काठमाडौं। काठमाडौँ उपत्यकामा नदी किनार र सरकारी जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने विषयले त्रास फैलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई ढुक्क रहन आग्रह गरेका छन्।
उनले सरकारको उद्देश्य कसैलाई घरबारविहीन बनाउने नभई व्यवस्थित र सुरक्षित बसोबास सुनिश्चित गर्नु रहेको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत उनले गलत सूचना र नियोजित भ्रम फैलाइएको उल्लेख गर्दै त्यसमा नपर्न आग्रह गरेका छन्। सरकारका पछिल्ला कदम भूमिहीनलाई सडकमा ल्याउने नभई उनीहरूको आवास अधिकार सुरक्षित गर्ने दिशामा केन्द्रित रहेको उनको भनाइ छ।
समस्याको दीर्घकालीन समाधानका लागि कानुनी अड्चन हटाइएको र अब वास्तविक भूमिहीनको पहिचान गर्न डिजिटल लगत संकलन सुरु गरिएको उनले जानकारी दिएका छन्। जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने र अन्यको हकमा तथ्यांकका आधारमा निर्णय गरिने उनले बताएका छन्।
सरकारले बस्ती व्यवस्थापनको नाममा कसैलाई अन्याय नगर्ने र प्रत्येक नागरिकलाई सम्मानजनक आवास उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्रीले अनावश्यक रूपमा नआत्तिन सबैलाई अनुरोध गरेका छन्।




