२०८३ कार्तिक ७

बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र

काठमाडौं । असोज दोस्रो साताको भारी वर्षापछि आएको बाढीपहिरोबाट क्षतिग्रस्त चीन–भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक पुनः सञ्चालनमा ल्याउन मर्मत तथा पुनर्निर्माणको काम तीव्र पारिएको छ। म्याग्दी खण्डका विभिन्न स्थानमा सडक कटान र पहिरोका कारण यातायात प्रभावित भएपछि सडक विभाग, निर्माण व्यवसायी, नेपाली सेना तथा स्थानीय जनशक्ति परिचालन गरेर अवरोध हटाउने काम भइरहेको छ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमावर्ती कोरला नाकासम्म जोडिने करिब २०२ किलोमिटर सडकमा बाढीपहिरोका कारण ५० भन्दा बढी स्थानमा अवरोध भएको थियो। तीमध्ये करिब १० स्थानमा कालीगण्डकी नदीले सडक कटान गरी बगाएको वा क्षति पुर्‍याएको सडक आयोजनाले जनाएको छ।

म्याग्दी खण्डमा मर्मतलाई तीव्रता

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार रघुगङ्गा गाउँपालिका–२ को कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्मको करिब १२ किलोमिटर सडकमा अहिले मर्मतको काम भइरहेको छ। आगामी सोमबारसम्म यस खण्डमा सवारीसाधन सञ्चालन गर्न सकिने गरी काम अघि बढाइएको उनले जानकारी दिए।

वर्षा रोकिएलगत्तै असोज १२ गतेदेखि कोरला नाकातर्फबाट भुरुङ–तातोपानीसम्मको सडक मर्मत सुरु गरिएको थियो। त्यसपछि मालढुङ्गाबाट बेनी, बैसरी हुँदै कुनौटासम्मको करिब २५ किलोमिटर सडकसमेत मर्मत गरी सञ्चालनयोग्य बनाइएको आयोजनाले जनाएको छ।

कुनौटोमा २५० मिटर सडक कटान

कुनौटो क्षेत्रमा कालीगण्डकीको बाढीले करिब २५० मिटर सडक कटान गरेपछि पुनःस्थापनाको काम चुनौतीपूर्ण बनेको छ। सडक भत्किएपछि उक्त क्षेत्रमा केही समय पैदल आवागमनसमेत कठिन भएको थियो।

रघुगङ्गा–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृहअगाडि पनि सडकमा क्षति पुगेको थियो। त्यहाँ मुख्य सडकको विकल्पमा नयाँ मार्ग निर्माण गरेर आवागमन खुलाइएको आयोजनाले जनाएको छ।

मर्मतका लागि आवश्यक इन्धन कटान भएको सडकखण्ड पार गरेर लैजान समस्या भएपछि नेपाली सेना र ड्रोनको सहयोग लिइएको थियो। आयोजनाका अनुसार छ पटकको ड्रोन उडानमार्फत करिब ४ सय लिटर डिजेल कुनौटोभन्दा माथिल्लो क्षेत्रमा पुर्‍याइएको थियो। यसबाट मर्मत कार्यलाई निरन्तरता दिन सहज भएको छ।

पोखरेबगर र रातोपानीमा वैकल्पिक मार्ग

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र रातोपानी क्षेत्रमा पनि सडक पुनःस्थापनाको काम अघि बढाइएको छ। रातोपानीमा दुई स्थानमा गरी करिब २५० मिटर सडक कटान भएपछि नयाँ ट्रयाक निर्माण गरिएको छ।

पोखरेबगरस्थित कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणका लागि मजदुर परिचालन गरिएको छ भने महभिर र भिरकाटे क्षेत्रमा समेत सडक खुलाउने काम भइरहेको छ।

४२ वटा उपकरणसहित जनशक्ति परिचालन

सडक मर्मतलाई गति दिन सडक विभाग र निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरिएको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए।

उनका अनुसार अवरुद्ध सडकका विभिन्न स्थानमा समानान्तर रूपमा काम भइरहेको छ। चालु साताभित्र मर्मत सम्पन्न गर्ने लक्ष्यसहित निर्माण टोली परिचालन गरिएको छ।

कोरला नाका र पर्यटनका कारण सडक सञ्चालनमा जोड

रसुवा र तातोपानी नाका बन्द रहेको अवस्थामा चीनसँगको व्यापारका लागि कोरला नाका थप महत्वपूर्ण बनेको अधिकारीहरूले बताएका छन्। यही कारण कोरला जोड्ने सडकलाई शीघ्र सञ्चालनमा ल्याउन उच्च प्राथमिकताका साथ काम भइरहेको छ।

उता, मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भइसकेको छ। दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिँदै गर्दा सडक सञ्चालनको आवश्यकता बढेको छ। पर्यटकीय सिजनसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो खुलाउन स्थानीय व्यवसायी तथा सरोकारवालाको चासो बढेको छ।