२०८३ भाद्र २९

मुख्यमन्त्री थापामगरको नियुक्तिविरुद्ध रिटमा उच्च अदालतको कारण देखाऊ आदेश

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिलाई चुनौती दिँदै दायर भएका दुई छुट्टाछुट्टै रिटमा उच्च अदालत पाटनको हेटौँडा इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। अदालतले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न दुवै पक्षलाई भदौ १० गते बोलाएको छ।

न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले सोमबार रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको हो। निवेदकहरूले तत्काल अन्तरिम आदेश माग गरे पनि अदालतले त्यसबारे तत्काल निर्णय नगरी दुवै पक्षलाई छलफलमा बोलाएको छ।

दुई जनाले दायर गरे छुट्टाछुट्टै रिट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङ र अधिवक्ता मोहनप्रसाद ढकालले मुख्यमन्त्री थापामगरको नियुक्ति बदर गर्न माग गर्दै छुट्टाछुट्टै रिट दायर गरेका हुन्। दुवै निवेदनमा तत्काल अन्तरिम आदेशको माग गरिए पनि अदालतले भदौ १० गते दुवै पक्षको उपस्थितिमा यसबारे छलफल गर्ने भएको छ।

विपक्षीलाई १५ दिनभित्र जवाफ दिन आदेश

अदालतले निवेदकले माग गरेअनुसार आदेश जारी गर्नुपर्ने हो वा होइन भन्ने विषयमा आधार, प्रमाण र कारणसहित बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ।

रिटमा बागमती प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा, सभामुख तथा सम्बन्धित राजनीतिक दल र संसदीय दलका नेताहरूलाई विपक्षी बनाइएको छ।

प्रदेश प्रमुख र प्रदेश प्रमुखको कार्यालयका तर्फबाट उच्च सरकारी वकिल कार्यालय हेटौँडा तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा र सभामुखका तर्फबाट मुख्य न्यायाधिवक्ताको कार्यालय, बागमती प्रदेशमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ।

मुख्यमन्त्री नियुक्तिको आधार बनेको समर्थनमा विवाद

निवेदकहरूले थापामगरलाई मुख्यमन्त्री नियुक्त गर्ने आधारका रूपमा प्रस्तुत गरिएको समर्थन नै विवादित रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार उक्त समर्थनलाई मान्यता दिएर मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया संविधानसम्मत छैन।

रिट निवेदनमा राप्रपाका तत्कालीन बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले नेकपा (एमाले) का थापामगरलाई मुख्यमन्त्री बनाउन पार्टीको निर्णय तथा निर्देशनविपरीत समर्थन गरेको उल्लेख छ। सोही समर्थनलाई आधार बनाएर मुख्यमन्त्री नियुक्त गरिएको निवेदकहरूको दाबी छ।

राप्रपा केन्द्रीय समितिले तत्कालीन संसदीय दलका नेता थापाले दिएको समर्थन पार्टीको आधिकारिक नभएको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराएको भए पनि त्यसलाई मान्यता दिइएको दाबीसमेत रिटमा गरिएको छ।

भदौ ४ मा मुख्यमन्त्री नियुक्त भएका थिए थापामगर

एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाका प्रदेश सभा सदस्यको समर्थनसहित एमालेका थापामगरले भदौ ३ गते मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुख देवकोटाले भदौ ४ गते उनलाई मुख्यमन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए।

अब भदौ १० गते हुने छलफल तथा विपक्षीबाट प्राप्त हुने लिखित जवाफका आधारमा अदालतले अन्तरिम आदेशका विषयमा निर्णय गर्नेछ।

Category: राजनीति / कानुनी विवाद
Subcategory: बागमती प्रदेश

Read More

कर्णालीमा मन्त्री चयन अझै अनिश्चित, सात आकांक्षीको नाम केन्द्रमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सहभागी हुने तीन मन्त्रीको टुंगो लाग्न नसकेपछि पार्टीले सात जना सम्भावित उम्मेदवारको नाम केन्द्रमा पठाएको छ। अब मन्त्री छनोटको अन्तिम निर्णय पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले गर्ने भएका छन्।

नेकपा कर्णालीका प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीका अनुसार प्रदेश तहमा सोमबार बिहानसम्म सहमति बन्न नसकेपछि आकांक्षीहरूको नाम केन्द्रमा पठाइएको हो। केन्द्रबाट नाम निश्चित भएपछि मात्र मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्ने उनले बताएका छन्।

यसअघि सोमबार बिहान ११ बजे तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी थियो। प्रदेश प्रमुखको कार्यालयले पनि कार्यक्रमको समय तय गरिसकेको थियो। तर मन्त्रीको नाम अन्तिम समयमा सिफारिस हुन नसकेपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ कार्यक्रम रोक्न आग्रह गरेका थिए।

नेकपाभित्र विन्दमान विष्ट, मिलन खड्का र जुम्कित लामासहितका नेताहरू मन्त्रीका सम्भावित नामका रूपमा चर्चामा थिए। आकांक्षीको संख्या बढेपछि सहमति जुटाउन कठिन भएको हो। यही विवादले पार्टीभित्र रहेका साबिक माओवादी र साबिक नेकपा एकीकृत समाजवादी धारबीचको मतभेदसमेत बाहिर ल्याएको छ।

नेकपा र नेकपा एमालेबीचको सत्ता साझेदारीअनुसार कर्णालीमा नेकपाले मुख्यमन्त्रीसहित तीन मन्त्रालयको जिम्मेवारी पाएको छ। उसका लागि भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छुट्याइएको छ। एमालेको तर्फबाट भने तीन मन्त्री यसअघि नै नियुक्त भइसकेका छन्।

मन्त्री छनोटमा भइरहेको ढिलाइका कारण मुख्यमन्त्री मंगलबहादुर शाही नेतृत्वको प्रदेश सरकार गठन भएको झन्डै एक महिना पुग्न लाग्दा पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। मन्त्रिपरिषद् पूर्ण नहुँदा बजेट कार्यान्वयनदेखि सरकारका नियमित प्रशासनिक कामसम्म प्रभावित हुन सक्ने भन्दै सरकारमाथि आलोचना बढिरहेको छ।

Read More

संसद्मा उठेका सांसदका सवालको अब ‘फलोअप’

काठमाडौं। सांसदहरूले उठाएका जनसरोकारका विषयलाई सम्बन्धित मन्त्रालयमार्फत तत्काल ‘फलोअप’ गर्ने प्रणाली सरकारले सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सदनमा उठेको विषय सोही दिन सम्बन्धित मन्त्रालयमा पठाउने र त्यसको प्रगति सांसद तथा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउने व्यवस्था गरिएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार गत असार २६ गतेदेखि सुरु गरिएको यो अभ्यास प्रभावकारी बन्दै गएको छ। मन्त्रालयले विषयको प्रकृतिअनुसार समाधान गर्ने वा तत्काल समाधान सम्भव नभए कारण, विद्यमान अवस्था र सम्भावित उपायबारे सम्बन्धित सांसदलाई जानकारी गराउने व्यवस्था छ।

सांसदहरूले उठाएका विषयको साप्ताहिक प्रगति प्रधानमन्त्री कार्यालयमा पठाइने गरिएको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार चालु आवको पहिलो महिनामा प्रतिनिधिसभा र राष्ट्रियसभाका पाँच–पाँच बैठकमा २८२ सांसदले विभिन्न मन्त्रालयसँग सम्बन्धित विषय उठाएका थिए। अधिकांश विषय सम्बोधन भइसकेको र केहीको अवस्थाबारे सांसदलाई जानकारी गराइएको कार्यालयले जनाएको छ।

साउनमा गृह मन्त्रालयसँग सम्बन्धित विषय ६६ सांसदले उठाएका थिए। उद्योग, वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा ६० र परराष्ट्रसँग सम्बन्धित विषयमा ४८ सांसदले धारणा राखेका थिए। स्वास्थ्य तथा खाद्य स्वच्छता, कृषि, वन तथा पर्यावरणलगायतका मन्त्रालयसँग सम्बन्धित विषय पनि उल्लेख्य संख्यामा उठेका थिए।

यो प्रक्रिया समन्वय गर्न प्रधानमन्त्री कार्यालयका चार र विभिन्न मन्त्रालयका ४१ गरी ४५ कर्मचारी परिचालन गरिएको छ। संसद्मा खटिएका कर्मचारीले सांसदका सवाल सम्बन्धित मन्त्रालयका सचिवलाई जानकारी गराउँछन्। सचिवमार्फत मन्त्रीसमक्ष ‘ब्रिफिङ’ भएपछि आवश्यक कारबाही अघि बढाइन्छ र त्यसको जानकारी सांसद तथा प्रधानमन्त्री कार्यालयलाई दिइन्छ।

Read More

संसद् बैठक आज : प्रतिनिधिसभा र राष्ट्रियसभामा यस्तो छ कार्यसूची

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजेका लागि बोलाइएको छ। दुवै सदनका बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्नुका साथै छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायतका विषय कार्यसूचीमा छन्। बैठकमार्फत कानुन निर्माणसँग सम्बन्धित महत्त्वपूर्ण प्रक्रियालाई अघि बढाउने तयारी गरिएको छ।

प्रतिनिधिसभामा विधेयक प्रस्तुत तथा समितिमा पठाउने प्रस्ताव

सिंहदरबारमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। साथै, संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पनि बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रियसभामा विशेष सेवा ऐनसम्बन्धी विधेयक

बिहान १०ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

कानुन निर्माण प्रक्रियालाई अघि बढाउने तयारी

प्रतिनिधिसभा र राष्ट्रियसभाका आजका बैठकमा विभिन्न विधेयक तथा सम्झौतासम्बन्धी विषय अघि बढ्ने भएकाले कानुन निर्माण प्रक्रियाका दृष्टिले बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। दुवै सदनबाट सम्बन्धित विधेयकहरू समितिमा पठाइएपछि तिनमा थप दफावार छलफल र आवश्यक प्रक्रिया अघि बढ्नेछ।

Read More

परराष्ट्रमन्त्री खनाल बेलग्रेडमा हुने असंलग्न आन्दोलनको स्मरणसभामा सहभागी हुँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गते सर्बियाको राजधानी बेलग्रेड जाने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार उनी असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन सर्बिया जान लागेका हुन्। स्मरणसभा भदौ १५ र १६ गते बेलग्रेडमा आयोजना हुँदैछ।

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। यसको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो।

कार्यक्रममा विश्वका विभिन्न देशका नेता, प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिको सहभागिता रहनेछ।

नेपालले आफ्नो परराष्ट्र नीतिको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ। संविधानले समेत असंलग्न आन्दोलनप्रतिको नेपालको प्रतिबद्धतालाई प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ।

नेपालले असंलग्न आन्दोलनका वाङडुङ सम्मेलनदेखि शिखर सम्मेलन, मन्त्रिस्तरीय बैठकलगायत विभिन्न बैठकमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ।

मन्त्री खनाल भदौ १७ गते सर्बियाबाट नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Read More

हत्या, हिंसा र बलात्कारलाई सामाजिक अराजकतासँग जोडेर हेर्नुपर्छ : पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजमा बढ्दै गएका हत्या, हिंसा तथा बलात्कारका घटनालाई केवल आपराधिक गतिविधिका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। उनले यस्ता घटनालाई सामाजिक अराजकता, कमजोर राज्य व्यवस्था तथा २०८२ भदौ २४ गते भएको विध्वंसात्मक अराजकताले सिर्जना गरेको विचलित मनोविज्ञानसँग जोडेर हेर्नुपर्ने बताएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले पछिल्लो समय देशमा अपराधका घटना बढ्दै जाँदा नागरिकमा असुरक्षा र भयको मनोविज्ञान सिर्जना भइरहेको बताएका छन्। उनका अनुसार समाजमा देखिएको अस्थिरता र अराजकताले नागरिकको मानसिक अवस्थामा समेत नकारात्मक प्रभाव पारेको छ।

पोखरेलले देशको पछिल्लो अवस्थाका कारण समाजमा आत्महत्याको शृङ्खला समेत बढेको दाबी गरेका छन्। अपराधका घटना निरन्तर बढ्दै जाँदा नागरिकले आफू र आफ्नो सुरक्षाप्रति थप चिन्ता गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।

महासचिव पोखरेलले २०८२ भदौ २४ गते भएको विध्वंसकारी घटनाका योजनाकार तथा दोषीहरूको पहिचान गरी कानुनी दायरामा ल्याएर दण्डित गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार उक्त घटनामा संलग्न दोषीलाई कारबाही नगरेसम्म अपराधीहरू निर्भय हुने र नागरिकहरू निरन्तर भय तथा असुरक्षाको अवस्थामा बाँच्नुपर्ने परिस्थिति कायम रहनेछ।

Read More

मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

काठमाडौं। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बनेका थापाले दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएका हुन्।

नेकपा एमाले, नेकपा र राप्रपासहित ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थापालाई १०४ सदस्यीय प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रारम्भिक रूपमा आवश्यक बहुमतभन्दा बढी सांसदको समर्थन रहेकाले विश्वासको मत प्राप्त गर्ने अवस्था बलियो देखिएको छ।

मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। विश्वासको मत प्राप्त गरेसँगै सरकार विस्तार तथा मन्त्रालय बाँडफाँटको प्रक्रिया अघि बढाउने तयारी रहेको बताइएको छ।

यसैबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री थापालाई विश्वासको मत दिन आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ। नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले आइतबार पत्र जारी गर्दै भदौ ८ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।

गत भदौ ३ गते नेकपा, एमाले र राप्रपाबीच भएको सहमति तथा सहकार्यका आधारमा किरण थापाको नेतृत्वमा बागमती प्रदेश सरकार गठनका लागि दाबी पेस गरिएको थियो। त्यसको भोलिपल्ट अर्थात् भदौ ४ गते प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका थिए।

आजको विश्वासको मतपछि बागमती प्रदेश सरकारको आगामी राजनीतिक दिशा थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

Read More

रास्वपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुक्रबार वनस्थलीस्थित घण्टीघरमा सुरु भएको छ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, संगठन व्यवस्थापन, मनोनयन, योजना तथा आगामी कार्यक्रम र अभियानबारे छलफल हुनेछ।

बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणबारे छलफल हुने कार्यसूची छ।

यस्तै, केन्द्रीय समिति तथा विभिन्न पदाधिकारी र विभागीय प्रमुखको मनोनयन, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन तथा स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण र प्रशिक्षण कार्यक्रमबारे पनि छलफल हुनेछ।

रास्वपाको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषय पनि बैठकको कार्यसूचीमा रहेको आचार्यले बताए।

Read More

प्रधानमन्त्री बालेनको आकस्मिक मुस्ताङ भ्रमणले बढायो राजनीतिक चासो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको शुक्रबार तय भएको आकस्मिक मुस्ताङ भ्रमणले राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो बढाएको छ। प्रधानमन्त्री पोखरा हुँदै मुस्ताङ जाने तयारीमा रहँदा सोही दिन प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको पनि पोखरा आगमन हुने भएपछि भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्रीको सचिवालयले भ्रमणको उद्देश्य, भेटघाट र कार्यसूचीबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन। सुरक्षा निकाय र स्थानीय प्रशासनलाई भने अन्तिम समयमा भ्रमणबारे जानकारी गराइएको बताइएको छ।

मुस्ताङ सामरिक, वातावरणीय र जलस्रोतका दृष्टिले संवेदनशील क्षेत्र भएकाले प्रधानमन्त्रीको भ्रमणलाई विभिन्न कोणबाट हेरिएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, सीमावर्ती सुरक्षा तथा विकास आयोजनाको अवस्थाबारे स्थलगत जानकारी लिन भ्रमण भएको हुनसक्ने अनुमान गरिएको छ।

यद्यपि, भ्रमणको वास्तविक उद्देश्यबारे प्रधानमन्त्री सचिवालयबाट आधिकारिक जानकारी नआएसम्म विभिन्न अड्कलबाजी मात्रै हुने देखिन्छ।

Read More

भदौ २३ गते लाखौँ नागरिक सडकमा उत्रिन हमालको अपिल

काठमाडौं । जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले उक्त दिनलाई पुनः आन्दोलन गर्ने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, शहीदप्रति श्रद्धा र राष्ट्रिय एकताका लागि समर्पित गर्न आग्रह गरेका हुन्।

राष्ट्रिय नागरिक जेनजी अभियानको पत्रकार सम्मेलनमा बोल्दै हमालले शहीद परिवारको भरोसा, घाइतेहरूको आत्मबल र नागरिक एकताका लागि भदौ २३ गते एकजुट हुनुपर्ने बताए।

उनले सरकारले जेनजी आन्दोलनका सुशासन, पारदर्शिता, जवाफदेहिता र संस्थागत सुधारका मुद्दा सम्बोधन नगरेको आरोप लगाए। साथै सरकारका केही अभिव्यक्ति तथा नेपाल–भारत सीमा र सन्धिसम्बन्धी विषयमा गम्भीर प्रश्न उठेको भन्दै छानबिन र सार्वजनिक बहसको माग गरे।

आन्दोलनका उपलब्धिमाथि घात गर्ने प्रयास भए आफूहरू पुनः कठिन संघर्षका लागि तयार रहेको चेतावनी दिँदै हमालले भदौ २३ लाई नयाँ राष्ट्रिय संकल्पको दिन बनाउन सबै नेपालीलाई आह्वान गरे।

Read More