२०८३ आश्विन ३

प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी एकीकृत विधेयकमाथि सुझाव माग्दै शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि सरोकारवालाबाट सुझाव माग गरेको छ।

गुणस्तरीय प्राविधिक शिक्षा तथा सीप विकासको अवसरलाई पहुँचयोग्य बनाउँदै शिक्षा र तालिमलाई सीप, श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग आबद्ध गर्ने उद्देश्यसहित विधेयक अघि सारिएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले उक्त विधेयक आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै सुझाव उपलब्ध गराउन आग्रह गरेको हो।

मन्त्रालयका अनुसार मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान गर्न सक्ने आधारभूत, मध्यम र उच्चस्तरका प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विधेयक तयार गरिएको हो।

प्रस्तावित एकीकृत विधेयकले हालको ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५’ खारेज गर्ने व्यवस्था गरेको छ। साथै, श्रम बजारको आवश्यकताअनुसार पाठ्यक्रम निर्धारण, सम्बन्धन तथा शिक्षालय व्यवस्थापनको अधिकार परिषद्लाई दिने प्रस्ताव गरिएको छ।