२०८३ श्रावण १२

आत्मदाह प्रयासपछि घाइते ज्योति चौधरीको उपचारका क्रममा मृत्यु

काठमाडौँ । आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएकी कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत शनिबार साँझ चौधरीले आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि गम्भीर घाइते भएकी थिइन् । उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए ।

अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि भेरी अस्पताल, नेपालगन्ज रिफर गरिएको थियो । तर, आफन्तले उनलाई त्यहाँ नलगेर सिधैँ काठमाडौँ लैजाने क्रममा बाटोमै आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Read More

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताद्वारा दुःख व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै नागरिकहरूलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेकी छिन् ।

मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकी छिन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक समन्वय भइरहेको उनको सचिवालयले जनाएको छ ।

संवेदनशील अवस्थामा अपुष्ट सूचना, हल्ला वा अफवाहमा विश्वास नगर्न आग्रह गर्दै मन्त्री मेहताले सामाजिक सद्भाव र आपसी भाइचारामा असर पर्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबै नागरिकलाई अनुरोध गरेकी छिन् ।

उनले सम्बन्धित निकायबाट घटनाको निष्पक्ष छानबिन हुने र यथाशीघ्र सत्यतथ्य सार्वजनिक गरिने विश्वास व्यक्त गरेकी छिन् ।

Read More

साउनको दोस्रो सोमबार पशुपतिनाथमा भक्तजनको भीड, दर्शन व्यवस्थापनका लागि विशेष तयारी

काठमाडौं। साउन महिनाको दोस्रो सोमबार देशभरका शिवालयमा श्रद्धालु भक्तजनको चहलपहल बढेको छ। बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित विभिन्न शिवालयमा दर्शन गर्ने भक्तजनको भीड लागेको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै दर्शनार्थीका लागि खुला गरिएको थियो। साउन सोमबारको अवसरमा आउने भक्तजनको सहज, सुरक्षित र व्यवस्थित दर्शन तथा विशेष पूजाका लागि आवश्यक व्यवस्थापन मिलाइएको कोषले जनाएको छ।

पहिलो सोमबारको तुलनामा दोस्रो सोमबार पशुपति क्षेत्रमा थप व्यवस्थापन गरिएको छ। दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संघसंस्थाका प्रतिनिधि परिचालन गरिएको छ।

कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले साउन सोमबार पशुपतिनाथ दर्शनका लागि आउने ठूलो संख्याका भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित वातावरणमा पूजाआराधना गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

कोषका अनुसार मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि बेलुका आरतीपछि ८ बजेसम्म खुला रहनेछन्। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ।

दर्शनार्थीको व्यवस्थापनका लागि मन्दिर प्रवेशमा चार वटा लामको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजनको उपस्थिति बढे पनि लामो समय कुर्नुपर्ने अवस्था नरहेको कोषले जनाएको छ। पशुपति क्षेत्रमा दर्शनार्थीको सुविधाका लागि प्राथमिक उपचारलगायत आवश्यक सेवाको व्यवस्था समेत गरिएको छ।

Read More

कैलालीमा आगलागीबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु, घटनाबारे अनुसन्धान हुँदै

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्किएर आगो लागेको अवस्थामा उनलाई उद्धार गरिएको थियो।

घटनापछि आफन्तले तत्काल उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।

स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं ल्याउने क्रममा धादिङ पुगेपछि बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसपछि मृतकको शव पुनः कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ। पारिवारिक, व्यक्तिगत वा अन्य सम्भावित कारणबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

एमाले नेता बास्कोटाद्वारा सत्ता गठबन्धनप्रति कटाक्ष, ‘अन्तिम भोज’सँग तुलना

काठमाडौं। नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच भएको सत्ता गठबन्धनसम्बन्धी सहमतिमाथि व्यंग्य गरेका छन्। उनले उक्त सहमतिलाई विजय मल्लको चर्चित नाटक ‘अन्तिम भोज’सँग तुलना गर्दै टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत चुनौती दिन सक्ने राजनीतिक हैसियत बनाएको दाबी गरेका छन्।

उनले सत्ता समीकरण बारम्बार बन्ने र भत्कने प्रक्रिया केही सीमित व्यक्तिहरूको निर्णयमा मात्र निर्भर रहेको टिप्पणी गरेका छन्। उनले गठबन्धन निर्माण र विघटनका विषयमा आम नेता तथा कार्यकर्ताले समेत समयमै जानकारी नपाउने अवस्था रहेको उल्लेख गरेका छन्।

बास्कोटाले आफ्नो अभिव्यक्तिमा सत्ता समीकरणलाई लिएर भइरहेको गतिविधिप्रति व्यंग्य गर्दै लेखेका छन्, “सत्ता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए। खोपी सत्ता किन बन्छन् र भत्कन्छन्? ती सभाका केही सदस्य र खास नेता बाहेक अरुले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो। हाँडी बोकेर स्वर्ग कि नर्क बतासझैँ बतासिएका छन्। विजय मल्लको अन्तिम भोज नै त यो हैन होला? अचम्म लाग्छ।”

उनको यो टिप्पणी पछिल्लो राजनीतिक समीकरण र दलहरूबीच भइरहेका सत्ता सहमतिप्रति लक्षित देखिन्छ।

Read More

वर्षापछि पहिरो र कटानले देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षाका कारण आएको पहिरो, लेदो तथा नदी कटानले देशका विभिन्न स्थानका प्रमुख राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले केही सडकमा पूर्ण रूपमा यातायात बन्द रहेको र केही जोखिमयुक्त सडकखण्डमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइएको छ।

त्यस्तै, मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षायाममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।

विभिन्न जिल्लामा पहिरो र नदी कटानका कारण सडक अवरुद्ध भएका छन्। इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। सो क्षेत्रमा वैकल्पिक बाटो प्रयोग गर्न सकिने बताइएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नम्बर २ कोदारी क्षेत्रमा माथिबाट पहिरो, ढुङ्गा र लेदो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोलखाको लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोशी गाउँपालिका–५ किर्नेटार क्षेत्रमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात रोकिएको छ। उक्त क्षेत्रमा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

रसुवाको पासाङ ल्हामु सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ।

मुगुको नाग्म–गमगडी सडकखण्डमा छायाँनाथ रारा नगरपालिका–७ झ्यारी खोलानजिक पहिरो खसेपछि सडक अवरुद्ध भएको छ भने रोल्पाको शहीद राजमार्गअन्तर्गत परिवर्तन गाउँपालिका–१ खोलावाङ क्षेत्रमा सुख्खा पहिरोका कारण यातायात ठप्प भएको छ।

पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा लेदो, माटो र ढुङ्गासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। म्याग्दीको बेनी–जोमसोम सडकखण्डमा रघुगंगा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर क्षेत्रमा पहिरोका कारण यातायात सञ्चालन हुन सकेको छैन।

यस्तै, काभ्रेपलाञ्चोकको बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–८ गिम्दीबेँसी र वडा नम्बर ९ पिन्थली क्षेत्रमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। ललितपुरको कान्तिलोकपथमा बागमती गाउँपालिका–३ पाङ्दुर क्षेत्रमा पहिरोका कारण सडक बन्द भएको छ भने लमजुङको बेँसीसहर–चामे–मनाङ सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौर क्षेत्रमा पहिरो खस्दा यातायात प्रभावित भएको छ।

प्रहरीले वर्षाका कारण अझै पनि पहिरो र बाढीको जोखिम कायम रहेकाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न आग्रह गरेको छ। यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन पनि प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

Read More

सुनसरीको देवानगञ्जमा दुई समुदायबीच झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु; पाँच बजार क्षेत्रमा कर्फ्यु

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले जिल्लाको दक्षिण क्षेत्रका पाँच प्रमुख बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बोलबम पर्वका अवसरमा हिन्दू धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगन्ज चोकतर्फ जाँदै गर्दा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले विरोध जनाएका थिए। यही विवाद पछि झडपमा परिणत भएको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरी निरीक्षक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक रूपमा दुवै पक्षलाई सम्झाउने प्रयास गरिए पनि अवस्था थप तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार गोली लागेर घाइते भएका देवानगञ्ज गाउँपालिका–४ का ३० वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको हो।

झडपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक राकेश राईसहित आठ जना प्रहरी घाइते भएका छन्। प्रहरी निरीक्षक राईको टाउकोमा पाँच टाँका लगाइएको छ भने अन्य घाइते प्रहरीको अवस्था सामान्य रहेको जनाइएको छ। सशस्त्र प्रहरीतर्फ पनि पाँच जना घाइते भएका छन्।

दुई समूहबीचको झडपका क्रममा कप्तानगन्ज बजारका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ।

घटनापछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म जिल्लाको दक्षिण क्षेत्रका पाँच प्रमुख बजारमा कर्फ्यु आदेश जारी गरेका छन्। कर्फ्यु अवधिभर सर्वसाधारणको आवतजावत, भेला, जुलुस तथा कुनै पनि प्रकारका सभा–सम्मेलन गर्न निषेध गरिएको प्रशासनले जनाएको छ।

Read More

आज तीन संसदीय समितिको बैठक, चिकित्सा शिक्षा ऐनदेखि वार्षिक कार्ययोजनासम्म छलफल हुने

काठमाडौं। सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आ–आफ्ना कार्यसूचीअनुसार छलफल गर्नेछन्।

अपराह्न २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयनको अवस्थाबारे समीक्षा तथा छलफल गरिने कार्यसूची रहेको छ।

यस्तै, बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनामाथि विस्तृत छलफल गरिनेछ।

बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित केन्द्रीय इतिहास विभागका पदाधिकारीसँग विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम तय गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

Read More

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै, केही दिन निःशुल्क सञ्चालन गरिने

काठमाडौं। नेपालकै पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। उद्घाटनसँगै निर्माण कम्पनीले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ भने प्रारम्भिक केही दिन परीक्षणका रूपमा निःशुल्क सञ्चालन गरिने भएको छ।

आज बिहान १०ः२५ बजे आयोजना गरिएको उद्घाटन कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तथा अन्य उच्च अधिकारी सहभागी हुनेछन्। कार्यक्रमअनुसार मन्त्री, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङमार्गभित्र सवारी चलाएर औपचारिक रूपमा यातायात सञ्चालनको शुभारम्भ गर्नेछन्।

प्रारम्भिक चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। केही दिनसम्म सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन र सञ्चालन प्रक्रियाको परीक्षण गरेपछि सबै प्रकारका अनुमति प्राप्त सवारीसाधनलाई प्रवेश खुला गरिने सडक विभागले जनाएको छ। परीक्षण अवधिभर भने कुनै पनि सवारीबाट शुल्क लिइने छैन।

कुल दुई हजार ६८८ मिटर लामो यस सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि सवारीसाधनले निर्धारित शुल्क तिर्नुपर्नेछ। सडक विभागका अनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि काठमाडौंतर्फ ११५ रुपैयाँ र बाहिरिने क्रममा ८० रुपैयाँ शुल्क तोकिएको छ। त्यसैगरी बस तथा ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारी तथा पेट्रोल, डिजेल, ग्यासजस्ता प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश अनुमति दिइने छैन।

आयोजनाअन्तर्गत एउटा मुख्य सुरुङ र अर्को उद्धार सुरुङ निर्माण गरिएको छ। मुख्य सुरुङबाट नियमित सवारी सञ्चालन हुनेछ भने आकस्मिक उद्धारका लागि छुट्टै सुरुङ प्रयोग गरिनेछ। जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको यस सुरुङमार्गमा सिसिटिभी, सञ्चार प्रणाली, दमकल सेवा, आकस्मिक उद्धार संयन्त्र, पर्याप्त अक्सिजन आपूर्ति तथा अन्य आधुनिक सुरक्षा सुविधा जडान गरिएको परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिएका छन्।

चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भएर धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलासम्म जोडिने यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको उकालो, घुमाउरो बाटो र लामो ट्राफिक जामबाट यात्रुले राहत पाउने अपेक्षा गरिएको छ। यसबाट इन्धनको बचत हुनुका साथै यात्राको समय झन्डै एक घण्टासम्म घट्ने विश्वास गरिएको छ।

करिब २१ अर्ब रुपैयाँ बराबरको जापान सरकारको सहुलियतपूर्ण ऋण र ६ अर्ब रुपैयाँ बराबरको नेपाल सरकारको लगानीमा निर्माण भएको यो आयोजना सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर कोभिड–१९ महामारी तथा अन्य प्राविधिक चुनौतीका कारण निर्माण अवधि लम्बिएको थियो। सुरुङमार्गको सञ्चालन र व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन कम्पनी छनोट भइसकेको छ भने सुरक्षा र प्राविधिक टोलीले नियमित अनुगमन तथा निरीक्षण गरिरहेका छन्। सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट विद्युतीय माध्यममार्फत शुल्क असुल गर्ने व्यवस्था पनि मिलाइएको छ।

Read More

मौसम पूर्वानुमान

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै प्रभावले देशका अधिकांश क्षेत्रमा बदली रही विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ। आज पनि अधिकांश प्रदेशमा वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

कोशी प्रदेश

हाल केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज तराईमा आंशिक तथा अन्य क्षेत्रमा साधारणतया बदली रहनेछ। तराईका थोरै स्थान र पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

मधेस प्रदेश

तराई क्षेत्रमा आंशिक बदली रहनेछ। थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

बागमती प्रदेश

हाल केही स्थानमा वर्षा भइरहेको छ। आज पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भू–भागका धेरै स्थानमा तथा तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

गण्डकी प्रदेश

हाल एक–दुई स्थानमा वर्षा भइरहेको छ। पहाडी भू–भागका धेरै स्थानमा तथा तराईका थोरै स्थानमा वर्षा हुने सम्भावना छ। पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ।

लुम्बिनी प्रदेश

पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ।

कर्णाली प्रदेश

पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेश

पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

Read More