काठमाडौँ । संघीय संसद् सचिवालयले जेठ १० गते आइतबारसम्म सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन दिएको समय सकिए पनि प्रतिनिधिसभाका ६ जना सांसदले अझै विवरण बुझाएका छैनन्।
सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार निर्धारित समयभित्र २५४ जना सांसदले सम्पत्ति विवरण बुझाएका छन् भने ६ जना सांसदले नबुझाएको पाइएको हो। २७५ सदस्यीय प्रतिनिधिसभामा १७ जना मन्त्री रहेका छन्, जसले सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउने व्यवस्था रहेको छ।
सचिवालयका अनुसार एक बहालवाला मन्त्री र एक पूर्वमन्त्रीले भने सचिवालयमा उपस्थित भएर सम्पत्ति विवरण बुझाएका छन्।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले पद सम्हालेको ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको स्रोतसहितको अद्यावधिक विवरण सम्बन्धित निकायमा पेश गर्नुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार सचिवालयले फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूलाई जेठ १० गतेसम्म विवरण बुझाउन सूचना जारी गरेको थियो।
सम्पत्ति विवरण नबुझाउने सांसदहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका पाँच जना र नेपाली कम्युनिस्ट पार्टीका एक जना रहेका छन्। सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढा तथा रास्वपाका आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतोले विवरण बुझाएका छैनन्।




