२०८३ कार्तिक ७

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु

काठमाडौँ । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

बेदकोट नगरपालिका–७ लालपुरमा मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा बेदकोट नगरपालिका–५ का २४ वर्षीय विक्रम बमको मृत्यु भएको हो।

सोमबार मध्याह्न १२ बजे महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ६ प २२० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा बम गम्भीर घाइते भएका थिए।

घाइते बमलाई उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उपचारका क्रममा दिउँसो १२ः५५ बजे चिकित्सकले बमलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौंमा मेट्रो रेलको नयाँ योजना, २०४० सम्म रत्नपार्क–भक्तपुर सञ्चालन लक्ष्य

काठमाडौं । काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि सरकारले मेट्रो रेलसहितको नयाँ गुरुयोजना अघि सारेको छ। काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना (केभीयुटीएसएमपी) २०५० मा पहिलो प्राथमिकतामा रत्नपार्कदेखि भक्तपुरसम्म करिब १६.५ किलोमिटर रेलमार्ग निर्माण गर्ने प्रस्ताव गरिएको छ।

सरकारले गुरुयोजना र रणनीतिक वातावरणीय मूल्याङ्कन (एसईए) को मस्यौदा सार्वजनिक गर्दै ३० दिनभित्र सरोकारवालाबाट सुझाव मागेको छ। प्रस्तावअनुसार रेलमार्गको केही भाग भूमिगत र केही भाग एलिभेटेड हुनेछ।

मुख्य योजना

विषयविवरण
रेलमार्गरत्नपार्क–भक्तपुर
लम्बाइ१६.५ किलोमिटर
सञ्चालन लक्ष्यसन् २०४०
तयारी पूरा गर्ने लक्ष्यसन् २०३२
दीर्घकालीन विस्तारसन् २०५० सम्म

उपत्यकामा बढ्दो जनसंख्या, ट्राफिक चाप र सडक विस्तारको सीमित सम्भावनालाई ध्यानमा राख्दै पूर्व–पश्चिम करिडोरलाई प्राथमिकता दिइएको हो। रत्नपार्क र कोटेश्वर क्षेत्रमा भूमिगत तथा अन्य खण्डमा एलिभेटेड संरचना निर्माण गर्ने अवधारणा छ।

मेट्रोसँगै सार्वजनिक यातायातको पुनर्संरचना

गुरुयोजनाले मेट्रोसँग जोडिने फिडर बस, पार्क एन्ड राइड सुविधा तथा एकीकृत भाडा प्रणालीको प्रस्ताव गरेको छ। ठिमी, सल्लाघारी र जडीबुटीजस्ता क्षेत्रमा ट्रान्जिट–ओरिएन्टेड डेभलपमेन्टमार्फत व्यवस्थित सहरी केन्द्र विकास गर्ने योजना छ।

निर्माणका क्रममा पुरातात्विक सम्पदा, भूमिगत पानीका स्रोत तथा स्थानीय संरचनाको संरक्षणलाई प्राथमिकता दिइनेछ। प्रभावित समुदायका लागि पुनर्स्थापना तथा जीविकोपार्जनसम्बन्धी व्यवस्था गर्ने प्रस्तावसमेत छ।

गुरुयोजनाले मेट्रो सञ्चालनपछि निजी सवारीको निर्भरता घट्ने र सन् २०५० सम्म उपत्यकाको हरितगृह ग्यास उत्सर्जनमा वार्षिक १ लाख ५९ हजार २४४ टनसम्म कमी आउन सक्ने अनुमान गरेको छ। दीर्घकालमा चक्रपथ र उत्तर–दक्षिण करिडोरमा समेत मास ट्रान्जिट विस्तार गर्ने योजना राखिएको छ।

Read More

१५औँ महाधिवेशनका लागि कांग्रेसले सार्वजनिक गर्‍यो मतदाता नामावली

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमिति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका लागि ७ हजार ११४ जना मतदाताको नामावली सार्वजनिक गरेको जनाएको छ।

नेपाली कांग्रेसको विधान तथा निर्वाचन निर्देशिका, २०८३ मा तोकिएको व्यवस्थाअनुसार निर्वाचन प्रयोजनका लागि उक्त नामावली सार्वजनिक गरिएको हो। महाधिवेशन १६ देखि २२ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ।

केन्द्रीय कार्यसमिति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई लक्षित गर्दै निर्वाचन समितिले मतदाताको विवरण सार्वजनिक गरेको हो।

Read More

विद्युत् व्यापारमा निजी क्षेत्रलाई अघि बढाउने सरकारको तयारी

काठमाडौं । विद्युत् उत्पादन बढ्दै गएपछि अतिरिक्त ऊर्जा व्यवस्थापनका लागि नयाँ बजार खोज्न सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने तयारी अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारका लागि आवश्यक कानुनी, नियामकीय र संस्थागत संरचना विकासमा जोड दिएको छ।

नेपालमा उत्पादन बढेसँगै आन्तरिक खपत विस्तार गर्नुका साथै बाँकी विद्युत् क्षेत्रीय तथा अन्तरदेशीय बजारमा बिक्री गर्नुपर्ने आवश्यकता बढ्दै गएको मन्त्रालयको भनाइ छ। निजी क्षेत्रलाई बजार खोज्ने, व्यापारिक साझेदारसँग सम्झौता गर्ने तथा मूल्य र अन्य व्यावसायिक जोखिम व्यवस्थापन गर्ने अवसर दिने गरी प्रणाली विकास गर्न लागिएको हो।

एनओसी वा एलओआईलाई पूर्वतयारीको आधार बनाइने

प्रस्तावित विद्युत् व्यापार कम्पनीलाई दिइने एनओसी वा एलओआईलाई तत्काल विद्युत् व्यापार गर्ने अन्तिम अनुमतिका रूपमा प्रयोग नगरिने व्यवस्था प्रस्ताव गरिएको छ। यसले कम्पनीलाई कानुनी, वित्तीय, प्राविधिक र व्यावसायिक तयारी अघि बढाउन आधार दिनेछ।

तर यस्तो अनुमति पाएपछि निश्चित परिमाणको विद्युत् खरिद वा बिक्रीको सुनिश्चितता हुने छैन। प्रसारण क्षमता आरक्षण, ओपन एक्सेस वा अन्तरदेशीय विद्युत् व्यापारको स्वीकृति पनि स्वतः प्राप्त हुने छैन। वास्तविक व्यापारका लागि सम्बन्धित कम्पनीले प्रचलित कानुन, नियामकीय मापदण्ड र आवश्यक स्वीकृति पूरा गर्नुपर्नेछ।

विद्युत् व्यापारबाट उत्पन्न बजार, मूल्य, भुक्तानी, काउन्टरपार्टी तथा विदेशी विनिमयसम्बन्धी जोखिम पनि सम्बन्धित कम्पनीले नै व्यवस्थापन गर्नुपर्ने प्रस्ताव छ।

विद्युत् बजार सञ्चालनका लागि व्यापारिक कम्पनी मात्र पर्याप्त नहुने मन्त्रालयको निष्कर्ष छ। ओपन एक्सेस, प्रसारण क्षमता बाँडफाँट, सेडुलिङ, मिटरिङ, सेटलमेन्ट, भुक्तानी सुरक्षा र जोखिम व्यवस्थापनजस्ता विषयमा स्पष्ट व्यवस्था आवश्यक पर्नेछ।

अन्तरदेशीय व्यापारका लागि सम्बन्धित मुलुकको बजार नियम, सरकारी स्वीकृति र क्रस बोर्डर ट्रेडिङ प्रणालीसमेत पालना गर्नुपर्ने भएकाले सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक हुने मन्त्रालयले जनाएको छ।

विद्युत् नियमन आयोग ऐन, २०७४ अन्तर्गत विद्युत् व्यापारसम्बन्धी आवश्यक नियामकीय व्यवस्था विकास गर्ने काम पनि अघि बढिरहेको छ। प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका जारी भइसकेकाले त्यसको प्रभावकारी कार्यान्वयनका लागि थप प्राविधिक तथा नियामकीय व्यवस्था तयार गर्ने काम भइरहेको छ।

सरकारले नेपालको ऊर्जा क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उत्पादन, प्रसारण, आन्तरिक खपत र अन्तरदेशीय व्यापारलाई एउटै प्रणालीमा जोड्ने नीति अघि बढाउन खोजेको छ। निजी क्षेत्रको सहभागिताले बजार विस्तार र अतिरिक्त विद्युत्का लागि नयाँ व्यापारिक अवसर सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ।

Read More

संसदमा ३६ विधेयक विचाराधीन, थप १४ वटा दर्ताको तयारी

काठमाडौं ।संघीयसंसदमा ३६ वटा विधेयक विभिन्न चरणमा विचाराधीन रहेका बेला सरकारले थप १४ वटा विधेयक दर्ता गर्ने तयारी अघि बढाएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार विभिन्न मन्त्रालयबाट आएका विधेयकलाई अन्तिम रूप दिँदै संसद्मा पेस गर्ने प्रक्रिया चलिरहेको छ।

हाल विचाराधीन ३६ विधेयकमध्ये २४ वटा संसदीय समितिमा दफावार छलफलका क्रममा छन्। एउटा विधेयक राष्ट्रिय सभामा रहेको छ भने अन्य विधेयक सम्बन्धित सदनमै छलफल तथा प्रक्रियामा रहेका छन्।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार पछिल्ला दुई अधिवेशनमा १२ वटा विधेयक दुवै सदनबाट पारित भएका छन्। तीमध्ये ११ वटा राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् भने एउटा प्रमाणीकरणको प्रक्रियामा छ।

विभिन्न क्षेत्रका कानुन संशोधनलाई प्राथमिकता

सरकारले संसद्मा लैजान तयारी गरेका नयाँ विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा राष्ट्रिय सतर्कता केन्द्रसम्बन्धी ऐन संशोधनका प्रस्ताव छन्। कम्पनी ऐन संशोधनसँगै पाँचवटा विभिन्न संहिता संशोधनसम्बन्धी विधेयक पनि संसद्मा दर्ता गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक अघि बढाउने प्रक्रिया पनि जारी छ। अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन र विदेशी विनिमयसम्बन्धी विधेयक तयार गरिरहेको छ। ऊर्जा मन्त्रालयबाट नवीकरणीय ऊर्जासम्बन्धी विधेयक र जलस्रोतसम्बन्धी ऐन संशोधन विधेयक अघि बढाइएको छ।

यसैगरी पूर्वाधार न्यायाधिकरण, कृषि तथा पशु बधशालासम्बन्धी विषय समेटिएका विधेयकलाई पनि संसद्मा पेस गर्ने तयारी छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विभिन्न मन्त्रालयबाट अघि बढाइएका विधेयकको अवस्था र प्रक्रियाको नियमित अनुगमन गरिरहेको जनाएको छ। मन्त्रालयका अनुसार प्रस्तावित १४ विधेयकलाई आवश्यक प्रक्रिया पूरा गरी छिट्टै संघीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको छ।

Read More

भारतले चार आयोजनाको ९६.५० मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण गर्‍यो

काठमाडौं। भारतले नेपालका चार जलविद्युत् आयोजनाबाट उत्पादित कुल ९६.५० मेगावाट विद्युत् निर्यातका लागि यसअघि दिएको अनुमति नवीकरण गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार माथिल्लो चमेलिया, सेती नदी, माथिल्लो तादीखोला र माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्यात अनुमति नवीकरण भएको हो।

नवीकरण भएका आयोजनामा माथिल्लो चमेलियाको ३८.८ मेगावाट, सेती नदीको २४.२५ मेगावाट, माथिल्लो तादीखोलाको १०.७० मेगावाट र माथिल्लो दोर्दी ‘ए’को २४.२५ मेगावाट विद्युत् रहेको छ।

यी आयोजनाको निर्यात अनुमति फरक–फरक समयमा सकिएको थियो। माथिल्लो चमेलियाको अनुमति जुन महिनाको अन्त्यमा, सेती नदी र माथिल्लो तादीखोलाको जुलाई ३१ मा तथा माथिल्लो दोर्दी ‘ए’को अगस्टमा समाप्त भएको थियो। भारतले गत साता अनुमति नवीकरण गरेको जानकारी प्राधिकरणलाई दिएको हो।

नेपालको विद्युत् व्यापारमा निर्यात–आयात दुवै निरन्तर

वर्षायाममा जलविद्युत् उत्पादन बढ्ने भएकाले आन्तरिक खपतपछि बाँकी विद्युत् नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदयाममा भने उत्पादन घट्ने भएकाले आन्तरिक माग व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहँदै आएको छ।

यसअघि भारतको ऊर्जा मन्त्रालयले ४०० केभी ढल्केबर–मुजफ्फरपुर र १३२ केभी टनकपुर–महेन्द्रनगर प्रसारण लाइनमार्फत नेपाललाई आगामी पुससम्म ६५४ मेगावाट विद्युत् आयात गर्न अनुमति नवीकरण गरिसकेको थियो। तर, सम्बन्धित आयोजनाको निर्यात अनुमति नवीकरण हुन बाँकी थियो।

प्राधिकरणका अनुसार नेपालले अहिले भारततर्फ दैनिक औसत ६ सय मेगावाट विद्युत् निर्यात गरिरहेको छ। चार आयोजनाको अनुमति नवीकरण भएपछि वर्षायाममा उत्पादित अतिरिक्त विद्युत् भारततर्फ निर्यातलाई निरन्तरता दिन सहज हुने प्राधिकरणको भनाइ छ।

Read More

बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र

काठमाडौं । असोज दोस्रो साताको भारी वर्षापछि आएको बाढीपहिरोबाट क्षतिग्रस्त चीन–भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक पुनः सञ्चालनमा ल्याउन मर्मत तथा पुनर्निर्माणको काम तीव्र पारिएको छ। म्याग्दी खण्डका विभिन्न स्थानमा सडक कटान र पहिरोका कारण यातायात प्रभावित भएपछि सडक विभाग, निर्माण व्यवसायी, नेपाली सेना तथा स्थानीय जनशक्ति परिचालन गरेर अवरोध हटाउने काम भइरहेको छ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमावर्ती कोरला नाकासम्म जोडिने करिब २०२ किलोमिटर सडकमा बाढीपहिरोका कारण ५० भन्दा बढी स्थानमा अवरोध भएको थियो। तीमध्ये करिब १० स्थानमा कालीगण्डकी नदीले सडक कटान गरी बगाएको वा क्षति पुर्‍याएको सडक आयोजनाले जनाएको छ।

म्याग्दी खण्डमा मर्मतलाई तीव्रता

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार रघुगङ्गा गाउँपालिका–२ को कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्मको करिब १२ किलोमिटर सडकमा अहिले मर्मतको काम भइरहेको छ। आगामी सोमबारसम्म यस खण्डमा सवारीसाधन सञ्चालन गर्न सकिने गरी काम अघि बढाइएको उनले जानकारी दिए।

वर्षा रोकिएलगत्तै असोज १२ गतेदेखि कोरला नाकातर्फबाट भुरुङ–तातोपानीसम्मको सडक मर्मत सुरु गरिएको थियो। त्यसपछि मालढुङ्गाबाट बेनी, बैसरी हुँदै कुनौटासम्मको करिब २५ किलोमिटर सडकसमेत मर्मत गरी सञ्चालनयोग्य बनाइएको आयोजनाले जनाएको छ।

कुनौटोमा २५० मिटर सडक कटान

कुनौटो क्षेत्रमा कालीगण्डकीको बाढीले करिब २५० मिटर सडक कटान गरेपछि पुनःस्थापनाको काम चुनौतीपूर्ण बनेको छ। सडक भत्किएपछि उक्त क्षेत्रमा केही समय पैदल आवागमनसमेत कठिन भएको थियो।

रघुगङ्गा–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृहअगाडि पनि सडकमा क्षति पुगेको थियो। त्यहाँ मुख्य सडकको विकल्पमा नयाँ मार्ग निर्माण गरेर आवागमन खुलाइएको आयोजनाले जनाएको छ।

मर्मतका लागि आवश्यक इन्धन कटान भएको सडकखण्ड पार गरेर लैजान समस्या भएपछि नेपाली सेना र ड्रोनको सहयोग लिइएको थियो। आयोजनाका अनुसार छ पटकको ड्रोन उडानमार्फत करिब ४ सय लिटर डिजेल कुनौटोभन्दा माथिल्लो क्षेत्रमा पुर्‍याइएको थियो। यसबाट मर्मत कार्यलाई निरन्तरता दिन सहज भएको छ।

पोखरेबगर र रातोपानीमा वैकल्पिक मार्ग

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र रातोपानी क्षेत्रमा पनि सडक पुनःस्थापनाको काम अघि बढाइएको छ। रातोपानीमा दुई स्थानमा गरी करिब २५० मिटर सडक कटान भएपछि नयाँ ट्रयाक निर्माण गरिएको छ।

पोखरेबगरस्थित कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणका लागि मजदुर परिचालन गरिएको छ भने महभिर र भिरकाटे क्षेत्रमा समेत सडक खुलाउने काम भइरहेको छ।

४२ वटा उपकरणसहित जनशक्ति परिचालन

सडक मर्मतलाई गति दिन सडक विभाग र निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरिएको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए।

उनका अनुसार अवरुद्ध सडकका विभिन्न स्थानमा समानान्तर रूपमा काम भइरहेको छ। चालु साताभित्र मर्मत सम्पन्न गर्ने लक्ष्यसहित निर्माण टोली परिचालन गरिएको छ।

कोरला नाका र पर्यटनका कारण सडक सञ्चालनमा जोड

रसुवा र तातोपानी नाका बन्द रहेको अवस्थामा चीनसँगको व्यापारका लागि कोरला नाका थप महत्वपूर्ण बनेको अधिकारीहरूले बताएका छन्। यही कारण कोरला जोड्ने सडकलाई शीघ्र सञ्चालनमा ल्याउन उच्च प्राथमिकताका साथ काम भइरहेको छ।

उता, मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भइसकेको छ। दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिँदै गर्दा सडक सञ्चालनको आवश्यकता बढेको छ। पर्यटकीय सिजनसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो खुलाउन स्थानीय व्यवसायी तथा सरोकारवालाको चासो बढेको छ।

Read More

आजको राशिफल

२०८३ असोज २० गते (६ अक्टोबर २०२६), मंगलबार
आश्विन कृष्णपक्ष एकादशी तिथि, अश्लेषा नक्षत्र र कर्कट चन्द्रराशि परेको छ। आजको दिन विभिन्न राशिका जातकका लागि काम, आर्थिक पक्ष, सम्बन्ध र निर्णय क्षमतामा फरक–फरक प्रभाव देखिन सक्छ। कसैका लागि नयाँ अवसर र लाभको बाटो खुल्नेछ भने केही राशिले खर्च, स्वास्थ्य वा काममा आउने अवरोधप्रति विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। संयमित निर्णय, योजनाबद्ध प्रयास र परिस्थितिअनुसार अघि बढ्नु आज धेरैका लागि लाभदायी हुनेछ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

काम दोहोरिन सक्ने र सहकार्यमा अवरोध आउने सम्भावना छ। साझेदारी तथा बोलीको मामिलामा संयम अपनाउनुहोस्। घरायसी खर्च बढ्न सक्छ, अपरिचितसँगको व्यवहारमा पनि सतर्क रहनु उचित हुनेछ।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

सहयोग र मेहनतबाट रोकिएका काम अघि बढ्नेछन्। व्यापार–व्यवसायमा लाभको सम्भावना छ। आम्दानी राम्रो रहनेछ र प्रतिस्पर्धामा आफूलाई बलियो रूपमा प्रस्तुत गर्न सकिनेछ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

निर्णयमा ढिलाइ गर्दा अवसर गुम्न सक्छ। अध्ययन, व्यापार तथा सामाजिक क्षेत्रमा अपेक्षाअनुसार प्रगति नहुन सक्छ। आलोचनाबाट बच्न आफ्नो कमजोरी सुधारमा ध्यान दिनुहोस्।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ र महत्त्वपूर्ण काम सुरु गर्ने अवसर मिल्न सक्छ। सामाजिक भेटघाटले उत्साह बढाउनेछ। तर स्वास्थ्य, विशेषगरी खानपानमा लापरवाही नगर्नुहोस् र निर्णय गर्दा शुभचिन्तकको सुझाव लिनु राम्रो हुनेछ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कामको प्रतिफल ढिलो आउन सक्छ। अनावश्यक खर्च र अरूको भर पर्दा आर्थिक नोक्सानी हुनसक्छ। किनमेल तथा उपकरणसम्बन्धी खर्चमा नियन्त्रण राख्नुहोला।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षित परिणामले उत्साह बढाउनेछ। आम्दानीका नयाँ बाटा खुल्नुका साथै पुराना कामबाट पनि लाभ मिल्न सक्छ। कृषि, व्यापार वा सम्पत्तिसम्बन्धी कामबाट राम्रो फाइदा उठाउन सकिने दिन छ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आजको प्रयासले भविष्यमा प्रतिष्ठा बढाउन सक्छ। साथीभाइको साथले आत्मविश्वास बढ्नेछ। प्रभावशाली कामका कारण प्रशंसा र नयाँ अवसर प्राप्त हुने सम्भावना छ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

मेहनतअनुसार तुरुन्तै परिणाम नआउन सक्छ। रोकिएका काम पुनः प्रयास गर्दा अघि बढ्नेछन्। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ र धैर्य राखे भविष्यका लागि राम्रो आधार बन्न सक्छ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

सानातिना झन्झट आए पनि बुद्धिमानीपूर्वक समाधान खोज्न सकिनेछ। तत्काल लाभभन्दा दीर्घकालीन योजनामा ध्यान दिनु राम्रो। स्वास्थ्य, यात्रा खर्च र अरूमाथिको विश्वासमा विशेष सावधानी आवश्यक छ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

मनोरञ्जन र अनावश्यक गतिविधिले काममा ढिलाइ गराउन सक्छ। चुनौतीबीच पनि मेहनतले भविष्यका लागि राम्रो आधार तयार गर्नेछ। फजुल खर्च र आर्थिक लेनदेनमा सतर्क रहनुहोला।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

अघिल्लो सफलताले नयाँ कामका लागि हौसला दिनेछ। मेहनतबाट अवसर र आर्थिक लाभ प्राप्त हुन सक्छ। प्रतिस्पर्धामा सफलता मिल्ने तथा विवादमा आफ्नो पक्ष बलियो बन्ने संकेत छ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

छिटो परिणाम खोज्दा समस्या बढ्न सक्छ। समय व्यवस्थापन नमिल्दा योजना प्रभावित हुने सम्भावना छ। हल्लाको पछि नलागी आफ्नै काममा केन्द्रित हुनुहोस् र स्वास्थ्य तथा अध्ययनमा ध्यान दिनुहोला।

Read More