काठमाडौं। भारतले नेपालका चार जलविद्युत् आयोजनाबाट उत्पादित कुल ९६.५० मेगावाट विद्युत् निर्यातका लागि यसअघि दिएको अनुमति नवीकरण गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार माथिल्लो चमेलिया, सेती नदी, माथिल्लो तादीखोला र माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्यात अनुमति नवीकरण भएको हो।
नवीकरण भएका आयोजनामा माथिल्लो चमेलियाको ३८.८ मेगावाट, सेती नदीको २४.२५ मेगावाट, माथिल्लो तादीखोलाको १०.७० मेगावाट र माथिल्लो दोर्दी ‘ए’को २४.२५ मेगावाट विद्युत् रहेको छ।
यी आयोजनाको निर्यात अनुमति फरक–फरक समयमा सकिएको थियो। माथिल्लो चमेलियाको अनुमति जुन महिनाको अन्त्यमा, सेती नदी र माथिल्लो तादीखोलाको जुलाई ३१ मा तथा माथिल्लो दोर्दी ‘ए’को अगस्टमा समाप्त भएको थियो। भारतले गत साता अनुमति नवीकरण गरेको जानकारी प्राधिकरणलाई दिएको हो।
नेपालको विद्युत् व्यापारमा निर्यात–आयात दुवै निरन्तर
वर्षायाममा जलविद्युत् उत्पादन बढ्ने भएकाले आन्तरिक खपतपछि बाँकी विद्युत् नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदयाममा भने उत्पादन घट्ने भएकाले आन्तरिक माग व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहँदै आएको छ।
यसअघि भारतको ऊर्जा मन्त्रालयले ४०० केभी ढल्केबर–मुजफ्फरपुर र १३२ केभी टनकपुर–महेन्द्रनगर प्रसारण लाइनमार्फत नेपाललाई आगामी पुससम्म ६५४ मेगावाट विद्युत् आयात गर्न अनुमति नवीकरण गरिसकेको थियो। तर, सम्बन्धित आयोजनाको निर्यात अनुमति नवीकरण हुन बाँकी थियो।
प्राधिकरणका अनुसार नेपालले अहिले भारततर्फ दैनिक औसत ६ सय मेगावाट विद्युत् निर्यात गरिरहेको छ। चार आयोजनाको अनुमति नवीकरण भएपछि वर्षायाममा उत्पादित अतिरिक्त विद्युत् भारततर्फ निर्यातलाई निरन्तरता दिन सहज हुने प्राधिकरणको भनाइ छ।




