काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा हवाई टिकटको भाडा महँगिएको गुनासो बढेपछि सरकारले यात्रुलाई राहत दिने गरी नयाँ व्यवस्था गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र आन्तरिक वायुसेवा कम्पनीबीच भएको छलफलमा सरकारले स्वीकृत गरेको अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने सहमति भएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) को पहलमा क्यानले बिहीबार वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलपछि यात्रुले तिर्नुपर्ने भाडादरबारे स्पष्ट र पारदर्शी सूचना सम्बन्धित एयरलाइन्सका आधिकारिक बिक्री प्लेटफर्ममा अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने निर्णय पनि भएको छ। यसअघि २०७३ साल मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतम भाडादर निर्धारण गरिएको थियो।
चाडपर्वका बेला यात्रुमाथि थप आर्थिक भार नपरोस् र हवाई टिकटमा मनपरी मूल्यवृद्धि नहोस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको क्यानले जनाएको छ।