२०८३ असार १०

बाँदर नियन्त्रणका लागि खोटाङ नगरपालिकाको विशेष योजना

काठमाडौं। कृषकहरूको प्रमुख समस्याका रूपमा देखिएको बाँदरको आतङ्क नियन्त्रण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विशेष कार्यक्रम अघि सारेको छ। कृषि बालीमा वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति कम गर्ने उद्देश्यले नगरपालिकाले प्रत्येक वडा तथा टोलमा ‘बाली हेरालु’ परिचालन गर्ने योजना ल्याएको हो।

१५औँ नगरसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बाँदरसहितका वन्यजन्तुबाट हुने बाली नोक्सानी न्यूनीकरणका लागि ४५ लाख रुपैयाँ छुट्याइएको छ। नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै कुल एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँको बजेट प्रस्ताव गरिएको छ।

नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार बाँदरको समस्या समाधानका लागि तत्काल राहत दिने र दीर्घकालीन समाधान खोज्ने गरी बहुआयामिक योजना तयार पारिएको छ। यसका लागि सङ्घीय सरकार तथा छिमेकी स्थानीय तहहरूसँग सहकार्य गर्ने रणनीति समेत बनाइएको छ।

कृषि उत्पादन वृद्धि र किसानको पहुँचमा सेवा पुर्‍याउने लक्ष्यसहित नगरपालिकाले ‘किसानलाई के चाहिन्छ ?’ अभियान सञ्चालन गर्ने भएको छ। यस कार्यक्रमअन्तर्गत कृषकको घरदैलोमै पुगेर प्राविधिक परामर्श, उन्नत बीउबिजन वितरण तथा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरिनेछ।

यसैबीच, खोटाङका अन्य स्थानीय तहहरू पनि आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारीमा छन्। जिल्लाका केही पालिकाले यसअघि नै आफ्नो बजेट तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् भने बाँकी पालिकाहरूले पनि कृषि, पूर्वाधार, शिक्षा र स्थानीय विकासलाई केन्द्रमा राखेर योजना ल्याउने क्रम जारी रहेको छ।

स्थानीय किसानहरू भने लामो समयदेखि बाली जोगाउन संघर्षरत रहेकाले नगरपालिकाको नयाँ पहल प्रभावकारी कार्यान्वयन भएमा कृषि उत्पादनमा सकारात्मक परिणाम देखिन सक्ने अपेक्षा गरिएको छ।

Read More

रास्वपा केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढी उम्मेदवारी, आज नामावली सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि उल्लेख्य प्रतिस्पर्धा देखिएको छ। पार्टीको ९९ सदस्यीय केन्द्रीय समितिका लागि चार सयभन्दा बढी आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन्।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मनोनयन दर्ता प्रक्रिया रातिसम्म जारी रहेकाले उम्मेदवारहरूको अन्तिम सङ्ख्या यकिन गर्ने काम भइरहेको छ। प्रारम्भिक विवरणअनुसार चार सयभन्दा बढी उम्मेदवारी परेको र उम्मेदवारहरूको प्रथम चरणको नामावली आज बिहान ९ बजे सार्वजनिक गरिने तयारी गरिएको उनले जानकारी दिए।

पार्टीको महाधिवेशनमार्फत निर्वाचित हुने ९९ जना केन्द्रीय सदस्यहरूमध्येबाट पछि पदाधिकारी चयन गरिने व्यवस्था गरिएको छ। पदाधिकारीको निर्वाचन तथा चयन प्रक्रिया भने दोस्रो चरणमा सञ्चालन हुनेछ।

निर्वाचनलाई प्रविधिमैत्री बनाउन मतदानका लागि विद्युतीय प्रणाली प्रयोग गरिने भएको छ। देशभित्र रहेका प्रतिनिधिहरूले विद्युतीय उपकरणमार्फत मतदान गर्नेछन् भने विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत आफ्नो मताधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

रास्वपाका करिब चार हजार प्रतिनिधिले मतदानमा सहभागिता जनाउने अपेक्षा गरिएको छ। ठूलो सङ्ख्यामा उम्मेदवारी परेकाले केन्द्रीय सदस्य चयनको प्रतिस्पर्धा निकै रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ।

Read More

११ महिनामा १० हजारभन्दा बढी विद्युतीय सवारी आयात, कारोबार २५ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण निरन्तर बढ्दै गएको देखिएको छ। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा मात्रै २५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी मूल्यका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठ मसान्तसम्मको अवधिमा विभिन्न क्षमताका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन्। आयात भएका सवारीसाधनहरू ५० किलोवाट क्षमतादेखि २०१ किलोवाटसम्मका रहेका छन्।

उक्त अवधिमा ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। यी सवारीसाधनको कुल मूल्य पाँच अर्ब ६५ करोड रुपैयाँ रहेको विभागले जनाएको छ।

त्यस्तै, सबैभन्दा बढी आयात ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय सवारीसाधनको भएको छ। यस श्रेणीका छ हजार ३५७ वटा सवारीसाधन नेपाल भित्रिएका छन्, जसको कुल मूल्य १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबर रहेको छ।

विद्युतीय सवारीसाधनमा बढ्दो आकर्षण, पेट्रोलियम इन्धनको विकल्प खोज्ने प्रवृत्ति तथा सरकारी प्रोत्साहनात्मक नीतिका कारण पछिल्ला वर्षहरूमा नेपालमा ईभी बजार तीव्र रूपमा विस्तार हुँदै गएको छ। यसले वातावरणमैत्री यातायात प्रणालीको विकाससँगै ऊर्जा खपतको ढाँचामा समेत सकारात्मक परिवर्तन ल्याइरहेको सरोकारवालाहरूको भनाइ छ।

Read More

२४ घण्टामा २ हजार ५५० सवारीचालक कारबाहीमा, १७ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं। काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ५५० जना सवारीचालकलाई पछिल्लो २४ घण्टाभित्र ट्राफिक प्रहरीले कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा १७ लाख २४ हजार ५०३ रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी कारबाही विभिन्न सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि गरिएको हो। मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १४२ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४० जना तथा तीव्र गतिमा सवारी चलाउने २०७ जनालाई कारबाही गरिएको छ।

त्यस्तै, लेन अनुशासन पालना नगर्ने ५६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०८ जना, तोकिएको मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १४ वटा सवारीसाधन तथा प्राविधिक अवस्था परीक्षण नगरी सडकमा सञ्चालन गरिएका ३५ वटा सवारीसाधनमाथि पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

यस बाहेक अन्य विभिन्न प्रकारका सवारी नियम उल्लङ्घन गर्ने एक हजार ७४६ जना चालकलाई समेत कानुनी दायरामा ल्याइएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि नियमित अनुगमन र कारबाही अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ। साथै सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र सुरक्षित यात्रामा सहयोग पुर्‍याउन आग्रह गरेको छ।

Read More

फिफा विश्वकप : इङ्ल्याण्ड र घानाबीच गोलरहित बराबरी

काठमाडौं। फिफा विश्वकपअन्तर्गत समूह ‘एल’ मा इङ्ल्याण्ड र घानाबीच भएको रोमाञ्चक प्रतिस्पर्धा गोलरहित बराबरीमा टुङ्गिएको छ। दुवै टोलीले खेलभर गोल गर्ने अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भएका हुन्।

समूह चरणको दोस्रो खेलमा मैदान उत्रिएका इङ्ल्याण्ड र घानाले सशक्त प्रदर्शन गरे पनि निर्धारित ९० मिनेटको खेलमा कुनै टोलीले जाली चुमाउन सकेन। परिणामस्वरूप दुवैले एक–एक अंक प्राप्त गरेका छन्।

यसअघि समूह चरणको पहिलो खेलमा इङ्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो भने घानाले पानामामाथि १–० गोलको कठिन जित निकालेको थियो। दोस्रो खेलको बराबरीसँगै दुवै टोलीले नकआउट चरणको सम्भावना बलियो बनाएका छन्।

विश्वकपअन्तर्गत गएराति सम्पन्न अर्को खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि ५–० गोलको शानदार जित दर्ता गरेको थियो। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै पोर्चुगलको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

समूह चरणका बाँकी खेलहरू अझै निर्णायक हुने भएकाले समूह ‘एल’ मा शीर्ष स्थानको प्रतिस्पर्धा थप रोचक बनेको छ।

Read More

अम्लेटमा माछाको काँडा भेटिएपछि होटललाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अम्लेटस खाना खाने क्रममा माछाको काँडा भेटिएपछि होटलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेका गृहमन्त्री गुरुङले भरतपुरस्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटलमा डबल अम्लेट अडर गरेकोमा खानेक्रममा माछाको काँडा भेटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले होटललाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो । अम्लेटसहितको खानामा माछाका काँडा भेटिएपछि प्रहरीले दुई जना कुकु (भान्छे) लाई नियन्त्रणमा लिएर सोधपुछसमेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार भरतपुर महानगरपालिका–१० स्थित उक्त होटलको खानाको गुणस्तरबारे उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको निरीक्षण टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी खाना उपलब्ध गराएको पाइएको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार उक्त कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा (२) को खण्ड (क) तथा दफा ३८ को खण्ड (ङ) विपरीत रहेको ठहर गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत) को निर्णयअनुसार होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । साथै, बरामद गरिएका खाद्य सामग्री नष्ट गर्ने निर्णयसमेत गरिएको प्रशासनले जनाएको छ ।

Read More

फिफा विश्वकप : रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको फराकिलो जित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’को दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि प्रभावशाली प्रदर्शन गर्दै ५–० गोलको फराकिलो जित दर्ता गरेको छ। अनुभवी स्टार क्रिस्टियानो रोनाल्डोको प्रेरणादायी खेलका कारण पोर्चुगलले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो।

खेलको छैटौँ मिनेटमै रोनाल्डोले कर्नरबाट आएको बललाई जाली चुमाउँदै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल थप्दै पोर्चुगलको अग्रता २–० मा पुर्‍याए। पहिलो हाफ सकिनुअघि ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को सहज अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा पनि पोर्चुगलले आफ्नो दबाब कायम राख्यो। खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवको आत्मघाती गोलबाट पोर्चुगलले चौथो गोल थप्यो। त्यसपछि ८७औँ मिनेटमा राफाएल लीओले गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरे।

यस जितसँगै पोर्चुगल चार अङ्कसहित समूह ‘के’को शीर्ष स्थानमा उक्लिएको छ। यसअघि समूह चरणको पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो। लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान भने अंकविहीन रहँदै समूहको पुछारमा छ।

प्रतियोगिताअन्तर्गत आजका अन्य खेलहरू पनि रोचक रहने अपेक्षा गरिएको छ। नेपाली समयअनुसार राति १ः४५ बजे इङ्ल्याण्ड र घानाबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि बिहान ४ः४५ बजे पानामा र क्रोएसियाबीच खेल हुनेछ भने बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गो आमनेसामने हुनेछन्।

Read More

मौसम पूर्वानुमान : आज देशका अधिकांश पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौं । देशभर मनसुनी गतिविधि क्रमशः सक्रिय बन्दै गएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ भने गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी तराई क्षेत्रमा पनि मनसुनको प्रभाव देखिएको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ।

आज बिहानदेखि कोशी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ। कोशी प्रदेशका केही स्थान र बागमती प्रदेशका एक–दुई क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेस प्रदेशमा आंशिक बदलीको अवस्था रहने सम्भावना छ भने बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि वर्षा वा उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव कायम रहने देखिएको छ। बागमती र गण्डकी प्रदेशका तराई भेगमा पनि तापक्रम बढ्न सक्ने भएकाले अत्यधिक गर्मीको अनुभव हुन सक्छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने सम्भावना छ। कोशी प्रदेशका तराई क्षेत्रमा समेत बादल लाग्ने क्रम जारी रहनेछ। मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ भने अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका एक–दुई पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। साथै कोशी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना कायमै रहनेछ।

मौसमविद्हरूले चट्याङ, वर्षा, तातो लहर तथा तापक्रम वृद्धिको प्रभाव देखिन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै मौसमसम्बन्धी अद्यावधिक सूचना तथा चेतावनी नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।

Read More

आजको राशिफल

२०८३ असार १० गते, बुधवार (२४ जुन २०२६)

ज्येष्ठ शुक्लपक्षको दशमी तिथि रहेको छ। दिनभरि चित्रा नक्षत्रको प्रभाव रहनेछ भने साँझ ४:५३ बजेपछि स्वाती नक्षत्र प्रारम्भ हुनेछ। चन्द्रमा तुला राशिमा सञ्चार गरिरहेकाले सम्बन्ध, सहकार्य, सन्तुलन, सामाजिक व्यवहार तथा निर्णय क्षमतामा विशेष प्रभाव पर्नेछ। ग्रह–नक्षत्रको वर्तमान अवस्थाले केही राशिका व्यक्तिहरूलाई व्यवसाय, अध्ययन, आम्दानी तथा प्रतिष्ठाका क्षेत्रमा उल्लेखनीय अवसर प्रदान गर्ने संकेत गरेको छ भने केही राशिले खर्च, गोपनीयता, स्वास्थ्य तथा निर्णय प्रक्रियामा अतिरिक्त सावधानी अपनाउनुपर्ने देखिन्छ। धैर्य, आत्मविश्वास र विवेकपूर्ण कदमका साथ अघि बढ्न सके चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै सकारात्मक उपलब्धि हासिल गर्न सकिने दिन रहनेछ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिन उत्साहजनक र उपलब्धिमूलक रहनेछ। प्रियजन तथा आफन्तहरूसँग सुखद भेटघाट हुने सम्भावना छ। व्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ भने यात्राको योग पनि देखिन्छ। परिश्रम र लगनशीलताले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। सामाजिक सम्मान, आतिथ्य तथा सहयोग प्राप्त हुने भएकाले आत्मविश्वास बढ्नेछ। पारिवारिक वातावरण सुखद रहने र सम्बन्धहरू अझ प्रगाढ बन्ने संकेत छन्।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

रोकिएका तथा अधुरा कार्यहरू पूरा हुने भएकाले उत्साह बढ्नेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने र विरोधीहरू कमजोर बन्ने सम्भावना छ। नयाँ योजना तथा दिगो लाभ दिने काम प्रारम्भ गर्न अनुकूल समय रहेको छ। खर्च बढे पनि साहस र आत्मविश्वासका साथ अघि बढ्दा जटिल कार्यहरू समेत सफलतापूर्वक सम्पन्न हुनेछन्। पुराना विरोधीहरूसँग सम्बन्ध सुधार हुने तथा नयाँ सहकार्यका अवसर प्राप्त हुन सक्छन्।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

प्रतीक्षित समाचार वा नतिजाले मन प्रसन्न बनाउनेछ। अध्ययन, अनुसन्धान तथा बौद्धिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल हुने संकेत देखिन्छ। गुरुजनको मार्गदर्शन तथा सन्तानको सहयोग लाभदायी बन्नेछ। भविष्यमा राम्रो प्रतिफल दिने योजनाहरू प्रारम्भ गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता प्राप्त हुने तथा नयाँ अवसरको ढोका खुल्ने सम्भावना छ। यात्रा तथा अनुभव विस्तार गर्ने अवसर पनि मिल्न सक्छ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अरूका कुरा वा हल्लाको प्रभावमा निर्णय गर्दा नोक्सानी हुन सक्छ। आर्थिक लेनदेन तथा पुराना सम्झौताका विषयमा विशेष सावधानी अपनाउनु उचित हुनेछ। परिस्थितिअनुसार समयमै निर्णय लिन नसक्दा केही अवसर गुम्न सक्ने सम्भावना छ। यद्यपि परिवार तथा विश्वासपात्र व्यक्तिहरूको सुझाव उपयोगी सावित हुनेछ। धैर्यपूर्वक अघि बढ्न सके अपेक्षित लाभ प्राप्त गर्न सकिनेछ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आत्मविश्वास र साहसका साथ अघि बढ्दा उल्लेखनीय सफलता प्राप्त हुनेछ। नयाँ कार्य प्रारम्भ गर्न तथा व्यवसाय विस्तार गर्न अनुकूल समय रहेको छ। उद्योग, व्यापार तथा आर्थिक गतिविधिमा लाभ मिल्ने संकेत छन्। प्रतिस्पर्धीहरूलाई पछि पार्दै आफ्नो प्रभाव बढाउन सकिनेछ। कृषि तथा पशुपालन क्षेत्रमा केही चुनौती देखिए पनि समग्र रूपमा आर्थिक लाभ प्राप्त हुने सम्भावना बलियो छ।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

परिश्रमको उचित मूल्यांकन हुने तथा सम्मान प्राप्त गर्ने समय रहेको छ। अध्ययन तथा बौद्धिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। बोली, विचार तथा कार्यशैलीका कारण प्रशंसा प्राप्त हुने सम्भावना छ। सहयोगीहरूको साथले कार्य सफल हुनेछ। सानो प्रयासले पनि महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। नाम, दाम र प्रतिष्ठा एकसाथ प्राप्त गर्ने अवसर मिल्न सक्छ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

लामो समयदेखि मनमा रहेका लक्ष्य तथा योजनाहरू पूरा हुने सम्भावना छ। अध्ययन तथा बौद्धिक क्षेत्रमा नयाँ उपलब्धि प्राप्त हुनेछ। व्यापार तथा व्यवसायमा लाभ मिल्ने संकेत छन्। प्रेम, मित्रता तथा पारिवारिक सम्बन्ध अझ बलियो बन्नेछन्। विगतका सफलताले आत्मविश्वास बढाउनेछ भने नयाँ अवसरले भविष्यप्रति आशावादी बनाउनेछ। स्वादिष्ट भोजन तथा रमाइलो वातावरणको आनन्द लिन सकिनेछ।

वृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने देखिन्छ। आकस्मिक खर्चले आर्थिक दबाब सिर्जना गर्न सक्ने भए पनि सहयोगी तथा शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। चुनौतीपूर्ण ठानिएका कार्यहरू पनि सामूहिक सहयोगबाट सम्पन्न हुने सम्भावना छ। सामाजिक तथा परोपकारी गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। टाढाको यात्रा वा भ्रमणसम्बन्धी योजना अघि बढ्न सक्छ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आम्दानीका स्रोत विस्तार हुने तथा दैनिक कार्यबाट लाभ प्राप्त हुने संकेत छन्। दीर्घकालीन योजना तथा लगानीका अवसर प्राप्त हुन सक्छन्। यद्यपि अपेक्षित उपलब्धि हासिल गर्न अतिरिक्त परिश्रम आवश्यक पर्नेछ। विगतका कार्यको नतिजा सन्तोषजनक नदेखिए पुनः प्रयास गर्नुपर्ने अवस्था आउन सक्छ। आफ्ना उपलब्धिमा अरूले दाबी गर्न सक्ने भएकाले कार्यको उचित व्यवस्थापन गर्नु आवश्यक हुनेछ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

पद, प्रतिष्ठा तथा जिम्मेवारी बढ्ने संकेत देखिन्छ। महत्त्वपूर्ण कार्यको आधार तयार पार्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रशंसा तथा सम्मान मिल्नेछ। पुराना साथीभाइसँग पुनः सम्पर्क हुने तथा सम्बन्ध सुदृढ बन्ने सम्भावना छ। शुभचिन्तकहरूको सहयोगले चुनौतीहरू सहज रूपमा पार गर्न सकिनेछ। नयाँ अवसर र उपलब्धिले मन प्रसन्न बनाउने दिन रहनेछ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

हराएको अवसर पुनः प्राप्त हुने तथा सामाजिक प्रतिष्ठा बढ्ने संकेत छन्। व्यवसाय तथा आर्थिक गतिविधिमा राम्रो लाभ मिल्ने सम्भावना छ। रोकिएका कामहरूमा पुनः प्रयास गर्दा सफलता प्राप्त हुनेछ। धर्म, अध्यात्म तथा सामाजिक सेवामूलक कार्यमा रुचि बढ्न सक्छ। दीर्घकालीन लाभ दिने योजना तथा भौतिक साधन जुटाउने अवसर प्राप्त हुनेछ। भविष्य निर्माणका लागि महत्त्वपूर्ण कदम चाल्न सकिने दिन रहनेछ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

गोपनीय विषय बाहिरिँदा वा परिस्थितिजन्य बाध्यताले केही समस्या निम्त्याउन सक्छ। स्वास्थ्य तथा खानपानप्रति विशेष ध्यान दिनुपर्ने समय रहेको छ। चुनौतीपूर्ण परिस्थितिमा पनि अवसर खोज्न सकिने संकेत छन्। कठिन कार्यहरूमा निरन्तर प्रयास गर्दा सकारात्मक परिणाम प्राप्त हुनेछ। आम्दानी अपेक्षाकृत कमजोर रहन सक्ने तथा अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ।

Read More