२०८३ असार ११

उपल्लो मुस्ताङमा दुर्लभ ‘क्याङ’को ठूलो बथान, १ सयभन्दा बढी एकैपटक देखिए जङ्गली गधा

काठमाडौं। नेपाल–चीन सीमावर्ती क्षेत्र उपल्लो मुस्ताङमा दुर्लभ जङ्गली गधा (क्याङ) को उल्लेखनीय उपस्थिति देखिएको छ। लोमान्थाङ आसपासका उच्च लेक क्षेत्रमा एकैपटक १ सय १६ वटा क्याङ देखिएपछि संरक्षणकर्मीहरू उत्साहित भएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत अध्ययनमा संलग्न टोलीले करिब ५ हजार मिटर उचाइमा रहेका ढालुङ र सेतारा लेकमा यी जनावर चरिरहेको अवस्थामा फेला पारेको हो। ढालुङमा १०२ र सेतारामा १४ वटा क्याङ देखिएको जानकारी दिइएको छ।

ट्रान्स–हिमालयन क्षेत्रका यी जङ्गली गधा सामान्यतः तिब्बती पठारमा बसोबास गर्छन् र गर्मी याम सुरु भएसँगै हरियो घाँसको खोजीमा मुस्ताङतर्फ आउने गर्छन्। यसअघि सन् २००४ मा गरिएको अध्ययनमा जम्मा ३७ वटा मात्र क्याङ फेला परेका थिए।

विशेषज्ञका अनुसार प्रत्यक्ष रूपमा यति ठूलो सङ्ख्यामा क्याङ देखिनु सकारात्मक संकेत भए पनि जलवायु परिवर्तन र मानवीय गतिविधिले उनीहरूको बासस्थानमा दबाब बढाइरहेको छ।