२०८३ असार १०

काठमाडौँ महानगरपालिकामा सहकारी बचत फिर्ता प्रक्रिया तीव्र, ६ हजार बचतकर्ताको निवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ बचत फिर्ताका लागि करिब ६ हजार बचतकर्ताले निवेदन दिएका छन्।

सहकारी विभागका अनुसार बचत फिर्ता माग गर्ने निवेदकहरूको संख्या हाल लगातार बढ्दै गएको छ। वैशाख १७ देखि हालसम्म विभिन्न सहकारीका बचतकर्ताहरूले आफ्नो रकम फिर्ताका लागि आवेदन दिएका हुन्।

विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार दैनिक औसत करिब ३० वटा उजुरी दर्ता भइरहेका छन्, जसमा अधिकांश साना बचतकर्ता रहेका छन्। उनीहरूले सामान्यतया १ लाखदेखि ५ लाख रुपैयाँसम्मको बचत गरेको पाइएको छ।

महानगरपालिकाले पछिल्लो समय प्राप्त उजुरीका आधारमा समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। केही दिनअघि मात्रै बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्ताको रकम फिर्ता गरिएको विभागले जनाएको छ, जसअन्तर्गत १ लाख ५० हजार रुपैयाँसम्मका बचतकर्तालाई रकम फिर्ता गरिएको हो।

विभागका अनुसार आगामी एक महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताहरूको रकम फिर्ता गर्ने योजना रहेको छ। ठूला बचतकर्ताको हकमा भने ऋण असुली प्रक्रिया अघि बढाउँदै समन्वयमार्फत बचत फिर्ता गर्ने तयारी भइरहेको छ।

सहकारी विभागले उजुरी दर्ता गर्ने, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने कार्य गर्दै आएको छ। सहमति हुन नसकेमा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गरिने विभागले जनाएको छ।

हाल काठमाडौँ महानगरपालिकामा १,९१२ सहकारी संस्था दर्ता रहेका छन्। तीमध्ये करिब ५० प्रतिशत सहकारीले मात्र नियमित वार्षिक साधारणसभा गरी प्रतिवेदन पेस गर्ने गरेको पाइएको छ। नियमित साधारणसभा नगर्ने सहकारीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया पनि अघि बढाइने महानगरले जनाएको छ।