काठमाडौँ । इजरायली लडाकु विमानले मंगलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ।
इजरायलले दक्षिणी लेबनानको टायर र बिन्ट जेबिल जिल्लाका धेरै सहरहरूलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ।
यसैबीच, बेरुतको दक्षिणी उपनगरका केही भागहरूमा आक्रमण विस्तार गर्ने इजरायली धम्कीपछि विस्थापित बासिन्दाहरूको आवागमन बढेको देखिएको छ।
लेबनानको जनस्वास्थ्य मन्त्रालयअन्तर्गतको जन–स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार मार्च २ देखि इजरायली आक्रमणमा तीन हजार १८५ जनाको मृत्यु भएको छ भने नौ हजार ६३३ जना घाइते भएका छन्।
अप्रिल १६ देखि लागू भएको युद्धविराम सम्झौताका बाबजुद इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ। निरन्तर आक्रमणका कारण बिग्रँदै गएको सुरक्षा र मानवीय अवस्थाका बीच मे १५ मा दोस्रो पटक ४५ दिनका लागि युद्धविराम विस्तार गरिएको थियो।



