काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको बाढीपहिरोले ठूलो धनजनको क्षति पुर्याएको छ। असिनासहित आएको अविरल वर्षापछि उत्पन्न बाढी र लेदोसहितको पहिरोले स्थानीय पूर्वाधार तथा कृषिक्षेत्रमा व्यापक असर परेको हो।
बाढीपहिरोका कारण डाँफे आधारभूत विद्यालय, खेतीयोग्य जमिन तथा स्थानीयवासीका गोठ बगाएको जनाइएको छ। साथै, पहिरोमा केही भेँडाबाख्रा पुरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
हालसम्म मानवीय क्षतिको आधिकारिक पुष्टि भने भएको छैन। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार नेप्का गाउँ अत्यन्त दुर्गम क्षेत्रमा पर्ने भएकाले घटनास्थलबाट पूर्ण विवरण आउन समय लागेको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खड्काले पहिरोले गोठ पुरिएको जानकारी प्राप्त भए पनि क्षतिको यकिन विवरण अझै संकलन भइरहेको बताए। उनका अनुसार प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।
चंखेली गाउँपालिका अन्तर्गत तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन्। गाउँपालिकाको केन्द्र पिप्लाङबाट निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने भएकाले उद्धार तथा विवरण संकलन कार्य चुनौतीपूर्ण बनेको छ।




