्।

दोस्रो हाफमा आइभरी कोस्टले खेलमा बढी दबाब बनाउँदै आक्रामक प्रदर्शन गर्‍यो। निरन्तर आक्रमण गरेको आइभरी कोस्टले अन्ततः नियमित ९० मिनेटको खेलको अन्तिम मिनेटमा निर्णायक गोल गर्‍यो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमाद डियालोले उत्कृष्ट फिनिस गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए।

यसअघि समूह ‘ई’ को पहिलो खेलमा जर्मनीले कुराकाओलाई ७–१ ले पराजित गरेको थियो। त्यस्तै आजै भएको पहिलो खेलमा जापान र नेदरल्यान्ड्सबीचको खेल २–२ को बराबरीमा सकिएको थियो।

Read More