२०८३ भाद्र २९

सङ्घीय संसद्का तीन समितिको बैठक आज

काठमाडौं। सङ्घीय संसद्का तीन समितिको बैठक आज बस्दै छ। प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिका साथै राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकका लागि विभिन्न विषयमा छलफलको कार्यसूची तय गरिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ। बैठकमा परराष्ट्र मामिलासम्बन्धी समसामयिक विषयमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे १० बजेदेखि सुरु भएको छ। बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल हुँदैछ। यस्तै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदन, २०८३ पारित गर्ने कार्यसूची पनि रहेको छ।

समितिले आजको छलफलका लागि गृहमन्त्री, कानुनमन्त्री, गृह सचिव, कानुन सचिव, प्रहरी महानिरीक्षक र कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई बोलाएको जनाएको छ।

राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा मानव अधिकारको वर्तमान अवस्था तथा राष्ट्रिय मानव अधिकार आयोगका विभिन्न प्रतिवेदनको कार्यान्वयनबारे आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ।

Read More

साढे पाँच महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन्।

देउवाको स्वागतका लागि विमानस्थलमा ठूलो सङ्ख्यामा नेता तथा कार्यकर्ता उपस्थित भएका थिए। उनलाई बाजागाजा र झाँकीसहित स्वागत गरिएको थियो।

विमानस्थलमा स्वागतपछि देउवालाई कारमा राखेर नेता तथा कार्यकर्ताले स्कर्टिङ गर्दै महाराजगञ्जस्थित उनको अस्थायी निवासमा लगेका छन्।

देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुने कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ।

गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी पत्नी आरजु राणासहित सिंगापुर गएका देउवा बिहीबार नेपाल फर्किएका हुन्। उनी उपचारका लागि सिंगापुर गएका थिए।

Read More

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन्।

प्रदेशसभा बैठकमा लामो समयदेखि अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा समेत छलफल हुने सम्भावित कार्यसूची रहेको जनाइएको छ।

सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) ले गत असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ।

मुख्यमन्त्री शाहले बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाएका थिए।

सुदूरपश्चिम प्रदेशसभामा कुल ५३ जना सदस्य छन्। तीमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसका १८, नेपाली कम्युनिष्ट पार्टीका सभामुखसहित २२, नेकपा (एमाले) का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य छन्।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभा सचिवालयका अनुसार हाल एक जना प्रदेशसभा सदस्य देशबाहिर छन् भने अर्का एक जना निलम्बनमा रहेका छन्।

Read More

शेरबहादुर देउवा आज स्वदेश फर्किँदै, विमानस्थलमा भव्य स्वागतको तयारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्। हङकङबाट उनी आज नेपाल आउन लागेका हुन्। जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि उपचारका लागि सिंगापुर पुगेका देउवा त्यसपछि हङकङ पुगेका थिए।

देउवा स्वदेश फर्किने भएपछि कांग्रेसको इतर पक्षले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको भव्य स्वागत गर्ने तयारी गरेको छ। स्वागतका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरू बिहान १० बजेदेखि विमानस्थलमा भेला हुने कार्यक्रम रहेको छ।

देउवालाई स्वागत गर्न सात हजारभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुने तयारी गरिएको छ। उनको गृह जिल्लासहित विभिन्न स्थानबाट समेत नेता तथा कार्यकर्ता काठमाडौं आएका छन्। राष्ट्रिय भेला आयोजक समितिका प्रचारप्रसार संयोजक मीन विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि ३२ वटै आयोजक समितिले आवश्यक व्यवस्थापन गरिरहेका छन्।

स्वागत कार्यक्रमको संयोजनका लागि विशेषगरी तरुण दल र विद्यार्थी संगठन परिचालन समितिलाई जिम्मेवारी दिइएको छ। सांस्कृतिक समितिले विभिन्न झाँकीसहितको प्रस्तुति गर्ने तयारी गरेको जनाइएको छ।

देउवा दिउँसो १२ः२५ बजे थाइ एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।

यसैबीच, देउवा दम्पती सिंगापुरमा रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी रोक्न माग गर्दै देउवा वारेसमार्फत सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले देउवा दम्पतीलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

Read More

निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं। नेपाली कांग्रेसले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्दै अर्थतन्त्र सुधारका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले अर्थतन्त्र सुधारका लागि सरकारले अघि बढाउने सकारात्मक कदममा पार्टीको सहयोग रहने बताए।

चालिसेले देशको आर्थिक विकास, उत्पादन वृद्धि, राजस्व सङ्कलन तथा रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए। निजी क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएकाले त्यसलाई कमजोर बनाउने कुनै पनि नीति लिन नहुने कांग्रेसको धारणा रहेको उनले बताए।

कांग्रेसले निजी क्षेत्रलाई नियन्त्रण गर्ने खालका कानुनी व्यवस्था सुधार गर्नुपर्नेमा समेत जोड दिएको छ। निजी क्षेत्रको लगानी र व्यावसायिक गतिविधिलाई सहज बनाउने वातावरण तयार गर्न सरकार जिम्मेवार हुनुपर्ने पार्टीको निष्कर्ष छ।

लगानीकर्ताको मनोबल बढाउन, पुँजी पलायन रोक्न तथा स्वदेशी र विदेशी लगानी आकर्षित गर्न सरकारले स्पष्ट, स्थिर र दीर्घकालीन आर्थिक नीति ल्याउनुपर्ने कांग्रेसले माग गरेको छ।

सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय ललितपुरमा जारी बैठकमा आज २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। छलफल जारी रहेकाले केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्ने कांग्रेसले जनाएको छ।

Read More

आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् सचिवालयका अनुसार आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्न लागेको हो।

बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ। यस्तै, बिहान १०ः०० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेका संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरिनेछ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ। बैठकमा ‘जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा’ छलफल हुने कार्यक्रम छ।

पूर्वाधार विकास समितिको बैठक बिहान १०ः०० बजे बस्नेछ। बैठकमा खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदनमाथि छलफल गरिनेछ।

यस्तै, बिहान ११ः०० बजे बस्ने महिला तथा सामाजिक विकास समितिको बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही तथा प्रगतिका विषयमा छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

Read More

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ।

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

राष्ट्रियसभाको बैठकमा उक्त प्रस्ताव पेस भएसँगै आन्तरिक वायुसेवासँग सम्बन्धित दायित्व तथा व्यवस्थाका विषयमा छलफल अघि बढ्नेछ। बैठकको सम्भावित कार्यसूचीअनुसार मन्त्री पौडेलले विधेयकलाई छलफलका लागि सभासमक्ष प्रस्तुत गर्नेछन्।

Read More

प्रधानमन्त्री बालेन्द्र साहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन निमन्त्रणा गरिएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री साहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका हुन् ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री साहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी दिएका हुन् ।

कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ ।

सम्मेलनमा नेपालले जलवायु न्याय, जलवायु परिवर्तनबाट हुने हानि तथा नोक्सानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

Read More

लुम्बिनी सरकार गठनका लागि एमाले–मसालबीच दुईबुँदे सहमति

काठमाडौं । लुम्बिनी प्रदेश सरकार गठनका विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालबीच दुईबुँदे सहमति भएको छ।

सहमति पत्रमा एमाले अध्यक्ष ओली, नेकपाका संयोजक प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन्।

सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशमा हुने विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ।

त्यस्तै, दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने सहमति गरिएको छ।

Read More

आज सात संसदीय समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद्का विभिन्न सात वटा संसदीय समितिको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार अर्थ, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गरिने कार्यसूची छ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, सोका समस्या एवं चुनौती तथा आयोगका सिफारिस कार्यान्वयनको अवस्था’ का विषयमा छलफल हुनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ। बैठकमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था र अनुगमनबाट प्राप्त निष्कर्षका विषयमा छलफल गरिनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहान ११ बजे बस्ने बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौता, तिनको कार्यान्वयनको अवस्था र कार्यान्वयनका लागि नेपाल सरकारबाट भएका कामकारबाहीका विषयमा छलफल हुनेछ।

सोही समितिको बैठकमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपालको सहभागिताका लागि भइरहेको तयारीबारे सरकारका सम्बन्धित अधिकारीसँग जानकारी लिने कार्यक्रमसमेत रहेको छ।

अपराह्न १ बजे सार्वजनिक लेखा समितिको बैठक बस्नेछ। बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सिफारिस गरिएको श्रेणी: Politics (राजनीति)

Read More