२०८३ श्रावण ११

ल्हेन्दे खोलामा बाढीको जोखिम बढेपछि रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन रोकियो

काठमाडौं । ल्हेन्दे खोलामा पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरिएको छ।

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित क्षति रोक्न आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो। खोलाको बहाव र अवस्था सामान्य भएमा सोमबारदेखि पुनः उत्पादन सुरु गर्ने तयारी रहेको उनले बताए।

यसअघि गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधलगायत विभिन्न संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि मर्मत तथा पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको आयोजना फेरि जोखिममा पर्न सक्ने अनुमान गर्दै सुरुङतर्फ पानी पठाउने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन्।

रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव र अवस्थाको निरन्तर निगरानी भइरहेको छ। अवस्था सुरक्षित देखिएमा छिट्टै विद्युत् उत्पादन पुनः सुरु गरिने उनले जानकारी दिए।

Read More

कोशी अस्पतालको जग्गामा बनेका संरचना हटाउन डोजर सञ्चालन

काठमाडौं। विराटनगरस्थित कोशी अस्पतालको जग्गामा विभिन्न संघसंस्थाले निर्माण गरेका संरचना हटाउन डोजर परिचालन गरिएको छ। अस्पताल परिसर आसपास निर्माण गरिएका अवैध संरचना भत्काउने काम सोमबार बिहानदेखि सुरु गरिएको हो।

विराटनगर–७ स्थित अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंक, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाएर प्रयोग गर्दै आएका थिए।

उक्त संस्थाहरूले अस्पतालको जग्गामा सटर निर्माण गरी तेस्रो पक्षलाई व्यावसायिक प्रयोजनका लागि भाडामा दिएको जनाइएको छ। ती संरचनामा रहेका २६ वटा सटर प्रयोग हुँदै आएका थिए।

संरचना हटाउने क्रममा अस्पताल अगाडिको क्षेत्र, दक्षिण–पूर्वतर्फको अस्पताल चोक र देवकोटा चोकतर्फबाट एकैपटक डोजर सञ्चालन गरिएको छ। सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

संरचना भत्काउने कार्यको अनुगमन गर्न मोरङका प्रहरी प्रमुख कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहितको टोली घटनास्थलमा खटिएको छ।

Read More

बाढी र पहिरोका कारण चार प्रदेशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं। देशका विभिन्न क्षेत्रमा परेको अविरल वर्षा र बाढीका कारण प्रमुख राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान ६:३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएका हुन्।

कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा असार १२ गते आएको बाढीका कारण सडक प्रभावित भएको थियो। हाल उक्त सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको छ भने यात्रुको सहजताका लागि वैकल्पिक मार्गसमेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग असार २३ गतेदेखि परेको निरन्तर वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा पनि वैकल्पिक बाटोमार्फत यातायात सञ्चालन भइरहेको विवरणमा उल्लेख छ।

प्रहरीका अनुसार वर्षा जारी रहेकाले थप सडक अवरोध हुन सक्ने सम्भावना रहेको छ। यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।

Read More

बैंककको बारमा भीषण आगलागी: २७ जनाको मृत्यु, ६३ घाइते

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित एक मनोरञ्जनस्थलमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। बैंककको चातुचक जिल्लामा रहेको रोङ बियर ना लाट फ्राओ नामक बारमा सोमबार मध्यरातपछि आगलागी भएको हो।

आगलागीपछि बारको मुख्य प्रवेशद्वार आगोले अवरुद्ध हुँदा भित्र रहेका ग्राहकहरूलाई बाहिर निस्कन कठिन भएको थियो। उद्धारकर्मीहरूले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए। धेरैजसो पीडितहरू धुवाँबाट जोगिन भवनको पछाडिको भाग र शौचालयतर्फ पुगे पनि बाहिर निस्कन नसकेको अधिकारीहरूले बताएका छन्।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुलले घटनामा २७ जनाको मृत्यु भएको पुष्टि गर्दै घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन्। उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए। स्थानीय विवरणअनुसार मृतकमध्ये नौ जना पुरुष र १८ जना महिला रहेका छन् भने केही व्यक्ति अझै सम्पर्कविहीन रहेको जनाइएको छ।

प्रत्यक्षदर्शीका अनुसार आगलागी सुरु हुँदा कार्यक्रममा प्रस्तुति दिइरहेका एक संगीतकर्मीले विद्युत् सर्किट ब्रेकर नजिक समस्या देखिएको बताएका थिए। त्यसपछि केही क्षणमै विस्फोटजस्तो आवाज आएको र धुवाँ तथा आगो तीव्र रूपमा फैलिएको बताइएको छ।

बैंककका गभर्नर चात्चार्ट सित्तिपुन्तले प्रारम्भिक अनुसन्धानका आधारमा बारभित्र प्रयोग गरिएका ज्वलनशील सजावट सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको हुन सक्ने बताएका छन्। यद्यपि घटनाको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्र खुल्ने अधिकारीहरूले जनाएका छन्।

Read More

आज संघीय संसदका चार समितिको बैठक, यस्ता छन् कार्यसूची

काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका तीन र राष्ट्रियसभाको एक गरी चारवटा संसदीय समितिको बैठक आज बस्ने भएको छ। बैठकहरूमा विकास आयोजना, विधेयक, मानव अधिकार तथा मधेश प्रदेशको स्थलगत अनुगमन प्रतिवेदनलगायत विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

अर्थ समिति

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बिहान ८:३० बजे बस्नेछ। बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका प्रमुख कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको प्रगति तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र अन्य विकास आयोजनाको प्रगतिबारे छलफल गरिनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

यस समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।

छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, सम्बन्धित मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपालकुमार चौधरी सहभागी हुनेछन्।

कानुन, न्याय तथा मानव अधिकार समिति

यो समितिको बैठक पनि दिउँसो १ बजे बस्नेछ। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थाबारे निरीक्षण तथा अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति

राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:३० बजे बस्नेछ। बैठकमा मधेश प्रदेशमा गरिएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदा माथि छलफल गरिने कार्यक्रम तय गरिएको छ।

Read More

मौसम पूर्वानुमान: आज कुन प्रदेशमा कस्तो मौसम?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायु सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा हल्कादेखि भारी तथा केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई क्षेत्र नजिक अवस्थित रहेको विभागले जनाएको छ।

कोशी प्रदेश

आज दिनभर अधिकांश स्थानमा बदली रहनेछ। पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रमा वर्षा तथा हिमपात हुन सक्छ। पहाडी भू–भागका केही स्थान र तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। रातिको समयमा वर्षा थप सक्रिय भई पहाडी र तराईका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने विभागको अनुमान छ।

मधेस प्रदेश

मधेसमा आज अधिकांश स्थानमा बदली रहनेछ। धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। दिउँसो केही स्थानमा भारी वर्षा हुन सक्नेछ भने राति पनि वर्षाको क्रम जारी रहनेछ। थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

बागमती प्रदेश

बागमती प्रदेशमा आज अधिकांश स्थानमा बदली रहनेछ। पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा वर्षा तथा हिमपात हुन सक्छ। पहाडी भू–भागका केही स्थान र तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। राति वर्षा थप तीव्र भई केही स्थानमा भारीदेखि धेरै भारी तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ। पहाडी र तराईका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रमा वर्षा तथा हिमपात हुन सक्छ। दिउँसो पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ। रातिको समयमा पनि पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

लुम्बिनी प्रदेश

लुम्बिनीमा आज अधिकांश स्थानमा बदली रहनेछ। पहाडी र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्छ। रातिको समयमा पनि केही स्थानमा वर्षा जारी रहनेछ र पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

कर्णाली प्रदेश

कर्णालीमा सामान्यदेखि आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थानमा तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। रातिको समयमा पनि यस्तै मौसम रहने विभागको अनुमान छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा सामान्यतया बदली रहनेछ। पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्छ भने हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। रातिको समयमा पनि केही स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ।

विभागको चेतावनी

मनसुन सक्रिय रहेकाले विशेषगरी कोशी, बागमती, मधेस र गण्डकी प्रदेशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना छ। यसका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, बाढी, पहिरो, डुबान र भू–क्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै वर्षाका कारण कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने जनाइएको छ।

Read More

आजको राशिफल

२०८३ असार २९ गते (१३ जुलाई २०२६), साेमवार: आषाढ कृष्णपक्ष चतुर्दशी तिथि, १८ः२० बजेपछि औंसी। आर्द्रा नक्षत्र। चन्द्रराशि: मिथुन।

आज चन्द्रमा मिथुन राशिमा सञ्चार गरिरहेकाले बुद्धि, संवाद, अध्ययन, व्यापार तथा नयाँ योजना निर्माणसँग सम्बन्धित कार्यमा विशेष प्रभाव पर्ने देखिन्छ। आर्द्रा नक्षत्रको प्रभावले केही क्षेत्रमा परिवर्तन, नयाँ अवसर र चुनौती दुवैको अनुभव गराउन सक्छ। कतिपय राशिका लागि रोकिएका काम सम्पन्न हुने, आम्दानीका नयाँ स्रोत खुल्ने तथा प्रतिष्ठा बढ्ने सम्भावना छ भने केही राशिले स्वास्थ्य, खर्च, सम्बन्ध र निर्णय प्रक्रियामा संयमता अपनाउनु आवश्यक देखिन्छ। धैर्य, विवेक र समयको सदुपयोग गर्न सके आजका चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिनेछ। दिनको उत्तरार्धतिर धेरै राशिका लागि परिस्थिति क्रमशः अनुकूल बन्दै जाने संकेत पनि देखिन्छ।

♈ मेष (Aries)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज शुभ समाचार तथा उपहार प्राप्त हुने सम्भावना छ। साथीभाइ र सहकर्मीको साथले रोकिएका काम अघि बढ्नेछन्। नयाँ योजना सुरु गर्न अनुकूल समय रहेको छ। प्रतिस्पर्धामा सफलता मिल्नेछ र मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ। चुनौतीहरू सामना गर्दै भविष्यका लागि बलियो आधार तयार गर्न सकिनेछ।


♉ वृष (Taurus)

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आत्मविश्वासमा कमी आउँदा केही अवसर गुम्न सक्छन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु राम्रो हुनेछ। खर्च बढ्ने संकेत भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। विवादबाट टाढा रहनुहोस् र व्यक्तिगत जानकारी सुरक्षित राख्नुहोस्। आजको परिश्रमले आगामी दिनमा राम्रो प्रतिफल दिनेछ।


♊ मिथुन (Gemini)

का, कि, कु, घ, ङ, छ, के, को, हा

अघिल्ला सफलताले थप ऊर्जा र आत्मबल प्रदान गर्नेछ। परिवार तथा अभिभावकबाट माया र साथ प्राप्त हुनेछ। अध्ययन, व्यापार तथा नयाँ कार्यमा सकारात्मक उपलब्धि मिल्ने सम्भावना छ। स्वादिष्ट भोजन र रमाइलो भेटघाटले दिन सुखद रहनेछ।


♋ कर्कट (Cancer)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफ्नो मेहनतको श्रेय अरूले लिन खोज्न सक्छन्, त्यसैले सतर्क रहनुहोस्। नियमविपरीत कार्यमा लाग्दा खर्च मात्र बढ्न सक्छ। आवश्यक वस्तु जुटाउन केही समय लाग्ने देखिन्छ। आर्थिक दबाबका कारण ऋण लिनुपर्ने अवस्था आउन सक्छ, त्यसैले सोचविचार गरेर निर्णय लिनु उचित हुनेछ।


♌ सिंह (Leo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आम्दानीका नयाँ अवसर देखा पर्नेछन्। व्यापार तथा लगानीबाट लाभ मिल्ने सम्भावना छ। अप्रत्याशित आयले आर्थिक स्थिति सुधारिए पनि खर्च बढ्न सक्छ। केही दौडधुपपछि राम्रो अवसर प्राप्त हुनेछ। भविष्यका लागि बचत गर्न प्रयास गर्नु उपयुक्त हुनेछ।


♍ कन्या (Virgo)

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज अवसरहरूले साथ दिनेछन्। प्रभावशाली व्यक्तिसँग सम्बन्ध विस्तार हुन सक्छ। तपाईंको मेहनतले भविष्यमा प्रतिष्ठा र सम्मान दिलाउन सक्छ। व्यापार, जागिर तथा नयाँ लगानीका लागि समय अनुकूल देखिन्छ। राम्रो कार्यले सबैको प्रशंसा प्राप्त हुनेछ।


♎ तुला (Libra)

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्ने भएकाले आराम र खानपानमा ध्यान दिनुहोस्। सहयोग गर्ने व्यक्तिहरू अपेक्षाअनुसार साथ नदिन सक्छन्। व्यस्तता बढे पनि तत्काल उपलब्धि कम देखिन सक्छ। निरन्तर प्रयासले भविष्यका अवसरहरू खुल्नेछन्।


♏ वृश्चिक (Scorpio)

तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थ्यप्रति विशेष सचेत रहनुपर्ने दिन छ। कामको चाप बढ्नेछ र थकान महसुस हुन सक्छ। अपेक्षित सहयोग ढिलो मिल्न सक्छ। नयाँ योजनामा लगानी गर्दा सावधानी अपनाउनुहोस्। चुनौतीपूर्ण जिम्मेवारीले भविष्यका अवसरको ढोका खोल्न सक्छ।


♐ धनु (Sagittarius)

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

छोटो समयमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। प्रियजनसँग बिताएको समय सुखद रहनेछ। अध्ययन, लेखन, मनोरञ्जन तथा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। मित्रता र प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछन्। आर्थिक उन्नतिको सम्भावना पनि देखिन्छ।


♑ मकर (Capricorn)

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

अड्किएका काम पूरा हुने भएकाले आत्मविश्वास बढ्नेछ। आफ्नै प्रयासबाट अधिकार र सम्मान प्राप्त गर्न सकिनेछ। आर्थिक लाभका अवसर देखा पर्नेछन्। प्रतिस्पर्धामा सफलता मिल्नेछ र दीर्घकालीन फाइदा हुने काम सुरु गर्न सकिनेछ।


♒ कुम्भ (Aquarius)

गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्य र मानसिक तनावका कारण योजना अनुसार काम अघि बढ्न नसक्ने सम्भावना छ। सहयोगीहरूको साथ कमजोर हुन सक्छ। नयाँ योजना कार्यान्वयन गर्न केही कठिनाइ आउन सक्छ। अप्रिय समाचार वा मतभेदले मन अशान्त बनाउन सक्छ। समयको सही उपयोग गर्न प्रयास गर्नु आवश्यक हुनेछ।


♓ मीन (Pisces)

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

स्वार्थ मात्र हेरेको आभास हुँदा आलोचना हुन सक्छ। पुराना सम्झौता वा सहकार्यलाई समयमै नवीकरण नगर्दा लाभ गुम्ने सम्भावना छ। पारिवारिक असमझदारीले काममा असर पार्न सक्छ। अनावश्यक सम्बन्ध र हतारमा दिएको वचनबाट टाढा रहनु राम्रो हुनेछ। अरूका मामिलामा अत्यधिक चासो दिँदा अनावश्यक झन्झट पर्न सक्छ।

Read More