२०८३ भाद्र ३१

काठमाडौंको मध्यभागमा १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। चक्रपथभित्र सहज रूपमा विद्युत् आपूर्ति सुनिश्चित गर्ने लक्ष्यसहित यो आयोजना अघि सारिएको हो।

विद्युत् खपत बढाउने र सहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यका साथ भूमिगत प्रसारण लाइन निर्माण गर्न लागिएको बताइएको छ।

प्रस्तावअनुसार बालाजु–महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म प्रसारण लाइन विस्तार गरिनेछ। बालाजु सबस्टेशनदेखि सिंहदरबारसम्म जोडिने उक्त लाइनको लम्बाइ ११.९२ किलोमिटर रहनेछ।

डबल सर्किट प्रणालीमा निर्माण हुने यो प्रसारण लाइन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। साथै महाराजगञ्जमा १३२/११ केभी, राजदरबारमा १३२/११ केभी, रत्नपार्कमा १३२/११ केभी तथा सिंहदरबारमा १३२/६६/११ केभी क्षमताका सबस्टेशनहरू निर्माण गरिनेछ।

यस आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत् विकास विभागमा आवश्यक अनुमति माग गर्दै आवेदन दिएको छ।

प्रसारण लाइनको क्षमता १३२ केभी रहनेछ भने यसबाट ३५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ। भूमिगत डबल सर्किट प्रणालीमा निर्माण हुने यस लाइनमा २१ वटा ‘ज्वाइन्ट पिट्स’ रहनेछन्, जसको अधिकतम दूरी ५०० मिटरसम्म हुनेछ।

आयोजनाका लागि करिब १.६२ हेक्टर जमिन आवश्यक पर्नेछ। निर्माण तथा सञ्चालनका क्रममा वातावरणीय प्रभाव न्यून हुने गरी विद्युत् ऐन, २०४९ को दफा २४ अनुसार भूक्षय, बाढी तथा वायु प्रदूषण नियन्त्रणका उपाय अपनाइने उल्लेख गरिएको छ।

विद्युत् विकास विभागले यसबारे आवश्यक सुझाव र सल्लाह दिन सार्वजनिक रूपमा आग्रह गरेको छ। यसअघि नै रत्नपार्क–महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण भइसकेको छ भने काठमाडौँ र ललितपुरका अन्य क्षेत्रमा पनि यस्तै परियोजनाहरू अघि बढिरहेका छन्।