काठमाडौं । बागमती प्रदेशको नेतृत्व सम्हाल्न पुगेका किरण थापा मगरले स्थानीय तहको जनप्रतिनिधिदेखि प्रदेशसभा सदस्य, मन्त्री हुँदै मुख्यमन्त्रीसम्मको राजनीतिक यात्रा तय गरेका छन्। भक्तपुरको सूर्यविनायक–८, सिपाडोलमा २०३३ साल भदौ १४ गते जन्मिएका थापा मगर २०४७ सालदेखि राजनीति तथा सामाजिक सेवामा सक्रिय रहेको बताउँछन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भक्तपुर जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हालेका उनी २०७४ सालमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्ष निर्वाचित भएका थिए। स्थानीय तहमा काम गर्ने क्रममा सामाजिक विकास समितिको संयोजकसमेत बनेका उनी २०७९ सालमा भक्तपुर निर्वाचन क्षेत्र नं. २ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भए।
प्रदेशसभा सदस्य बनेपछि थापा मगरले बागमती प्रदेश सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले। २०८१ साउनदेखि २०८३ असारसम्म दुईपटक स्वास्थ्यमन्त्रीका रूपमा काम गरेका उनी बिहीबार प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
राजनीतिसँगै थापा मगर सामाजिक क्षेत्रमा पनि लामो समयदेखि सक्रिय छन्। डोलेश्वर महादेव मन्दिर संरक्षण समिति तथा नेपाल रेडक्रस सोसाइटीलगायत संस्थामा विभिन्न जिम्मेवारी सम्हालेका उनले विपद्का समयमा उद्धार तथा राहतका काममा पनि सक्रियता देखाउँदै आएका छन्। २०७२ को भूकम्प, २०७५ को हनुमन्ते बाढी तथा कोरोना महामारीका बेला राहत, स्वास्थ्य सेवा, अक्सिजन र औषधि व्यवस्थापनमा संलग्न भएको उनको भनाइ छ।
खेलकुद तथा व्यवसाय क्षेत्रमा समेत संलग्न थापा मगरले नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेश र सूर्यविनायक उद्योग वाणिज्य सङ्घमा जिम्मेवारी निर्वाह गरेका छन्। निजी व्यवसायमार्फत ५०० भन्दा बढीलाई रोजगारी दिएको उनको दाबी छ। वडाध्यक्ष हुँदा प्राप्त हुने सुविधा नलिई त्यसबाट बचत रकमको उपयोग गरी अक्षयकोष स्थापना गरेको र कोषको रकम हाल रु ४० लाख पुगेको उनले बताएका छन्।
अब मुख्यमन्त्रीका रूपमा थापा मगरसामु प्रदेश सरकारको प्रभावकारिता बढाउने, राजनीतिक सहकार्य कायम गर्ने र प्रदेशवासीका अपेक्षा सम्बोधन गर्ने चुनौती छ। सरकार गठनमा सहयोग गर्ने दलहरूलाई समेट्दै संघीयताको मर्मअनुसार प्रदेशको अधिकार र प्राथमिकतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु उनको मुख्य जिम्मेवारी हुनेछ।
