२०८३ श्रावण १२

आजको राशिफल:

२०८३ साउन ११ गते (२७ जुलाई २०२६), सोमबार

आषाढ शुक्लपक्ष त्रयोदशी तिथि (१६ः०५ बजेपछि चतुर्दशी), मूल नक्षत्र (११ः२७ बजेपछि पूर्वाषाढा), चन्द्रराशि – धनु।

आज ग्रह–नक्षत्रको प्रभावले आत्मविश्वास, कर्मशीलता र सही निर्णयलाई विशेष महत्त्व दिएको छ। धेरै राशिका लागि नयाँ अवसर, आर्थिक प्रगति, सामाजिक सम्मान र दीर्घकालीन योजनामा सफलता प्राप्त हुने संकेत देखिएको छ। केही राशिले अनावश्यक खर्च, गोपनीयता, सम्बन्ध तथा निर्णयमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। धैर्य, विवेक र निरन्तर प्रयासले रोकिएका काम अघि बढ्नेछन् भने सकारात्मक सोचले चुनौतीलाई अवसरमा बदल्न सहयोग पुग्नेछ। आफ्नो राशिअनुसारको भविष्यफल पढेर आजको दिनलाई अझ प्रभावकारी र सफल बनाउनुहोस्।

मेष (Aries)

चु, चे, चो, ला, लि, लु, ले, लो,

धार्मिक तथा सामाजिक कार्यमा सक्रिय हुने अवसर प्राप्त हुनेछ। निरन्तर प्रयासले दीर्घकालीन योजना सफल हुने संकेत देखिएको छ। मेहनतको उचित प्रतिफल प्राप्त भई जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ। सम्मान, पुरस्कार तथा प्रतिष्ठा बढ्ने सम्भावना छ। नयाँ अवसरहरूले साथ दिने भएकाले आत्मविश्वासका साथ अघि बढ्नु लाभदायी हुनेछ।

वृष (Taurus)

, , , , वा, वि, वु, वे, वो

परिस्थितिले केही चुनौती सिर्जना गर्न सक्ने भएकाले धैर्यका साथ निर्णय लिनु उपयुक्त हुनेछ। अरूको भर पर्दा काममा ढिलाइ हुन सक्छ भने अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ। आर्थिक कारोबार तथा धनसम्पत्तिको सुरक्षामा विशेष ध्यान दिनु आवश्यक छ। बुद्धिमानीपूर्वक अघि बढेमा समस्या समाधान हुने र रोकिएको रकम प्राप्त हुने सम्भावना बलियो छ।

मिथुन (Gemini)

का, कि, कु, , , , के, को, हा

अनुकूल परिस्थितिका कारण लक्ष्य प्राप्त गर्न सहज हुनेछ। अध्ययन, लेखन तथा सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय प्रगति हुने संकेत छ। परिवारको साथ र आत्मीय भेटघाटले दिन उत्साहपूर्ण बन्नेछ। सेवामूलक कार्य तथा राम्रो व्यवहारका कारण सम्मान, प्रतिष्ठा र आर्थिक लाभ प्राप्त हुने सम्भावना देखिएको छ।

कर्कट (Cancer)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिस्पर्धी वातावरण भए पनि आफ्नो क्षमता र बुद्धिको प्रयोगले सफलता प्राप्त गर्न सकिनेछ। रोकिएका काम अघि बढ्नेछन् र नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। शत्रु वा विरोधीहरूको प्रभाव कमजोर बन्नेछ भने पुराना मतभेद समेत समाधान हुने सम्भावना छ। केही खर्च बढे पनि दीर्घकालीन लाभ हुने काम सम्पन्न हुने संकेत देखिन्छ।

सिंह (Leo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आत्मविश्वास र साहसले महत्त्वपूर्ण लक्ष्य हासिल गर्न सहयोग गर्नेछ। अध्ययन, बौद्धिक कार्य तथा प्रतिष्ठित जिम्मेवारीमा सफलता मिल्नेछ। परिवार तथा सन्तानको साथले मनोबल बढ्नेछ। दीर्घकालीन लाभ हुने काम अघि बढ्ने भए पनि आफ्ना योजना र गोपनीय विषय सुरक्षित राख्नु उपयुक्त हुनेछ। हल्ला वा अफवाहको पछि लाग्दा अनावश्यक समस्या आउन सक्छ।

कन्या (Virgo)

टो, पा, पि, पु, , , , पे, पो

पुराना योजना वा सम्झौतामा परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ। धैर्यपूर्वक अघि बढेमा दीर्घकालीन लाभ प्राप्त हुनेछ। अनुभवी व्यक्तिको सुझाव उपयोगी बन्नेछ भने कृषि तथा पशुपालनबाट पनि फाइदा हुने सम्भावना छ। विगतका कमजोरी सुधार्दै शुभचिन्तकहरूको साथमा अघि बढे सफलता क्रमशः बढ्नेछ।

तुला (Libra)

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

सेवामूलक तथा पेशागत कार्यबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको नतिजाले उत्साह थप्नेछ। व्यापार, उद्योग तथा नयाँ योजनामा प्रगतिको संकेत देखिएको छ। आफन्त र साथीभाइको साथले आत्मविश्वास बढ्नेछ। निरन्तर मेहनतले जटिल देखिएका काम समेत सफलतापूर्वक सम्पन्न हुनेछन्।

बृश्चिक (Scorpio)

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आम्दानीका नयाँ स्रोत खुल्ने र दीर्घकालीन लाभ हुने काममा सम्झौता गर्ने अवसर प्राप्त हुनेछ। अध्ययन, ज्ञान तथा आर्थिक पक्षमा सकारात्मक प्रगति देखिन्छ। सम्मान प्राप्त हुने सम्भावना रहे पनि आफ्नो उपलब्धिको श्रेय अरूले लिन खोज्न सक्छन्। आलोचनालाई धैर्यपूर्वक सामना गर्दै आफ्ना काममा केन्द्रित रहनु लाभदायी हुनेछ।

धनु (Sagittarius)

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आत्मविश्वास र इच्छाशक्ति बढ्ने भएकाले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अवसर प्राप्त हुनेछ। पारिवारिक भेटघाट, स्वादिष्ट भोजन तथा रमाइलो वातावरणले दिन सुखद बन्नेछ। नयाँ सोच र रचनात्मक कार्यमा सफलता मिल्ने संकेत देखिएको छ। प्रतिष्ठा, सम्मान र सामाजिक समर्थन बढ्नेछ भने प्रेम तथा मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ।

मकर (Capricorn)

भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो, गा, गि

दीर्घकालीन योजनाका लागि आर्थिक व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ। आकस्मिक खर्च बढ्न सक्ने भएकाले बजेट सन्तुलित राख्नु उपयुक्त हुनेछ। केही निर्णय बाध्यतावश लिनुपर्ने अवस्था आउन सक्छ। अध्ययन तथा पारिवारिक जिम्मेवारीमा समय अभाव हुन सक्छ। तत्काल ठूलो लाभ नदेखिए पनि धैर्यका साथ अघि बढे भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ।

कुम्भ (Aquarius)

गु, गे, गो, सा, सि, सु, से, सो,

मेहनतको उत्कृष्ट प्रतिफल प्राप्त हुने दिन रहेको छ। आम्दानीका नयाँ स्रोत खुल्नेछन् भने व्यापार तथा साझेदारीबाट राम्रो लाभ मिल्ने सम्भावना देखिन्छ। थोरै लगानीबाट पनि सन्तोषजनक नाफा कमाउन सकिनेछ। नयाँ योजना सुरु गर्न अनुकूल समय रहेको छ। रोकिएको रकम प्राप्त हुने र भविष्यका लागि लगानी गर्ने अवसर समेत मिल्नेछ।

मीन (Pisces)

दि, दु, , , , दे, दो, चा, चि

सामाजिक तथा प्रतिष्ठित कार्यमा सक्रियता बढ्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुने र आफ्नो क्षेत्रमा नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ। चुनौतीका बीच पनि नयाँ कामको बलियो आधार तयार गर्न सकिनेछ। परिश्रमको उचित प्रतिफल प्राप्त हुने संकेत छ। भूमि, कृषि तथा पशुधनसँग सम्बन्धित कार्यबाट पनि लाभ मिल्ने सम्भावना देखिन्छ।

Read More

प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन र असिम शाहलाई मन्त्रीसरहको सेवा सुविधा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको सचिवालयमा हाल २७ जना नियुक्त रहेको जानकारी सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीका चार जना सल्लाहकारले मन्त्री तथा राज्यमन्त्रीसरहको सेवा–सुविधा पाउने भएका छन्। तर, सचिवालय सञ्चालनमा राज्यकोषबाट मासिक कति खर्च भइरहेको छ भन्ने विवरण भने कार्यालयले खुलाएको छैन।

यो विवरण प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले प्रतिनिधिसभा नियमावलीअनुसार सोधेको लिखित प्रश्नको जवाफमा सार्वजनिक गरिएको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्रीसरहको सेवा–सुविधा दिइएको छ। त्यस्तै नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्रीसरहको सुविधा पाउने व्यवस्था गरिएको छ।

सचिवालयमा एक जना अवैतनिक स्वास्थ्य सल्लाहकारसमेत नियुक्त छन्। विद्यमान व्यवस्थाअनुसार प्रधानमन्त्रीको सचिवालयमा अधिकतम ४८ जनासम्म राख्न सकिने कानुनी व्यवस्था छ।

सांसद थपलियाले सचिवालयमा कुन कानुनका आधारमा नियुक्ति गरिएको हो, नियुक्त व्यक्तिहरूले कस्तो सेवा–सुविधा पाउँछन्, सरकारी सवारी प्रयोग गर्छन् वा गर्दैनन्, सचिवालयले कति सवारी साधन प्रयोग गरिरहेको छ र सञ्चालनमा मासिक कति खर्च भइरहेको छ भन्ने विषयमा विस्तृत जानकारी मागेकी थिइन्।

प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाले दिएको जवाफमा मन्त्रीसरह र राज्यमन्त्रीसरहका सल्लाहकारको नियुक्ति ‘प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४’ बमोजिम गरिएको उल्लेख गरिएको छ। सम्बन्धित सल्लाहकार तथा कर्मचारीले नेपाल सरकारको सोही श्रेणीसरह कानुनअनुसार सेवा–सुविधा पाउने व्यवस्था रहेको पनि जवाफमा उल्लेख छ।

कार्यालयले मन्त्रीसरह र राज्यमन्त्रीसरहका सल्लाहकारलाई सरकारी सवारीसाधन र चालक सुविधा उपलब्ध गराइने जानकारी दिएको छ। तर सचिवालयले प्रयोग गर्ने सवारीको संख्या, टेलिफोन, इन्धन, खाजा तथा अन्य प्रशासनिक खर्च, साथै सचिवालय सञ्चालनबाट राज्यकोषमा पर्ने वास्तविक आर्थिक भारबारे कुनै स्पष्ट विवरण भने उपलब्ध गराइएको छैन।

सांसद थपलियाले आफूले मागेको जानकारी पूर्ण रूपमा नदिइएको भन्दै प्राप्त जवाफ चित्तबुझ्दो नभएको प्रतिक्रिया दिएकी छन्। आवश्यक परे यही विषयमा पुनः प्रश्न दर्ता गर्ने उनले संकेत गरेकी छन्।

सरकारको विद्यमान व्यवस्थाअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, पूर्वाधार विकास तथा कृषि, वन तथा वातावरण मन्त्रालयका मन्त्रीहरूले विशिष्ट श्रेणीसरहका एक जना वैतनिकसहित बढीमा पाँच जनासम्म सल्लाहकार नियुक्त गर्न पाउँछन्। अन्य मन्त्रालयका मन्त्रीहरूले भने विशिष्ट श्रेणीसरहका एक जना वैतनिकसहित बढीमा तीन जनासम्म सल्लाहकार राख्न सक्ने व्यवस्था छ।

सल्लाहकारबाहेक मन्त्रीहरूको स्वकीय सचिवालयमा नौ जनासम्मको दरबन्दी रहने कानुनी प्रावधान छ।

Read More

बाजुरामा बाढीपहिरोको क्षति, १६ घरपरिवार प्रभावित

काठमाडौं। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–९ सेलागाडमा १६ घरपरिवार प्रभावित भएका छन्।

बिहीबार रातिदेखि परेको निरन्तर वर्षापछि शुक्रबार बिहान करिब साढे ४ बजे बस्तीमाथिबाट आएको पहिरो र लेदोसहितको पानी घरभित्र पसेपछि स्थानीयका घरमा क्षति पुगेको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीले प्रभावित परिवारका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री सुरक्षित स्थानमा सारेका छन्।

बाढीपहिरोका कारण त्रसित भएर बेहोस भएकी बडीमालिका नगरपालिका–९ की ३० वर्षीया महिलालाई सुरक्षाकर्मीले उद्धार गरी जिल्ला अस्पताल मार्तडीमा उपचारका लागि पठाएका छन्।

प्रहरीका अनुसार प्रभावितमध्ये तीनवटा घर उच्च जोखिममा छन् भने अन्य १३ वटा घर जोखिममा रहेका छन्। घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन।

बाढीपहिरोले सेलागाड क्षेत्रको खेतीयोग्य जमिनमा समेत ठूलो क्षति पुर्‍याएको छ। यस्तै, बडीमालिका–८ राप्कास्थित टोट्के सिँचाइ नहरको २३० मिटर प्लास्टिक पाइप र २५ मिटर पक्की नहर बगाएको छ।

यसैबीच, वर्षाका कारण साँफे–मार्तडी सडकखण्डअन्तर्गत मार्तडीस्थित जिल्ला कारागारदेखि जडाङ्गासम्म विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सडक बन्द हुँदा यात्रु र सवारीसाधन बाटोमै रोकिएका छन्।

सडक डिभिजन कार्यालय साँफेबगरको डोजर प्रयोग गरी पहिरो हटाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्लाका अन्य क्षेत्रमा समेत वर्षाका कारण क्षति भएको हुन सक्ने भन्दै प्रहरी र स्थानीय तहसँग समन्वय भइरहेको छ।

Read More

निर्यात प्रवर्द्धनका विषयमा प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकका प्रमुख निर्यातमुखी उद्योग व्यवसायका प्रतिनिधिसँग आज छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा प्लाइउड, कार्पेट, पश्मिना, डग च्यु लगायतका निर्यातजन्य उद्योगसँग आबद्ध प्रतिनिधिहरू सहभागी हुनेछन्।

छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, निर्यातकर्ता देवानन्द सरावगी र नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्री शाहले निर्यात क्षेत्रका चुनौती, नीतिगत सुधार तथा उद्योग व्यवसाय विस्तारका सम्भावित उपायबारे निजी क्षेत्रका प्रतिनिधिसँग सुझाव लिने जनाइएको छ।

पछिल्लो समय प्रधानमन्त्री शाहले अर्थतन्त्र सुधार र निजी क्षेत्र प्रवर्द्धनका विषयमा उद्योगी व्यवसायी तथा सरोकारवाला निकायसँग नियमित छलफल गर्दै आएका छन्।

Read More

महान्यायाधिवक्ता परिवर्तनको तयारीमा सरकार, कडेलको स्थानमा दीपेन्द्र झाको नाम चर्चामा

काठमाडौं । सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता नारायण दत्त कडेललाई हटाएर नयाँ महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी भइरहेको दाबी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकारहरूको भनाइ उद्धृत गर्दै कडेलको कार्यसम्पादन र नियुक्तिसम्बन्धी विवादका कारण परिवर्तनको तयारी भएको जनाइएको छ।

कडेलको नियुक्ति, योग्यता र बेलायतको स्थायी बसोबास अनुमति (पीआर) सम्बन्धी विषयमा सर्वोच्च अदालतमा रिट विचाराधीन छ। अदालतले यस विषयमा नेपाल र बेलायतबीचको आवतजावत तथा बसाइसम्बन्धी विवरण उपलब्ध गराउन अध्यागमन विभागसँग कागजात माग गरेको छ।

रिटमा कडेलको योग्यता र पीआरसम्बन्धी दाबीमाथि प्रश्न उठाइएको छ। निवेदक पक्षले अदालतमा पेस गरेका कागजातमा कडेलले बेलायत यात्राका क्रममा ‘भिजिट पर्पोज’ मा पीआर उल्लेख गरेको दाबी गरिएको छ। अदालतको आदेशपछि सम्बन्धित विवरण मगाउने प्रक्रिया अघि बढाइएको छ।

यसैबीच, सरकारले अधिवक्ता दीपेन्द्र झालाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी गरेको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ। झा यसअघि मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता रहिसकेका छन्। उनको नियुक्ति पनि विगतमा विवादमा परेको थियो, तर उनले पदबाट राजीनामा दिएपछि सर्वोच्च अदालतले त्यससम्बन्धी रिटको औचित्य समाप्त भएको भन्दै खारेज गरेको थियो।

झाको योग्यता १० साउनपछि पूरा हुने दाबी

महान्यायाधिवक्ता बन्न कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्ने संवैधानिक व्यवस्था छ। समाचारमा उल्लेख भएअनुसार झाले १० साउन २०६८ मा अधिवक्ताको प्रमाणपत्र लिएका कारण १५ वर्षे अवधि १० साउनपछि मात्र पूरा हुने देखिन्छ।

झा २०७४ सालमा मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए। त्यस समयमा पनि उनको योग्यतामाथि प्रश्न उठाउँदै अदालतमा रिट परेको थियो। पछि उनले राजीनामा दिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त मुद्दा औचित्यहीन भएको भन्दै टुंग्याएको थियो।

कडेलमाथि कानुनी र कार्यसम्पादनसम्बन्धी प्रश्न

महान्यायाधिवक्ता कडेल २२ चैत २०८२ मा नियुक्त भएका थिए। नियुक्तिपछि उनको योग्यता, बेलायतसँगको सम्बन्ध र सरकारवादी मुद्दामा भूमिकालाई लिएर आलोचना हुँदै आएको छ।

सरकार पक्षबाट भने महान्यायाधिवक्ताको परिवर्तनबारे औपचारिक निर्णय सार्वजनिक भएको छैन। यदि परिवर्तन भएमा नयाँ नियुक्ति र त्यसको कानुनी प्रक्रियाबारे औपचारिक जानकारी आउन बाँकी छ।

Read More

मधेसमा ७८ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न

काठमाडौं । मधेस प्रदेशमा यस वर्ष धान रोपाइँले तीव्रता पाएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशभर ७८ दशमलव ५९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।

निर्देशनालयका अनुसार हालसम्म तीन लाख ५८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। जिल्लागत रूपमा सिरहामा सबैभन्दा बढी ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने महोत्तरीमा सबैभन्दा कम ५५ प्रतिशत मात्र भएको छ।

पर्याप्त वर्षा भएकाले यस वर्ष किसान उत्साहित भएर रोपाइँमा सहभागी भएको निर्देशनालयले जनाएको छ। किसानहरूले उन्नत जातका धानका बिउ प्रयोग गर्नुका साथै रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनमा समेत ध्यान दिएको बागवानी विकास अधिकृत किरण विश्वकर्माले बताए।

यद्यपि, केही स्थानका किसानले सिँचाइ पूर्वाधार र मलको उपलब्धतामा समस्या रहेको गुनासो गरेका छन्।

Read More

अनलाइन सट्टेबाजी र अवैध कारोबार गर्ने २ लाखभन्दा बढी वेबसाइट तथा एप बन्द

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैध वित्तीय कारोबारमा प्रयोग भइरहेका दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द गरेको छ।

सरकारले गत चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो। उक्त कार्यसूचीको ४२औँ बुँदामा सट्टेबाजी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था उल्लेख गरिएको थियो।

सोही निर्णयअनुसार यसअघि नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी वेबसाइट बन्द गरिएको भए पनि नयाँ नाम र स्वरूपमा यस्ता वेबसाइट पुनः सञ्चालनमा आउने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यस वर्ष फिफा विश्वकपको समयमा अनलाइन बेटिङको प्रयोग बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै थप दुई लाख २३ हजार ५६८ वटा एप तथा वेबसाइट बन्द गरिएको हो। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोपछि प्राधिकरणले विशेष निगरानी बढाएको जनाएको छ।

अनलाइन सट्टेबाजी नियन्त्रणका लागि प्राधिकरणले छुट्टै कार्यदलसमेत गठन गरेको छ। कार्यदलका सदस्य तथा प्राधिकरणका सहायक निर्देशक ओमप्रकाश महतोका अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) सँगको सहकार्यमा त्यस्ता वेबसाइटका यूआरएल ब्लक गर्ने काम भइरहेको छ।

Read More

अमेरिकाले ६० देशका वस्तुमा थप्यो नयाँ भन्सार शुल्क

काठमाडौं । अमेरिकाले जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयात रोक्न पर्याप्त पहल नगरेको भन्दै करिब ६० वटा व्यापारिक साझेदार राष्ट्रका वस्तुमा नयाँ भन्सार शुल्क लागू गरेको छ।

शुक्रबारदेखि लागू भएको नयाँ शुल्क १० देखि १२.५ प्रतिशतसम्म रहेको छ। यसबाट बेलायत, चीन, युरोपेली युनियन (ईयू), क्यानडा, जापान र भारतजस्ता अमेरिकाका प्रमुख व्यापारिक साझेदार प्रभावित हुने भएका छन्।

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार नयाँ शुल्क लाग्ने मुलुकहरूले अमेरिकाको कुल आयातको करिब ९९.४ प्रतिशत हिस्सा ओगट्छन्। यसअघि विदेशी वस्तुमा लगाइएको १० प्रतिशत अस्थायी शुल्कको अवधि सकिएपछि नयाँ दर कार्यान्वयनमा ल्याइएको हो।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले ‘व्यापार ऐन १९७४’ को धारा ३०१ प्रयोग गरी शुल्क लागू गरिएको जानकारी दिएका छन्। जबरजस्ती श्रमबाट बनेका वस्तुको आयात नियन्त्रण गर्न प्रतिबद्ध मुलुकका लागि १० प्रतिशत र आवश्यक कदम नचालेका मुलुकका लागि १२.५ प्रतिशत शुल्क तोकिएको छ।

ह्वाइट हाउसले यो निर्णय मानवअधिकार संरक्षण, अमेरिकी श्रमिकको हित र निष्पक्ष प्रतिस्पर्धाका लागि आवश्यक रहेको दाबी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि चर्किएको विश्वव्यापी व्यापार तनावबीच अमेरिकाको यो पछिल्लो कदम हो।

यसअघि आपत्कालीन अधिकार प्रयोग गरी लगाइएका केही शुल्क अमेरिकी सर्वोच्च अदालतबाट कानुनी चुनौतीमा परेपछि ट्रम्प प्रशासनले नयाँ कानुनी आधार प्रयोग गर्दै व्यापार नीति अघि बढाएको हो।

तर अर्थशास्त्रीहरूले भने थपिएको भन्सार शुल्कको भार अन्ततः उपभोक्तासम्म पुग्न सक्ने चेतावनी दिएका छन्। आयातकर्ता कम्पनीहरूले अतिरिक्त लागत उपभोक्तामाथि सार्न सक्ने भएकाले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने उनीहरूको भनाइ छ।

अमेरिकाको निर्णयपछि प्रभावित मुलुक र व्यापारिक समूहहरूले कानुनी चुनौती तथा जवाफी करका विकल्पमाथि छलफल सुरु गरेका छन्।

Read More

बैंकिङ कसुर मुद्दामा व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त वाणिज्य इजलासले बिहीबार अग्रवाललाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो। आदेशपछि अग्रवाललाई ललितपुरस्थित नक्खु कारागार पठाइएको छ। अग्रवाल शंकर ग्रुपका अध्यक्ष हुन्।

अदालतले जगदम्बा स्टिल्स लिमिटेडले लिएको बैंक कर्जा दुरुपयोग भएको देखिएको भन्दै यस्तो आदेश दिएको हो। आदेशमा जगदम्बा स्टिल्सबाट जारी भएका चेकमा अग्रवालको हस्ताक्षर रहेको, उनको खातामार्फत सहअभियुक्त दीपक भट्टको खातामा रकम गएको तथा विभिन्न समयमा चेकमार्फत रकम प्राप्त गरेको विषय उल्लेख गरिएको छ।

अदालतका अनुसार एनएमबी बैंकको अगुवाइमा विभिन्न बैंकबाट सहवित्तीयकरणमार्फत जगदम्बा स्टिल्सले लिएको चालु पुँजी तथा अल्पकालीन कर्जा योजनाबद्ध रूपमा दुरुपयोग गरी भट्टको स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्समा सेयर लगानी गरिएको देखिएको छ।

अदालतले अग्रवाल र सुलभ अग्रवाल कम्पनी सञ्चालन तथा खाता व्यवस्थापनमा संलग्न व्यक्ति रहेको उल्लेख गर्दै कर्जा दुरुपयोगबारे जानकारी नभएको दाबी स्वीकार गर्न नसकिने जनाएको छ।

Read More

करदातालाई सहज बनाएर राजस्व बढाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रशासनलाई डर र दबाबको माध्यम नभई सहजीकरण र विश्वासमा आधारित बनाउन निर्देशन दिएका छन्। आन्तरिक राजस्व विभाग लाजिम्पाटमा बिहीबार कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले करदातालाई त्रसित बनाएर होइन, सेवा र सहकार्यबाट कर संकलन प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।

उनले कर तिर्नु बोझ नभई राज्यप्रतिको जिम्मेवारी हो भन्ने भावना करदातामा विकास हुने गरी काम गर्नुपर्ने बताए। करको दायरा विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले कर प्रशासनमा सुधार भएको अनुभूति आम नागरिकले पाउनुपर्नेमा जोड दिए।

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि तय गरिएको १६ खर्ब रुपैयाँको राजस्व लक्ष्य पूरा गर्न करदातालाई सहज सेवा उपलब्ध गराउनुपर्ने बताए। बजेटमा दिइएका कर छुटको प्रभावकारी कार्यान्वयन, करदाता सचेतना वृद्धि र कारोबारलाई डिजिटल प्रणालीमा लैजान विभागीय नेतृत्वले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

उनले उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने उल्लेख गर्दै कर प्रशासन सुधारका लागि जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिमा समस्या भए तत्काल जानकारी गराउन आग्रह गरे। कर्मचारीको वृत्ति विकास कार्यसम्पादनका आधारमा हुने भन्दै उनले सरुवा वा अवसरका लागि दबाब र पहुँच प्रयोग नगर्न पनि सुझाव दिए।

कार्यक्रममा अर्थमन्त्री वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग तथा मातहतका कार्यालयका कर्मचारीलाई राजस्व लक्ष्य हासिल गर्न प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका थिए। विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको संरचना, राजस्व लक्ष्य र तयारीबारे प्रस्तुति दिएका थिए।

नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न कर प्रशासन सुधारमा जोड

अर्थमन्त्री वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले आवश्यक पहल गरिरहेको बताएका छन्।

कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अवस्था सुधार गर्न सक्ने उनको भनाइ थियो। उनले कर प्रशासनबाटै सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिलाई गम्भीर रूपमा निगरानी गर्नुपर्नेमा जोड दिए।

उनले नयाँ बजेटले सरकारले अघि बढाउन खोजेको आर्थिक दिशाको आधार प्रस्तुत गरेको उल्लेख गर्दै आगामी वर्षहरूमा अर्थतन्त्रलाई थप व्यवस्थित र सक्षम बनाउने लक्ष्य रहेको बताए।

Read More