२०८३ भाद्र २९

जेनजी आन्दोलनको वार्षिकोत्सवमा प्रधानमन्त्रीको सम्बोधन माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले ‘जेनजी’ आन्दोलनको एक वर्ष पूरा हुने अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले आगामी भदौ २३ गते जेनजी आन्दोलनको एक वर्ष पूरा हुन लागेको स्मरण गराउँदै प्रधानमन्त्रीबाट विशेष सम्बोधन हुनुपर्ने बताइन्।

उनले भ्रष्टाचार अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि युवाहरूले आन्दोलनमार्फत गरेको बलिदानको सम्मान गर्नुपर्ने बताइन्। भदौ २३ गते सहिदहरूको सम्मानमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने अपेक्षा आफूले राखेको उनले उल्लेख गरिन्।

खतिवडाले आन्दोलनका क्रममा उठाइएका मागमध्ये कति पूरा भए र कति बाँकी छन् भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने बताइन्। साथै भ्रष्टाचारमा संलग्नलाई कारबाही हुने वा नहुने, सरकारलाई प्रभावकारी काम गर्न कसले रोकिरहेको छ तथा सहिद परिवार र घाइतेहरूले कहिले न्याय पाउने भन्ने प्रश्नको जवाफ दिनुपर्ने उनको माग छ।

Read More

प्रधानमन्त्री शाह र गण्डकी प्रदेश मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको भेटमा संघीय र प्रदेश सरकारबीचको सहकार्य तथा समन्वयका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।

भेटका क्रममा संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौती, तिनको समाधानका उपाय तथा संघ र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

Read More

मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा मुख्यमन्त्री भट्ट रहेका छन्।

यसअघि बुधबार नै विश्वासको मत लिने तयारी भए पनि अन्ततः बिहीबारका लागि प्रदेश सभा बैठक आह्वान गर्ने तयारी गरिएको छ। आज नेकपा संसदीय दलको बैठक बस्ने र त्यसपछि प्रदेश सभा बैठक आह्वान गर्ने तयारी रहेको जनाइएको छ।

नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री नियुक्त भएकै दिन भट्टले नेकपाबाट तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका थिए। तर नेकपाबाट मन्त्री बन्ने व्यक्तिहरूको टुंगो लाग्न नसक्दा मुख्यमन्त्री भट्टले आफ्नो दलको भागमा परेका मन्त्रालयमा अझै मन्त्री नियुक्त गर्न सकेका छैनन्।

नयाँ सत्ता समीकरणअनुसार नेकपाले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र नेकपा एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ। नेकपा एमालेको भागमा परेको अर्थ मन्त्रालय, सामाजिक विकास मन्त्रालय तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्।

Read More

प्रतिनिधिसभाको बैठक आज, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ। साथै, विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय सम्झौतासम्बन्धी प्रस्ताव अघि बढाउने र संसदीय समितिका बैठकमार्फत समसामयिक विषयमा छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।

आजको बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा वातावरणमन्त्रीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिनेछन्।

बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउनदेखि २०८२ असारसम्म) सदनमा पेस गर्नेछिन्।

त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

मन्त्री गौतमले नै संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पनि सदनमा पेस गर्ने कार्यसूची रहेको छ।

पाँच संसदीय समितिको बैठक पनि बस्दै

प्रतिनिधिसभाको बैठकसँगै आज विभिन्न पाँच वटा संसदीय समितिको बैठकसमेत बस्ने भएका छन्। प्राप्त विवरणअनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ।

यी समितिहरूले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय प्रक्रिया अघि बढाउनेछन्।

Read More

बागमतीका मुख्यमन्त्री बानियाँले राजीनामा दिने घोषणा

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

सोमबार प्रदेश सभालाई सम्बोधन गर्दै बानियाँले राजीनामाको घोषणा गरेका हुन्। नेकपा (एमाले) ले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको थियो। तर आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि उनले विश्वासको मत परीक्षणमा जानुअघि नै राजीनामाको घोषणा गरेका हुन्।

१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसद मात्र रहेकाले बहुमत पुग्ने अवस्था नरहेको हो।

Read More

बागमती प्रदेशसभा बैठक भदौ १ गते, मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने

काठमाडौं। बागमती प्रदेशसभाको बैठक भदौ १ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालय, हेटौँडाले शुक्रबार सूचना जारी गर्दै बैठक दिउँसो १ बजेका लागि आह्वान गरेको हो।

बैठकमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईँले जानकारी दिए।

प्रदेशसभाको जारी आठौँ अधिवेशनअन्तर्गत बस्ने बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लागेका हुन्।

Read More

देउवा कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा पार्टीका पूर्वसभापति शेरबहादुर देउवा सहभागी भएका छन्। काठमाडौंस्थित मिराकल पार्टी प्यालेसमा जारी भेलामा देउवा प्रमुख अतिथिका रूपमा उपस्थित भएका हुन्।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा भेला सुरु भएको हो। भेलालाई देउवाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

देउवा पाँच महिनापछि हिजो नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि उनी पहिलोपटक कांग्रेसको राष्ट्रिय भेलामा सहभागी भएका हुन्।

Read More

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।

नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री भट्टले शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शपथपछि शुक्रबार नै मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५१ सदस्य कायम छन्। नेकपाका २१, नेकपा एमालेका ११, नेपाली कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन्। नेकपा र एमालेका सांसदको संख्या जोड्दा ३२ पुग्छ, जुन सरकार गठनका लागि आवश्यक २६ सदस्यीय बहुमतभन्दा बढी हो।

नयाँ सत्ता समीकरणअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको बताइएको छ। एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषिमध्ये एक मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको जनाइएको छ।

यसअघि नेपाली कांग्रेसका कमलबहादुर शाह सुदूरपश्चिमका मुख्यमन्त्री थिए। बजेटसम्बन्धी विवाद चर्किएपछि एमालेले असार ३१ गते शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन गुमेपछि शाहले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

शाहको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए। भट्ट मुख्यमन्त्री नियुक्त भएसँगै सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा पाँचौँ सरकार गठन भएको छ।

प्रदेशमा सरकार परिवर्तनको क्रमसँगै राजनीतिक स्थायित्व, बजेट कार्यान्वयन र विकास निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा नयाँ सरकारको भूमिकाप्रति चासो बढेको छ।

Read More

बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री बानियाँले सोमबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन संसद् सचिवालयमा पत्राचार गरेका छन्।

सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए। समर्थन फिर्तापछि संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

Read More

ताप्लेजुङका विकास निर्माणका विषयमा रवि लामिछानेको ध्यानाकर्षण

काठमाडौं । ताप्लेजुङका सरोकारवाला निकायका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरी जिल्लाको सडक विस्तारसहित विकास निर्माणका विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन्।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बिहीबार लामिछानेलाई भेटेर मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–८ खोक्सेखोलादेखि सुकेटारसम्मको सडक सीमा पुनरावलोकनका लागि पहल गर्न आग्रह गरेको हो।

सडक डिभिजन कार्यालय इलामले गत जेठ १३ गते मेची राजमार्गको केन्द्रबाट दायाँ–बायाँ १५–१५ मिटरभित्र रहेका संरचना हटाउन सूचना जारी गरेको थियो। त्यसपछि सडक आसपासका बासिन्दासहित फुङलिङ नगरपालिकामा छलफल भएको थियो।

स्थानीय प्रतिनिधिका अनुसार २०५४ सालमा सहरी विकास तथा भवन निर्माण कार्यालय स्थापना भएपछि सडकको दायाँ–बायाँ ७.५–७.५ मिटर चौडाइ कायम गरी घरजग्गा खरिद तथा संरचना निर्माण गर्न अनुमति दिइएको थियो। सोही आधारमा स्थानीयले जग्गा खरिद गरी घर तथा अन्य संरचना निर्माण गरेका थिए।

२०७२ सालमा सरकारले मेची राजमार्गको सडक सीमा केन्द्रबाट दायाँ–बायाँ १५–१५ मिटर कायम गर्ने निर्णय गरेपछि उक्त क्षेत्रका जग्गा रोक्का भएका थिए। जग्गा रोक्का हुँदा घरजग्गा प्रयोग गर्न नपाएको स्थानीयको गुनासो छ।

क्षेत्रमा वैकल्पिक सडकसमेत निर्माण भइसकेकाले रोक्का रहेका घरजग्गा फुकुवा गर्न सरकारसँग पहल गर्ने विषयमा यसअघि नै छलफल भएको प्रतिनिधिमण्डलले जनाएको छ।

भेटका क्रममा सडक सीमा पुनरावलोकनसहित जिल्लाका विभिन्न विकास निर्माणका विषयमा लामिछानेलाई जानकारी गराइएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको रास्वपाका स्थानीय नेता दुर्गा न्यौपानेले बताए। उनका अनुसार लामिछानेले सडक सीमा सम्बन्धमा अध्ययन तथा छलफल गर्ने प्रतिक्रिया दिएका छन्।

Read More