२०८३ श्रावण १७

भूमिहीन रहेका ४८३ परिवारले पाए लालपुर्जा, सुकुमबासी बने जग्गाधनी

काठमाडौँ । मिथिला नगरपालिका का ४८३ भूमिहीन सुकुमबासी परिवारले अन्ततः लालपुर्जा प्राप्त गरेका छन्। वर्षौँदेखि गाउँब्लकको जग्गा भोगचलन गर्दै आएका परिवारलाई कानुनी स्वामित्वसहित लालपुर्जा वितरण गरिएको हो।

नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ का परिवारलाई विशेष कार्यक्रमबीच लालपुर्जा हस्तान्तरण गरिएको नापी कार्यालयले जनाएको छ। नापी कार्यालयको दुई नम्बर टोलीले नापजाँच, कागजात प्रमाणीकरण र कानुनी प्रक्रिया पूरा गरेपछि धनीपुर्जा वितरण गरिएको हो।

टोली प्रमुख सीयाराम साहका अनुसार लालपुर्जाका लागि ६५८ जनाले आवेदन दिएका थिए। यसअघि पनि वडा नम्बर १, ६ र ७ का केही परिवारलाई लालपुर्जा वितरण गरिसकिएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले वर्षौँदेखि भूमिहीन जीवन बिताएका परिवारलाई बधाई दिँदै बाँकी छुटेकालाई पनि छिट्टै कानुनी प्रक्रियामार्फत अधिकार दिलाउन आग्रह गरे।

नगरप्रमुख महेन्द्र महतोले लालपुर्जा पाएसँगै स्थानीयहरू “रैतीबाट मालिक बनेको” टिप्पणी गर्दै अब सबै मिलेर नगर विकासमा लाग्नुपर्ने बताए।

नापी कार्यालयका अनुसार धनुषामा रहेका ७५ गाउँब्लकमध्ये ७२ वटाको नापजाँच पूरा भइसकेको छ भने १२ गाउँब्लकमा धनीपुर्जा वितरण सम्पन्न भइसकेको छ।