२०८३ कार्तिक ८

विश्वकपमा अमेरिकाको विजयी शुरुवात

काठमाडौँ । फिफा विश्वकपको सह-आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ ।

घरेलु मैदानमा अमेरिकाले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । अमेरिकाको जितमा फ्लोरान बालोगनले २ गोल गरे भने गिओभानी रेयनाले एक गोल गरेका थिए । त्यस्तै एक गोल पराग्वेका डामियान बोडाडिल्लाले आत्मघाती गोल गरेका थिए । त्यस्तै पराग्वेका लागि एक गोल माउरिसियोले गरेका थिए ।

समुह डी मा यो जितसहित अमेरिकाले विश्वकपको उत्कृष्ट शुरुवात गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । अब अमेरिकाले अर्को खेल जुन २० मा अस्ट्रेलिया र जुन २६ मा टर्कीसँग खेल्ने तालिका छन् ।

त्यस्तै पराग्वेले जुन २० मा टर्कीसँग र जुन २६ मा अस्ट्रेलियासँग खेल्ने छ ।

Read More

महिला टी- २० विश्वकपमा इङल्याण्डको विजयी शुरुवात

काठमाडौँ । आइसीसी महिला टी- २० विश्वकप २०२६ मा आयोजक इङल्याण्डले विजयी शुरुवात गरेको छ । गएराती बर्मिङ्घममा सम्पन्न उद्घाटन खेलमा इङल्याण्डले श्रीलंकालाई ८७ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

इङल्याण्डले दिएको २२० रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा अलआउट हुदै १३२ रन मात्र बनाएको थियो । 

इङल्याण्डले टस हारेर पहिले ब्याटिङ गरेको यस खेलमा एमी जोन्स र ड्यानी व्याट–हजको शतकीय साझेदारीको मद्दतले २० ओभरमा १ विकेट गुमाएर २१९ रन बनाएको थियो । यो महिला ट-२० विश्वकप इतिहासमै कुनै पनि टोलीले बनाएको सबैभन्दा ठूलो स्कोर हो । यसअघि पनि इङ्ग्ल्यान्डले नै सन् २०२३ मा पाकिस्तानविरुद्ध २१३/५ रन बनाएको कीर्तिमान कायम गरेको थियो।

२२० रनको विशाल लक्ष्य पछ्याउन मैदान उत्रिएको श्रीलङ्का महिला टोली सुरुदेखि नै इङ्ग्लिस बलिङ आक्रमणको दबाबमा रहेको थियो । 

विश्वकप अन्तर्गत आज तीन खेल हुनेछन् ।  जस अनुसार आयरल्याण्ड र स्कटल्याण्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा न्यूजील्याण्ड र वेस्ट इण्डिज खेल्दैछन् । 

Read More

विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

काठमाडौँ । सह–आयोजक क्यानडाले सन् २०२६ को विश्वकप फुटबल अभियान बराबरीबाट सुरु गरेको छ । समूह चरणअन्तर्गत शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा क्यानडाले बोस्निया–हर्जेगोभिनासँग १–१ को बराबरी खेलेको हो ।

खेलको २१औँ मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्निया–हर्जेगोभिनालाई अग्रता दिलाएका थिए । इभान बासिचको कर्नर प्रहारमा सियाद कोलासिनाचले हेडमार्फत बल अघि बढाएपछि लुकिचले हेडरमार्फत जाली चुमाएका हुन् । यो उनको राष्ट्रिय टोलीका लागि पहिलो गोल पनि बन्यो ।

पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा लगातार दबाब बनायो । रिची लारियाको प्रहार गोलतर्फ जाँदै गर्दा कोलासिनाचले उत्कृष्ट बचाउ गर्दै बललाई क्रसबारमा ठोक्काएर बाहिर पठाएका थिए । त्यसपछि तानी ओलुवासेयीको हेडर पनि निकोला काटिचले गोलरेखाबाट फर्काएका थिए ।

घरेलु समर्थकमाझ खेलिरहेको क्यानडाले अन्ततः ७८औँ मिनेटमा बराबरी गोल फेला पार्यो । मैदान प्रवेश गरेको दुई मिनेटभन्दा केही बढी समयमै वैकल्पिक खेलाडी काइल लारिनले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोल गरेका हुन् । उनले तारिक मुहारेमोभिचलाई छलाउँदै गरेको प्रहार निकोला भासिल्जलाई पार गर्दै जालीमा पुगेको थियो । बल विपक्षी खेलाडीमा हल्का ठोक्किँदा गोलरक्षक झुक्किएका थिए ।

खेलभरि दुवै टोलीले आक्रमणात्मक प्रदर्शन गरेकाले खेल निकै रोमाञ्चक बनेको थियो । अन्ततः दुवै टोलीले एक–एक अंक बाँडेका छन्  ।

यो नतिजासँगै क्यानडाले विश्वकपको अन्तिम चरणमा पहिलो पटक हार टार्न सफल भएको छ । यसअघि सन् १९८६ मा खेलेका तीनै खेल तथा सन् २०२२ मा खेलेका सबै खेलमा क्यानडा पराजित भएको थियो ।

Read More

विश्वकपमा आज बिहान अमेरिका र पराग्वे भिड्दै

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समूह ‘डी’ को पहिलो खेलमा आज बिहान आयोजक अमेरिका र पाराग्वे बिहान आमनेसामने हुँदैछन् । क्यालिफोर्नियास्थित सोफी मैदानमा हुने खेल नेपाली समय अनुसार आज बिहान ६: ४५ बजेदेखि शुरु हुदै छ ।

विश्व वरीयतामा १७औँ स्थानमा रहेको अमेरिकाले १६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेको सामना गर्न लागेको हो । यद्यपि पाराग्वेले आफ्नो प्रमुख आक्रमणकारी जुलियो एन्सिसोलाई चोटका कारण गुमाएको छ ।

प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको अमेरिकाको तयारी मिश्रित रहेको छ । टोलीले पछिल्ला पाँच खेलमध्ये दुई खेल मात्र जित्न सफल भएको छ। यद्यपि सेनेगलमाथिको ३–२ को जितले टोलीमा केही आत्मविश्वास थपेको छ ।

पाराग्वे भने प्रशिक्षक गुस्ताभो अल्फारोको नेतृत्वमा बलियो रक्षात्मक शैलीमा खेल्ने टोलीका रूपमा चिनिएको छ । दक्षिण अमेरिकी छनोट चरणमा उसले १८ खेलमा मात्र १४ गोल गरे पनि १० गोल मात्र खाएको थियो ।

अमेरिकाको आक्रमणको मुख्य जिम्मेवारी क्रिस्टियन पुलिसिक र फोलारिन बालोगुनमाथि रहनेछ । पाराग्वेका लागि एन्टोनियो सानाब्रिया र मिगुएल अल्मिरोन प्रमुख खेलाडी रहनेछन् ।

अमेरिका र पाराग्वेबीच हालसम्म नौ पटक भेट भएको छ । तीमध्ये अमेरिकाले पाँच खेल जितेको छ भने पाराग्वे दुई खेलमा विजयी भएको छ। दुई खेल बराबरीमा सकिएका छन् ।

विश्वकप इतिहासमा पाराग्वेले आयोजक राष्ट्रलाई कहिल्यै पराजित गर्न सकेको छैन । त्यसैले घरेलु समर्थकमाझ खेल्ने अमेरिकालाई यस खेलमा बलियो दाबेदार मानिएको छ ।

Read More

आइसीसी महिला टी-२० विश्वकप आजदेखि, १२ देश सहभागी हुदै

काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकप आजदेखि हुँदैछ। प्रतियोगिताको पहिलो खेल बर्मिङ्घममा इंग्ल्यान्ड र श्रीलंकाबीच हुदैछ । यो खेल नेपाली समयअनुसार राति ११:३० बजेदेखि सुरु हुनेछ।

खेल सुरु हुनुअघि उद्घाटन समारोह (ओपनिङ सेरेमनी) आयोजना गरिनेछ, जहाँ ब्रिटिस अभिनेत्री एमा किंग्सटन र अभिनेत्री तथा गायिका जिजी स्ट्रलेनले आफ्नो प्रस्तुति दिनेछन् । 

यस पटकको महिला टी-२० विश्वकपमा १२ टोलीले सहभागिता जनाउँदैछन् । हालको लय (फर्म), विश्वकपको इतिहास, टोलीको सन्तुलन र कप्तानीलाई आधार मान्दा अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड र दक्षिण अफ्रिका उपाधिका सबैभन्दा बलियो दाबेदार देखिएका छन्।

महिला क्रिकेट इतिहासमा अस्ट्रेलिया सबैभन्दा सफल देश हो । अस्ट्रेलियाले हालसम्म भएका ९ वटा संस्करणमध्ये ६ पटक टी-२० विश्वकपको उपाधि जितेको छ । यस पटक टोली एलिसा हिलीपछि सोफी मोलिन्युक्सको कप्तानीमा मैदान उत्रिनेछ । टोलीमा एलिस पेरी, बेथ मुनी, एश गार्डनर, ताहलिया म्याकग्रा र मेगन शुट जस्ता स्टार खेलाडीहरूको उपस्थिति रहनुले अस्ट्रेलियालाई निकै बलियो बनाएको छ ।

विगत डेढ वर्षमा अस्ट्रेलियाले १२ वटा टी-२० खेलमध्ये १० वटामा जित दर्ता गरेको छ। तर, हालैका आईसीसी प्रतियोगिताहरूमा भने टोलीले आफ्नो क्षमता अनुरूप प्रदर्शन गर्न सकेको छैन । सन् २०२५ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा अस्ट्रेलिया भारतसँग पराजित भएको थियो भने २०२४ को टी-२० विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

यस विश्वकपमा अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इण्डिज, पाकिस्तान, श्रीलंका, बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्डस र स्कटल्याण्ड खेल्दैछन् ।

जसमा अस्ट्रेलिया, भारत, बंगलादेश, नेदरल्याण्डस, पाकिस्तान र दक्षिण अफ्रिका समुह ए मा रहेका छन् भने इङल्याण्ड, आयरल्याण्ड, न्यूजील्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इन्डिज समुह बी मा रहेका छन् । समुह चरणका खेलपछि शिर्ष २ स्थानमा रहेका देश सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगिताको सेमिफाइनल खेल जुन ३० र जुलाई २ मा तथा फाइनल खेल जुलाई ५ मा हुने तालिका रहेको छ ।

Read More

विश्वकपमा खेल्दै यी अर्बपति फुटबलर

काठमाडौँ । फिफा विश्वकपमा पहिलो पटक अर्बपति फुटबल खेलाडीहरू मैदानमा देखिने भएका छन् ।

अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले प्रतियोगितामा सहभागी हुने सबैभन्दा धेरै कमाइ गर्ने खेलाडीहरूको सूची सार्वजनिक गरेको छ, जसमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पहिलो स्थानमा रहेका छन् भने अर्जेन्टिनाका कप्तान लियोनेल मेसी दोस्रो स्थानमा छन् । फोर्ब्सका अनुसार रोनाल्डो र मेसी दुवैको कुल सम्पत्ति एक अर्ब अमेरिकी डलरभन्दा बढी छ । विश्वकप सुरु हुनुअघि पछिल्लो १२ महिनामा सबैभन्दा धेरै कमाइ गर्ने ११ खेलाडीले संयुक्त रूपमा करिब ९५ करोड अमेरिकी डलर आम्दानी गरेका छन् ।

यसपटकको विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको छ । प्रतियोगितामा पहिलो पटक ४८ टोली सहभागी भएका छन् र कुल १०४ खेल खेलिनेछन् ।

४१ वर्षीय रोनाल्डो पछिल्लो एक वर्षमा करिब ३० करोड अमेरिकी डलर आम्दानी गर्दै सूचीको शीर्ष स्थानमा छन् । उनको आम्दानीको ठूलो हिस्सा तलब, बोनस र मैदानभित्रको प्रदर्शनबाट आएको हो भने बाँकी रकम विज्ञापन, प्रायोजन तथा विभिन्न व्यावसायिक गतिविधिबाट प्राप्त भएको हो । साउदी अरबको अल–नासरबाट खेलिरहेका रोनाल्डो एक अर्ब डलरभन्दा बढी सम्पत्ति भएका सक्रिय खेलाडीहरूमध्ये एक हुन् । उनी आफ्नो करियरको छैटौँ विश्वकप खेलिरहेका छन् ।

सन् २०२२ को विश्वकप जिताएका मेसी सूचीको दोस्रो स्थानमा छन् । उनले पछिल्लो १२ महिनामा करिब १४ करोड अमेरिकी डलर आम्दानी गरेका छन् । उनको आम्दानीको आधा हिस्सा फुटबलबाट र बाँकी आधा विज्ञापन तथा व्यापारिक गतिविधिबाट आएको बताइएको छ । अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेसीको कुल सम्पत्ति करिब १.१ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ । उनी पनि आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन् ।

विश्वकपमा थप चार गोल गर्न सके मेसी जर्मनीकामिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान पार गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न सक्ने सम्भावना छ ।

फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सूचीको तेस्रो स्थानमा छन् । रियल म्याड्रिडका यी खेलाडीले पछिल्लो वर्ष करिब ९ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरेका छन् । त्यस्तै नर्वेका स्ट्राइकर इर्लिंग हलाण्ड ८ करोड अमेरिकी डलर आम्दानीसहित चौथो स्थानमा छन् । त्यस्तै ब्राजिलका भिनिसियस जुनियर करिब ६ करोड अमेरिकी डलर आम्दानीसहित पाँचौँ स्थानमा रहेका छन् ।

स्पेनका १८ वर्षीय युवा खेलाडी लामिन यमल यस सूचीको सबैभन्दा ठूलो आकर्षण बनेका छन् । उनले पछिल्लो एक वर्षमा करिब ४ करोड ३० लाख अमेरिकी डलर आम्दानी गर्दै नवौँ स्थान हासिल गरेका छन् । कम उमेरमै उनको बढ्दो लोकप्रियता र व्यावसायिक मूल्यले फुटबल बजारमा उनको प्रभाव झल्काएको छ ।

त्यस्तै इजिप्टका मोहमद सलाह छैटौँ, सेनेगलका साडियो माने सातौँ, इङल्याण्डका जुड बेलिङघम आठौँ, ह्यारी केन दशौँ तथा ब्राजिलका नेइमार ११औँ स्थानमा रहेका छन् ।

फोर्ब्सले खेलाडीहरूको वार्षिक तलब, बोनस, छवि अधिकार, विज्ञापन तथा प्रायोजनबाट प्राप्त आम्दानीका आधारमा यो सूची तयार गरेको जनाएको छ । व्यक्तिगत लगानीबाट आएको प्रतिफल, कर, स्थानान्तरण शुल्क तथा एजेन्टलाई दिइने कमिसन भने गणनामा समावेश गरिएको छैन ।

Read More

विश्वकपमा आजराती क्यानडा र बोस्निया एण्ड हर्जगोभिना खेल्दै

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समूह बी अन्तर्गत आज राति क्यानडाले बोस्निया एण्ड हर्जगोभिनासँग खेल्दैछ । टोरन्टोको टोरोन्टो स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती १२: ४५ बजेदेखि शुरु हुदैछ ।

करिब बाह्र वर्षको अनुपस्थितिपछि दोस्रो पटक मात्र स्वतन्त्र राष्ट्रका रूपमा विश्वकपमा फर्किएको बोस्निया एण्ड हर्जगोभिना समूह बीमा स्विट्जरल्यान्ड र कतार जस्ता बलिया टोली रहेकाले सुरुवाती अंक जोड्नु उनीहरूका लागि अत्यन्तै महत्वपूर्ण छ ।

बोस्निया एण्ड हर्जगोभिना भने स्पष्ट रणनीति र अनुशासित खेल शैलीका साथ मैदानमा उत्रने टोली हो । प्रशिक्षक सेरगेई बार्बारेजको टोलीले वेल्स र इटालीविरुद्ध पेनाल्टीमा जित निकाल्दै यहाँसम्मको यात्रा तय गरेको हो । कठिन खेलमा धैर्य राखेर परिणाम निकाल्ने उनीहरूको क्षमता क्यानडाका लागि ठूलो चुनौती बन्न सक्छ । उनीहरू खुला आक्रामक फुटबल खेल्नेभन्दा पनि रक्षात्मक संरचनामा बस्दै प्रतिआक्रमणमा खेल्ने सम्भावना बढी छ ।

मुख्य प्रतिस्पर्धा क्यानडाले संगठित रक्षापंक्तिविरुद्ध कति प्रभावकारी मौका सिर्जना गर्न सक्छ भन्नेमा केन्द्रित रहने देखिन्छ । पछिल्ला मैत्री खेलमा क्यानडाले धेरै पटक गोलविहीन बराबरी खेलेको छ, जसले आक्रामक प्रभावकारितामा प्रश्न उठाएको छ । जोनाथन डेभिड र ताजोन बुकानन जस्ता खेलाडीले आक्रमणमा धार दिन सक्छन् तर जितका लागि थप सृजनशीलता आवश्यक हुनेछ । क्यानडाका पछिल्ला पाँच मैत्री खेल मिश्रित नतिजाका रहेका छन् । भेनेजुएलाविरुद्धको जित र आइसल्यान्डसँगको बराबरीले आक्रमणमा सम्भावना देखाए पनि इक्वेडर र कोलम्बियाविरुद्ध गोलविहीन बराबरीले संगठित प्रतिरक्षाविरुद्ध समस्या देखाएको छ । प्रशिक्षक मार्सको उच्च प्रेसिङ प्रणाली अझै पूर्ण रूपमा स्थिर भइसकेको छैन ।

बोस्नियाको भने प्रतिस्पर्धात्मक खेलमा प्रदर्शन बलियो देखिएको छ । युरोपेली छनोट चरणमा इटाली र अस्ट्रियासँग बराबरी तथा रोमानियाविरुद्ध ३–१ को जितले उनीहरूको स्थिरता देखाउँछ । वेल्स र इटालीविरुद्ध पेनाल्टी जितले दबाबमा पनि खेल सम्हाल्न सक्ने क्षमता प्रमाणित गरेको छ । लगातार चार प्रतिस्पर्धात्मक खेलमा अपराजित रहनु उनीहरूको बलियो पक्ष हो ।

क्यानडा र बोस्निया एण्ड हर्जगोभिना पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा आमनेसामने हुँदैछन् । यसअघि कुनै पनि स्तरमा भेट नभएकाले आपसी इतिहास छैन । त्यसैले रणनीति, वर्तमान फारम र व्यक्तिगत क्षमता नै निर्णायक आधार हुनेछन् ।

क्यानडाका लागि ठूलो चिन्ता अल्फोन्सो डेभिसको चोट हो । ह्यामस्ट्रिङ समस्याका कारण उनी यो खेल गुमाउने सम्भावना उच्च छ । उनको गति र बायाँतर्फको आक्रमण निर्माण क्षमताको कमी क्यानडाका लागि ठूलो घाटा हुनेछ । जोनाथन डेभिड पूर्ण रूपमा फिट छन् र अग्रपंक्तिको नेतृत्व गर्नेछन् । स्टीफन युस्टाकियो, ताजोन बुकानन र इस्माइल कोने उपलब्ध रहने अपेक्षा छ ।

बोस्नियातर्फ भने प्रमुख खेलाडी एडिन जेको अझै अग्रपंक्तिको केन्द्रमा रहनेछन् । एर्मेडिन डेमिरोभिच र सेआद कोलासिनाच पनि महत्वपूर्ण भूमिकामा हुनेछन् । अमार डेडिच दायाँ पक्षबाट आक्रमणमा ठूलो योगदान दिने खेलाडी मानिन्छन् ।

सम्भावित टिम: 

क्यानडा: म्याक्सिम क्रेपो, अलिस्टेयर जोनस्टन, जोएल वाटरम्यान, डेरेक कोर्नेलियस, रिची लारिया, ताजोन बुकानन, स्टीफन युस्टाकियो, इस्माइल कोने, लियाम मिलर, जोनाथन डेभिड, काइल लारिन ।

बोस्निया एण्ड हर्जगोभिना: निकोला भासिल, अमार डेडिच, निकोला काटिच, तारिक मुहारेमोभिच, सेआद कोलासिनाच, एस्मिर बाजराक्तारेभिच, बेन्जामिन ताहिरोभिच, इभान बासिच, अमार मेमिक, एर्मेडिन डेमिरोभिच, एडिन जेको ।

Read More

दक्षिण कोरियाको विश्वकप फुटबलमा विजयी शुरुवात

काठमाडौँ । दक्षिण कोरियाले विश्वकप फुटबलमा विजयी शुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न समुह ए अन्तर्गतको खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

दक्षिण कोरियाको जितमा ह्वाङ इन बियोम र ओह ह्योन ग्युले एक एक गोल गरेका थिए । त्यस्तै चेक रिपब्लिकका लागि एक गोल लाडिस्लाभ क्रेज्कीले गरेका थिए ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा खेलको ५९औं मिनेटमा क्रेज्कीको गोलमा चेक रिपब्लिकले शुरुवाती अग्रता लुएको थियो । तर खेलको ६७औं मिनेटमा बियोमले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काउदै बराबरी गरेका थिए । त्यसपछि सबस्टिच्युटको रुपमा मैदानमा आएका ग्युले खेलको ८०औं मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई जित दिलाएका थिए ।

अब दक्षिण कोरियाले अर्को खेल जुन १९ मा मेक्सिकोसँग खेल्ने छ भने चेक गणतन्त्रले अर्को खेल जुन १८ मा दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ ।

Read More

विश्वकपमा आज दक्षिण कोरिया र चेक गणतन्त्र भिड्दै

काठमाडौँ । फिफा विश्वकपमा दक्षिण कोरिया र चेक गणतन्त्रबीचको प्रतिस्पर्धा फेरि चर्चामा छ । हालसम्म यी दुई टोलीबीच चार अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा दुवैले एक–एक खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् । विश्वकपमा भने यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

दुवैबीचको खेल आज बिहान ७: ४५ बजेदेखि मेक्सिकोको जापोपानमा हुदैछ । 

विश्व वरीयतामा दक्षिण कोरिया २५औँ स्थानमा छ भने चेक गणतन्त्र ४१औँ स्थानमा रहेको छ । वरीयतामा अन्तर भए पनि विगतको बराबरी नतिजाले खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

दक्षिण कोरियाबाट सबैभन्दा बढी ध्यान स्ट्राइकर सोन ह्युङ मिनमाथि रहनेछ । उनी अहिले आफ्नो क्लब फुटबल लस एन्जलस एफसीमा खेलिरहेका छन् । यो उनीहरूको चौथो विश्वकप सहभागिता हो र ३३ वर्षका सोनका लागि यो अन्तिम विश्वकप हुन सक्ने अनुमान पनि गरिएको छ, यद्यपि आधिकारिक पुष्टि भएको छैन ।

उनले पछिल्ला मैत्रीपूर्ण खेलमा दुई गोल गरेकाले समर्थकहरू उनलाई गोल गर्ने आशामा हेरेका छन् । यसअघि सन् २०२२ को विश्वकपमा दक्षिण कोरिया अन्तिम १६ मा पुगेको थियो, जहाँ ह्वाङ ही चानले पोर्चुगलविरुद्ध अन्तिम समयमा निर्णायक गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्‍याएका थिए । अहिले पनि उनी फेरि त्यस्तै प्रदर्शन दोहोर्याउने लक्ष्यमा छन् ।

चेक गणतन्त्रको कुरा गर्दा, उनीहरूको इतिहास बलियो छ । सन् १९३४ र १९६२ मा उपविजेता बनेको टोली पछिल्ला वर्षहरूमा भने कमजोर प्रदर्शनका कारण मात्र चार पटक विश्वकपमा पुगेको छ । सन् १९९० यता उनीहरू एक पटक मात्र समूह चरण पार गर्न सफल भएका थिए । चेक गणतन्त्र २० वर्षपछि विश्वकपमा फर्किएको हो । युरोपेली छनोटमा पेनाल्टी सुटआउटमा लगातार जित निकाल्दै उनीहरू विश्वकपमा पुगेका हुन् । प्रशिक्षक मिरोस्लाभ कोउबेकको आगमनपछि टोलीको प्रदर्शनमा सुधार आएको बताइन्छ ।

दुवै टोलीबीच पछिल्लो भेट सन् २०१६ मा भएको थियो, जहाँ दक्षिण कोरियाले प्रागमा भएको मैत्रीपूर्ण खेल २–१ ले जितेको थियो । हालको लय हेर्दा चेक गणतन्त्र राम्रो अवस्थामा छ । उनीहरूले कोसोभो र ग्वाटेमालालाई पराजित गरेका छन् भने डेनमार्क र आयरल्यान्डलाई पेनाल्टीमा हराउँदै छनोट चरण पार गरेका थिए । जिब्राल्टरविरुद्ध पनि ठूलो जित निकालेका थिए ।

दक्षिण कोरियाको प्रदर्शन भने मिश्रित छ । एल साल्भाडोर र त्रिनिदाद तथा टोबागोविरुद्ध जित निकाले पनि अस्ट्रिया र आइभोरी कोस्टसँग पराजित भएका छन् ।

अनुमानित प्रारम्भिक टोली: 

दक्षिण कोरिया: किम सुङ ग्यु (गोलकिपर), किम मिन जे, ली हान बेओम, ली गि ह्युक, सोल यङ वू, ली ताए सोक, ह्वाङ इन ब्योङ, पाइक सुङ हो, ली काङ इन, ली जे सुङ र सोन ह्युङ मिन ।

चेक गणतन्त्र: मातेइ कोभार (गोलकिपर), भ्लादिमिर कौफाल, डेविड डउदेरा, तोमास होलेस, लाडिस्लाभ क्रेज्ची, यारोस्लाभ जेलेनी, तोमास साउचेक, मिखाल सादिलेके, एडम होलजेक, पावेल सुल्च र पाट्रिक शिक ।

Read More

विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकामाथि मेक्सिको २-० ले विजयी

काठमाडौँ । आयोजक मेक्सिकोले विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा बिहीबार भएको खेलमा मेक्सिकोका लागि जुलियन किन्योनेस र राउल हिमेनेजले एक–एक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा तीन रातो कार्ड देखाइएका थिए।

मेक्सिकोले नवौँ मिनेटमै अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका स्पेफेलो सिथोलेले गोलकिकपछि बल नियन्त्रणमा गल्ती गर्दा त्यसको फाइदा उठाउँदै किन्योनेसले उत्कृष्ट प्रहारमार्फत गोल गरेका थिए।

सिथोलेको खराब दिन दोस्रो हाफको सुरुआतमै थप निराशाजनक बन्यो । उनले प्रतियोगिताको पहिलो रातो कार्ड पाएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा उठाउँदै मेक्सिकोले दोस्रो गोल गर्‍यो । राउल हिमेनेजले उत्कृष्ट हेडमार्फत राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो विश्वकप गोल गरेका थिए । गोलपछि उनी भावुक बन्दै मैदानमै आँसु झारेका थिए । सन् २०२० मा गम्भीर टाउको चोटका कारण करिअर संकटमा परेका ३५ वर्षीय हिमेनेजका लागि यो विशेष क्षण बनेको थियो । उनले यस वर्ष निधन भएका आफ्ना पिताको सम्झनामा पनि उक्त गोल समर्पण गरेका थिए।

खेलको अन्त्यतिर दक्षिण अफ्रिकाले अर्को झट्का बेहोर्‍यो । थेम्बा ज्वानेले अनावश्यक फउल गरेपछि सिधै रातो कार्ड पाए र टोली नौ खेलाडीमा झर्‍यो । यता खेल सकिन केही क्षण बाँकी रहँदा मेक्सिकोका सेजार मोन्टेसले स्पष्ट गोल अवसर रोकिएको ठहर गर्दै रेफ्रीले उनलाई पनि रातो कार्ड देखाएका थिए ।

पूर्ण समयको सिट्टीसँगै घरेलु समर्थक उत्सवमा डुबेका थिए । उद्घाटन खेलमा प्रभावशाली जित निकालेको मेक्सिको नकआउट चरणतर्फ बलियो कदम चाल्न सफल भएको छ ।

अब मेक्सिकोले अर्को खेल जुन १९ मा दक्षिण कोरिया र जुन २५ मा चेक गणतन्त्रसँग खेल्ने तालिका छ । त्यस्तै दक्षिण अफ्रिकाले जुन १८ मा चेक गणतन्त्र र जुन २५ मा दक्षिण कोरियासँग खेल्ने तालिका रहेको छ ।

Read More