काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले प्रत्येक वर्ष गर्ने अध्ययन तथा अनुसन्धानसम्बन्धी अभिलेख सुरक्षित राखेको नपाइएको महालेखापरीक्षकको ६३ औँ प्रतिवेदनमा उल्लेख छ।
समिति गठन आदेश, २०५३ को दफा ४ अनुसार बौद्धनाथ क्षेत्रभित्रको बौद्ध धर्मसँग सम्बन्धित सामाजिक, आर्थिक, सांस्कृतिक तथा पुरातात्विक वस्तुको संरक्षण गर्नुपर्ने व्यवस्था छ। तर समितिले गर्ने अध्ययन तथा अनुसन्धानका सामग्रीहरू डिजिटल, अभिलेख (आर्काइभ) वा अन्य वैज्ञानिक माध्यमबाट सुरक्षित राख्ने संयन्त्र विकास नगरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
महालेखापरीक्षकको कार्यालयले यस्ता सामग्रीको व्यवस्थित अभिलेख राखी सुरक्षित रूपमा संरक्षण गर्न समेत निर्देशन दिएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध तथा मेलम्ची घ्याङ गुठीबीच लामो समयदेखि विवाद रहँदै आएको छ। भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको गुठी संस्थान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको समितिबीचको विवादका कारण बौद्ध क्षेत्रको समुचित विकास प्रभावित भएको छ।
यसका कारण विदेशी पर्यटक आकर्षित हुने पूर्वाधार तथा संरचना निर्माणमा समेत अपेक्षित प्रगति हुन नसकेको बताइएको छ।




