२०८३ श्रावण २८

हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

काठमाडौं। हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिएका छन्।

पछिल्लो समय अमेरिका बस्दै आएका शर्मा विगत सात वर्षदेखि क्यान्सर रोगसँग संघर्षरत थिए। लामो उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनको निधन भएको बताइएको छ।

टेलिफिल्म ‘चतुरेको दाउपेच’ मार्फत विशेष चर्चामा आएका शर्माले नेपाली टेलिभिजन तथा फिल्म क्षेत्रमा हास्य विधामा उल्लेखनीय योगदान दिएका थिए। उनले विभिन्न टेलिफिल्म तथा चलचित्रहरूमा अभिनय गर्नुका साथै ‘चतुरेको दाउपेच’ नामक फिल्म समेत निर्माण गरेका थिए।

Read More

ट्राफिक कारबाहीबाट ४ लाख ९४ हजार राजस्व संकलन

काठमाडौं । बितेको २४ घण्टामा उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने १ हजार ७८२ चालकलाई कारबाही गरिएको छ। यस अवधिमा कारबाहीबाट राज्यकोषमा रु ४ लाख ९४ हजार राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाही परेकामध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने ८३ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ७५ जना, सिग्नल बत्ती उल्लङ्घन गर्ने ८२ जना तथा तीव्र गतिमा सवारी चलाउने ११० जना रहेका छन्।

त्यस्तै, लेन अनुशासन पालना नगर्ने ६५, निषेधित क्षेत्रमा हर्न बजाउने ७१, सडक पेटीमा पार्किङ गर्ने ८७, एकतर्फी बाटोमा सवारी चलाउने ६८ तथा अन्य नियम उल्लङ्घन गर्ने १ हजार १४१ जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

काठमाडौं, असार ७ — नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

आइतबार जारी शुभकामना सन्देशमा थापाले रास्वपाले स्थापना भएको छोटो अवधिमै उल्लेखनीय जनसमर्थन हासिल गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो प्रभावशाली उपस्थिति स्थापित गर्न सफल भएको उल्लेख गरेका छन्। उनले सभापति रवि लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्म पार्टीले तय गरेको यात्रा प्रशंसनीय रहेको बताएका छन्।

थापाले प्रथम महाधिवेशनलाई रास्वपाका लागि विचार, नीति र संगठनात्मक दृष्टिले थप परिपक्व बन्ने ऐतिहासिक अवसरका रूपमा चित्रण गरेका छन्। उनका अनुसार महाधिवेशनले पार्टीलाई जिम्मेवार, जवाफदेही र दूरदर्शी राजनीतिक शक्तिका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

शुभकामना सन्देशमा उनले लोकतान्त्रिक मूल्य, संविधानले सुनिश्चित गरेका नागरिक अधिकार तथा लोकतान्त्रिक अभ्यासप्रति प्रतिबद्धतालाई अझ सुदृढ बनाउन महाधिवेशनले नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

साथै, थापाले रास्वपाको प्रथम महाधिवेशन सफलतापूर्वक सम्पन्न होस् भन्दै पार्टीको आगामी राजनीतिक यात्राका लागि समेत शुभकामना व्यक्त गरेका छन्।

Read More

अन्तर्राष्ट्रिय योग दिवस आज : स्वस्थ जीवनशैलीका लागि योगमा जोड

काठमाडौं । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। हरेक वर्ष जुन २१ मा मनाइने यो दिवसले योगको महत्व, स्वास्थ्य लाभ र जीवनशैली सुधारमा यसको भूमिकाबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेपछि सन् २०१५ देखि विश्वभर यसको औपचारिक रूपमा मनाउन थालिएको हो। योग दिवसको प्रस्ताव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रस्तुत गरेका थिए, जसलाई नेपालसहित १७७ देशले समर्थन गरेका थिए।

नेपालमा भने माघ १ गते राष्ट्रिय योग दिवस मनाउने परम्परा रहेको छ। सरकारले २०७२ सालमा मकर सङ्क्रान्तिको अवसर पारेर माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो। हाल नेपालमा माघ १ मा राष्ट्रिय तथा जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ।

विशेषज्ञहरूका अनुसार योग र ध्यानले शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्न, तनाव व्यवस्थापन गर्न र स्वस्थ जीवनशैली अपनाउन महत्वपूर्ण भूमिका खेल्छ। पछिल्ला वर्षहरूमा नेपालमा पनि योगप्रति आकर्षण र अभ्यास बढ्दै गएको छ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहान राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा योग अभ्यास प्रदर्शन, यसको महत्वबारे जानकारी तथा स्वस्थ जीवनका लागि योगलाई दैनिक जीवनमा अपनाउनुपर्ने विषयमा विशेष जोड दिइने जनाइएको छ।

Read More

रास्वपाको पहिलो महाधिवेशन आजदेखि : संगठन विस्तारदेखि नेतृत्व संरचनासम्म ठूला निर्णयको तयारी

काठमाडौं, असार ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोडमा प्रवेश गर्दैछ। भरतपुरको गेस्टहाउस चौरमा सुरु हुने प्रथम महाधिवेशनले पार्टीको भावी दिशा, संगठनात्मक स्वरूप र नेतृत्व संरचनाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम तय भएको छ। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाका लागि यो महाधिवेशन केवल नियमित संगठनात्मक कार्यक्रम मात्र नभई आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

रास्वपाले महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र प्रभावकारी बनाउन आवश्यक तयारी पूरा गरेको जनाएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया सम्पन्न भइसकेको छ।

महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत सबै आवश्यक पक्षमा तयारी पूरा भएको उनले जानकारी दिए। कार्यक्रमलाई सफल बनाउन पार्टीले १८ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको थियो।

विधानमा ठूलो फेरबदलको प्रस्ताव

महाधिवेशनको प्रमुख आकर्षणमध्ये एक पार्टी विधान संशोधन पनि रहनेछ। चितवनमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनमा प्रस्तुत गरिने संशोधित विधानलाई अन्तिम रूप दिएको छ।

प्रस्तावअनुसार हाल १२१ सदस्यीय रहेको केन्द्रीय समिति विस्तार भएर १५१ सदस्यीय बन्नेछ। प्रदेश सभापतिहरूलाई पदेन सदस्यको रूपमा समावेश गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

त्यसैगरी पार्टीको नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित गर्ने उद्देश्यले पदाधिकारी संरचनामा अनिवार्य महिला प्रतिनिधित्वको व्यवस्था गर्न लागिएको छ। संशोधित प्रस्ताव पारित भए उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष पदमा कम्तीमा एक महिला अनिवार्य रहनेछिन्।

प्रस्तावित विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् भने ५१ जना सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था हुनेछ।

पार्टी स्रोतका अनुसार समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै मनोनयन प्रक्रिया सञ्चालन गरिनेछ। प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य रहने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

त्यसैगरी पार्टीभित्र व्यापक राजनीतिक समायोजनको सम्भावना खुला राख्न केही प्रमुख पदाधिकारी छनोटमा सभापतिलाई विशेष भूमिका दिने विषयमा समेत छलफल भएको बताइएको छ।

रास्वपाले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, नयाँ नेतृत्व चयन र आगामी राजनीतिक कार्यदिशा तय गर्ने लक्ष्य राखेको छ।

प्रवक्ता झाका अनुसार महाधिवेशनमा नीतिगत प्रस्ताव, विधान संशोधन र समसामयिक राजनीतिक विषयमा व्यापक बहस हुनेछ। पार्टीले आगामी दिनमा जनसम्पर्क विस्तार र संगठनलाई टोलस्तरसम्म पुर्‍याउने योजनालाई समेत प्राथमिकतामा राखेको छ।

रास्वपाले भ्रातृ संगठन नबनाउने आफ्नो पुरानै अवधारणालाई निरन्तरता दिने संकेत पनि दिएको छ।

करिब चार हजार प्रतिनिधि, पाँच लाख सदस्य

महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधिको सहभागिता रहनेछ। तीमध्ये ३०० प्रतिनिधि मनोनयनमार्फत समावेश गरिएका छन्।

पार्टीका अनुसार हाल सदस्य संख्या पाँच लाख पुगेको छ। सचिवालय सदस्य हरि ढकालले ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको र चार हजार ६३ वडामा संगठनात्मक प्रक्रिया पूरा भएको जानकारी दिएका छन्।

त्यसैगरी सातमध्ये छ प्रदेश र ६४ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेको छ। मधेस प्रदेश तथा निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन्।

रास्वपाको पहिलो महाधिवेशनले संगठनात्मक पुनर्संरचना, समावेशी नेतृत्व र आगामी राजनीतिक मार्गचित्रबारे कस्तो निर्णय गर्छ भन्ने विषय अहिले राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

Read More

रातो मच्छिन्द्रनाथ जात्रा : भोटो प्रदर्शनसँगै यस वर्षको रथयात्रा सम्पन्न

काठमाडौं । वर्षा, कृषि समृद्धि तथा सहकालका प्रतीकका रूपमा श्रद्धापूर्वक पूजिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा भोटो प्रदर्शन कार्यक्रम सम्पन्न भएसँगै यस वर्षका लागि विधिवत् रूपमा सम्पन्न भएको छ।

ललितपुरमा मनाइने यो जात्रा नेपालको सबैभन्दा लामो तथा सांस्कृतिक रूपमा महत्वपूर्ण धार्मिक उत्सवमध्ये एक मानिन्छ। परम्पराअनुसार प्रत्येक वर्ष करिब दुई महिनासम्म विभिन्न स्थानको परिक्रमा गराइने यो रथयात्रा यसपटक वैशाख ८ गते पुल्चोकबाट सुरु भएको थियो।

रातो मच्छिन्द्रनाथको देवमूर्तिलाई परम्परागत रूपमा निर्माण गरिएको अग्लो रथमा विराजमान गराई पुल्चोक, गाःबहाल, मङ्गलबजार, सुनधारा, लगनखेललगायत विभिन्न क्षेत्र हुँदै जावलाखेल पुर्‍याइएको थियो। जात्राको अन्तिम चरणका रूपमा जावलाखेलमा भोटो प्रदर्शन कार्यक्रम आयोजना गरिएको हो।

परम्पराअनुसार आयोजित कार्यक्रममा राष्ट्रप्रमुख, उच्च सरकारी अधिकारी, विशिष्ट अतिथिहरू तथा हजारौँ भक्तजनको उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा परम्परागत विधिअनुसार रथको माथिल्लो भागबाट ऐतिहासिक भोटो सर्वसाधारणलाई प्रदर्शन गरिएको थियो।

भोटो प्रदर्शनको ऐतिहासिक पृष्ठभूमि

भोटो प्रदर्शनसँग सम्बन्धित किंवदन्ती नेवारी तथा नेपाली सांस्कृतिक परम्परामा विशेष महत्व राख्छ। जनविश्वासअनुसार एक किसानले प्राप्त गरेको बहुमूल्य भोटो हराएपछि त्यसको वास्तविक मालिक को हो भन्ने विवाद उत्पन्न भएको थियो। सोही घटनाको स्मरणस्वरूप प्रत्येक वर्ष सार्वजनिक रूपमा भोटो प्रदर्शन गर्ने परम्परा सुरु भएको मानिन्छ।

यस अवसरमा परम्परागत रूपमा “यो भोटो कसको हो?” भन्ने प्रश्नसमेत प्रस्तुत गरिन्छ। यद्यपि इतिहासमा अहिलेसम्म कसैले पनि उक्त भोटोमाथि आधिकारिक दाबी प्रस्तुत गर्न सकेको उल्लेख पाइँदैन।

१६ शताब्दीभन्दा पुरानो सांस्कृतिक सम्पदा

करिब १,६०० वर्ष पुरानो इतिहास बोकेको रातो मच्छिन्द्रनाथ जात्रा काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। विशेषगरी वर्षा, कृषि उत्पादन र जनकल्याणको कामना गर्दै यो जात्रा मनाउने परम्परा रहिआएको छ।

जात्रा सम्पन्न भएसँगै रातो मच्छिन्द्रनाथको देवमूर्तिलाई रथबाट निकालेर परम्परागत खटमा राखी बाजागाजासहित बुँगमती लगिएको छ। देवतालाई बुँगमती पुर्‍याएपछि यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा औपचारिक रूपमा सम्पन्न भएको मानिन्छ।

Read More

मौसम पूर्वानुमान : अधिकांश क्षेत्रमा वर्षा, तराईमा गर्मी घट्दै

काठमाडौं । पछिल्ला केही दिनयता देशका अधिकांश क्षेत्रमा मौसम बदली भई वर्षाको गतिविधि बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराईका केही क्षेत्र बाहेक देशका धेरै स्थानमा वर्षा भएको छ। वर्षासँगै तराई क्षेत्रमा समेत तापक्रम केही घटेको छ, यद्यपि केही स्थानमा अझै केही दिन गर्मीको प्रभाव कायम रहने सम्भावना रहेको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार पछिल्ला दिनमा विभिन्न क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ र यो क्रम आगामी केही दिनसम्म जारी रहने अपेक्षा गरिएको छ। केही दिनअघि ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको तापक्रम आज घटेर नेपालगञ्जमा ४० डिग्री सेल्सियसमा झरेको छ भने अन्य अधिकांश क्षेत्रमा तापक्रम यसभन्दा तल रहेको छ।

मनसुन पूर्वी नेपालमा सीमित, अन्य क्षेत्रमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव

विभागका अनुसार मनसुन नेपालको पूर्वी भूभागबाट प्रवेश गरिसकेको भए पनि हालसम्म देशभर फैलिन सकेको छैन। पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहे पनि यसको सक्रियता अझै कमजोर रहेको जनाइएको छ।

यद्यपि स्थानीय तथा पश्चिमी वायु सक्रिय रहेकाले देशका विभिन्न भागमा बदली तथा वर्षाको अवस्था सिर्जना भएको छ। यही प्रणालीको प्रभावका कारण पूर्व बाहेकका क्षेत्रमा पनि वर्षा भइरहेको विभागले जनाएको छ।

पछिल्लो २४ घण्टामा कहाँ कति वर्षा भयो?

आज राति ८:३० बजेसम्मको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा तनहुँमा मापन गरिएको छ। विभागका अनुसार तनहुँमा १३३ मिलिमिटर वर्षा भएको छ, जुन ‘धेरै भारी वर्षा’को श्रेणीमा पर्दछ।

अन्य प्रमुख वर्षा मापन विवरण यसप्रकार रहेको छः

  • तनहुँ – १३३ मिमी
  • पर्वत – ६८ मिमी
  • लमजुङ – ६० मिमी
  • खोटाङ – ५५.६ मिमी
  • कास्की – ५१ मिमी
  • मोरङ – ६३ मिमी
  • सुनसरी – ६३ मिमी

उल्लेखित जिल्लाहरूमा भारी वर्षा भएको विभागले जनाएको छ। देशका अन्य धेरै मापन केन्द्रमा भने हल्कादेखि मध्यम वर्षा रेकर्ड गरिएको छ। लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा भने उल्लेख्य वर्षा हुन सकेको छैन।

आगामी राति र भोलिको मौसम पूर्वानुमान

विभागले जारी गरेको मौसम बुलेटिनअनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भोलि (आइतबार) का लागि विभागले निम्न अवस्थाको पूर्वानुमान गरेको छः

  • कोशी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने
  • अन्य प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना
  • लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिन कायम रहने
  • बागमती र गण्डकी प्रदेशका तराई भूभागमा पनि गर्मीको प्रभाव रहने सम्भावना
  • कोशी प्रदेशका विभिन्न स्थानमा पुनः भारी वर्षाको सम्भावना

सतर्कता अपनाउन विभागको आग्रह

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई नदी, खोल्सा तथा पहिरो जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। वर्षासँगै सडक यातायात, हवाई सेवा तथा दैनिक जनजीवनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले मौसमको नियमित जानकारी लिन समेत सुझाव दिइएको छ।

Read More

२०८३ असार ७ गते (२१ जुन २०२६), आइतवार : आजको राशिफल

आज ज्येष्ठ शुक्लपक्षको सप्तमी तिथि रहेको छ। दिनको प्रारम्भ पूर्वफाल्गुनी नक्षत्रको प्रभावमा रहनेछ भने दिउँसो २:४६ बजेपछि उत्तरफाल्गुनी नक्षत्र प्रारम्भ हुनेछ। चन्द्रमा सिंह राशिमा सञ्चार गर्दै साँझ ८:४७ बजेपछि कन्या राशिमा प्रवेश गर्नेछ। दिनको अधिकांश समय आत्मविश्वास, नेतृत्व क्षमता, सिर्जनात्मक सोच तथा प्रतिष्ठासँग सम्बन्धित विषयहरू सक्रिय रहनेछन् भने साँझपछि व्यवहारिकता, व्यवस्थापन तथा योजनाबद्ध कार्यशैलीमा जोड बढ्नेछ। ग्रह–नक्षत्रको वर्तमान अवस्थाले धेरै राशिका व्यक्तिहरूलाई नयाँ अवसर, आर्थिक प्रगति तथा रोकिएका काम सम्पन्न हुने संकेत दिएको छ। केही राशिले खर्च, प्रतिस्पर्धा तथा स्वास्थ्यसम्बन्धी विषयमा सतर्कता अपनाउनुपर्ने भए पनि धैर्य, विवेक र निरन्तर प्रयासले सकारात्मक परिणाम प्राप्त गर्न सकिने दिन रहनेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

रोकिएका काम सम्पन्न हुनाले आत्मविश्वास र उत्साह दुवै बढ्नेछन्। आफ्नै प्रयास र क्षमताको बलमा अधिकार तथा प्रतिष्ठा स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काममा सफलता प्राप्त हुने सम्भावना बलियो देखिन्छ।

गुरुजनको सुझाव तथा सन्तानको सहयोग लाभदायी बन्नेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न सकिनेछ। आवश्यक स्रोत–साधन जुट्नाले दीर्घकालीन फाइदा दिने योजना प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। विरोधी तथा प्रतिस्पर्धीहरू कमजोर बन्ने संकेत छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

अवसर प्राप्त भए पनि त्यसको पूर्ण लाभ लिन केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। अपेक्षित नतिजा प्रारम्भमा सन्तोषजनक नदेखिए पनि धैर्य र निरन्तर प्रयासले सुधार ल्याउन सकिनेछ।

सहयोगीहरूको साथ प्राप्त हुनेछ तर प्रगतिप्रति ईर्ष्या गर्ने व्यक्तिहरूबाट सावधानी अपनाउनु उचित हुनेछ। अध्ययन तथा अधुरा शैक्षिक कार्य पूरा हुने सम्भावना छ। अनुभवी व्यक्तिको मार्गदर्शनले जटिल समस्या समाधान गर्न सहयोग पुर्‍याउनेछ। साँझतिर महत्त्वपूर्ण काममा सफलता प्राप्त हुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दिनभरि विभिन्न अवसर प्राप्त हुनेछन्। पेशा, व्यवसाय तथा व्यापारिक क्षेत्रमा लाभदायक परिणाम प्राप्त हुने सम्भावना छ। मेहनतअनुसार प्रतिफल प्राप्त हुने भएकाले सक्रियता कायम राख्नु लाभदायक हुनेछ।

अरूको निर्णयमा अत्यधिक निर्भर रहँदा केही अवसर गुम्न सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नु उपयुक्त हुनेछ। साँझपछि घरायसी विषय तथा पारिवारिक जिम्मेवारीले केही तनाव दिन सक्छ। भूमि, कृषि तथा पशुपालनसम्बन्धी क्षेत्रमा सामान्य लाभ प्राप्त हुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज विभिन्न उपहार, सम्मान वा सकारात्मक समाचार प्राप्त हुने सम्भावना छ। सहयोगी तथा शुभचिन्तकहरूको साथले जटिल काम सहज रूपमा सम्पन्न हुनेछन्। रोकिएका कार्यले गति लिने तथा नयाँ योजना प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ।

प्रतिस्पर्धीलाई सहजै पछि पार्न सकिनेछ। मेहनतको उचित मूल्यांकन हुने तथा सामाजिक प्रतिष्ठा बढ्ने संकेत देखिन्छ। नयाँ कामको बलियो आधार तयार गर्न सकिनेछ। साँझतिर उद्योग, व्यापार तथा व्यवसायिक क्षेत्रमा विशेष लाभ मिल्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विगतका सफलताले थप हौसला र आत्मविश्वास प्रदान गर्नेछ। आजको प्रयासले भविष्यमा दीर्घकालीन लाभ दिने योजनाको आधार तयार गर्न सकिनेछ। नयाँ अवसर तथा महत्त्वपूर्ण व्यक्तिसँग सम्पर्क विस्तार हुने सम्भावना छ।

भेटघाट तथा सामाजिक सम्बन्धले उत्साह बढाउनेछन्। आफ्नो क्षेत्रमा प्रभाव तथा नेतृत्व स्थापित गर्न सकिनेछ। मान–सम्मान प्राप्त हुने सम्भावना बलियो देखिन्छ। निरन्तर प्रयासले उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने दिन रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनु उचित हुनेछ। तत्काल अपेक्षित प्रगति नदेखिए पनि आजको प्रयासले भविष्यका लागि महत्त्वपूर्ण आधार तयार गर्नेछ।

मेहनती व्यक्तिका लागि दिन फलदायी रहनेछ। साँझतिर पारिवारिक भेटघाट तथा शुभ समाचारले खुसी बढाउनेछ। नयाँ योजना सुरु गर्ने अवसर प्राप्त हुन सक्छ। मनपर्ने वस्तु उपहारस्वरूप प्राप्त हुने तथा स्वादिष्ट भोजनको आनन्द मिल्ने सम्भावना छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

विशेष काम सम्पन्न हुनुका साथै आर्थिक लाभ प्राप्त हुनाले उत्साह बढ्नेछ। मेहनतले आम्दानीका नयाँ स्रोत पहिचान गर्न सहयोग गर्नेछ। आवश्यक भौतिक साधन जुटाउन सकिनेछ।

व्यापारमा सामान्य लाभ भए पनि अरूका लागि खर्च बढ्न सक्छ। साँझपछि आर्थिक दबाब महसुस हुन सक्ने भएकाले अनावश्यक खर्च नियन्त्रण गर्नु उचित हुनेछ। सोख तथा विलासिताका कारण खर्च बढ्न सक्छ। योजनाबद्ध रूपमा अघि बढेमा चुनौती नियन्त्रण गर्न सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ काम सुरु गर्न हतार नगरी उचित समयको प्रतीक्षा गर्नु लाभदायक हुनेछ। केही विवादास्पद जिम्मेवारी वा संवेदनशील विषयको जिम्मा लिनुपर्ने परिस्थिति आउन सक्छ।

मेहनतको प्रतिफल प्राप्त हुन केही ढिलाइ हुन सक्छ। तर धैर्यपूर्वक अघि बढ्दा लक्ष्य क्रमशः पूरा हुँदै जानेछ। साँझपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पुराना कामबाट लाभ प्राप्त हुने तथा रोकिएका रकम हात लाग्ने सम्भावना छ। कृषि तथा व्यापारिक क्षेत्रमा सकारात्मक संकेत देखिन्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आफ्नो क्षमता र प्रभावले अरूलाई प्रभावित पार्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, सम्मान तथा आर्थिक लाभका दृष्टिले दिन अनुकूल देखिन्छ। विशिष्ट व्यक्तिहरूको सहयोगले महत्त्वपूर्ण काम सहज बन्नेछन्।

सामाजिक तथा व्यावसायिक क्षेत्रमा नेतृत्वको अवसर प्राप्त हुन सक्छ। धर्म, आध्यात्मिकता तथा परोपकारी गतिविधिप्रति आकर्षण बढ्नेछ। साँझपछि आफ्नो मेहनतको फाइदा अरूले लिन खोज्न सक्ने भएकाले महत्त्वपूर्ण निर्णयमा सावधानी अपनाउनु उचित हुनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

सानातिना समस्या तथा स्वास्थ्यसम्बन्धी असहजताले दिनभरि अल्झाउन सक्छ। कमजोरी महसुस भए पनि जिम्मेवारी र कर्तव्य पूरा गर्न समय खर्चनुपर्ने देखिन्छ।

कार्यक्षेत्रमा केही हस्तक्षेप वा प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन सक्छ। अपेक्षित उपलब्धि प्राप्त गर्न समय लागे पनि निराश हुनुपर्ने अवस्था छैन। साँझपछि परिस्थिति क्रमशः सुधार हुँदै जानेछ। रोकिएका कामले गति लिने तथा सकारात्मक संकेत प्राप्त हुने सम्भावना छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रियजनसँगको भेटघाट तथा रमाइलो वातावरणले दिन सुखद् रहनेछ। मनोरञ्जन, भ्रमण तथा सामाजिक गतिविधिमा सहभागी हुने अवसर प्राप्त हुन सक्छ।

प्रेम तथा मित्रताको सम्बन्ध अझ मजबुत बन्नेछ। व्यवसायिक क्षेत्रमा आम्दानी बढ्ने संकेत देखिन्छ। साँझपछि केही काममा अनिश्चितता वा ढिलाइको अनुभव हुन सक्छ। स्वास्थ्य तथा खानपानमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आत्मविश्वास र साहसका कारण प्रतिस्पर्धी तथा विरोधीमाथि विजय प्राप्त गर्न सकिनेछ। आवश्यक स्रोत–साधन जुट्नाले दीर्घकालीन लाभ हुने कार्यमा सफलता प्राप्त हुने सम्भावना छ।

बुद्धिमत्ता र व्यवहारिक सोचले परिस्थितिलाई आफ्नो पक्षमा मोड्न सहयोग गर्नेछ। साँझपछि व्यापार तथा व्यवसायमा उल्लेखनीय प्रगति हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मित्रता तथा प्रेम सम्बन्धमा निकटता बढ्नेछ। किनमेल तथा व्यक्तिगत चाहनामा खर्च बढ्न सक्ने भएकाले आर्थिक सन्तुलन कायम राख्नु उचित हुनेछ।

Read More