काठमाडौं। कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारीस्थित यातायात व्यवस्था कार्यालयहरूले चालु आर्थिक वर्षको ११ महिनामा कुल ३१ करोड २३ लाख ५१ हजार ८७० रुपैयाँ राजस्व संकलन गरेका छन्।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार सो अवधिमा सबैभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय सुर्खेतले संकलन गरेको छ। सुर्खेत कार्यालयले मात्र २६ करोड ७० लाख १५ हजार ३४४ रुपैयाँ राजस्व संकलन गरेको उनले जानकारी दिए।
त्यसैगरी, रुकुम–पश्चिमको चौरजहारीस्थित यातायात व्यवस्था सेवा कार्यालयले ३ करोड ५ लाख ६३ हजार ३२१ रुपैयाँ तथा जुम्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले १ करोड ४७ लाख ७३ हजार २०५ रुपैयाँ राजस्व संकलन गरेको प्रवक्ता सुवेदीले बताए।
कर्णाली प्रदेशमा यातायात क्षेत्रलाई प्रमुख राजस्व स्रोतका रूपमा लिइँदै आएको छ, जसमा कुल राजस्वको झण्डै ८० प्रतिशत हिस्सा सवारीसाधन करबाट संकलन हुने गरेको छ।
सवारीसाधन करतर्फ मात्रै जेठ मसान्तसम्म २४ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ। सो अवधिमा सुर्खेत कार्यालयले २१ करोड ५६ लाख ९३ हजार, चौरजहारीले २ करोड ६६ लाख ५१ हजार र जुम्लाले ७३ लाख ६५ हजार रुपैयाँ सवारीसाधन कर संकलन गरेका छन्।




