काठमाडौं। सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजी) नारायणदत्त पौडेललाई सोमबार औपचारिक रूपमा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह सचिव राजकुमार श्रेष्ठले उनलाई उक्त चिन्ह लगाइदिएसँगै पौडेलले औपचारिक रूपमा नेतृत्व सम्हालेका छन्।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार वैशाख १९ गतेदेखि लागू हुने गरी पौडेललाई आईजीमा नियुक्त गरिएको हो। यसअघि नेतृत्वमा रहेका आईजी राजु अर्याल चार वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा गएपछि पौडेलले कमान्ड सम्हालेका हुन्।
अर्याल र पौडेल एउटै ब्याचका अधिकृत हुन्। सशस्त्र प्रहरीमा आईजीको पदावधि चार वर्ष हुने कानुनी व्यवस्था छ। नयाँ नेतृत्वसँगै संगठनमा थप गतिशीलता आउने अपेक्षा गरिएको छ।




