२०८३ असार ३

भारतमा नेपाली चिया निर्यातको समस्या समाधानउन्मुख, सहजीकरणका प्रयास तीव्र : मन्त्री गौरी कुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी ले भारततर्फ हुने नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानउन्मुख रहेको बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा शून्य, आकस्मिक तथा विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले नेपालमा वार्षिक दुई करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेको उल्लेख गर्दै पछिल्लो समय निर्यातमा देखिएको अवरोध सहजीकरणमार्फत समाधानतर्फ उन्मुख भएको जानकारी दिइन् । उनका अनुसार नेपाली चियाको ८० देखि ९० प्रतिशत निर्यात भारतमा हुने गरेको छ ।

मन्त्री कुमारीका अनुसार चिया निर्यात सहजीकरणका लागि मन्त्रालयले गत चैत ३० गते नै सम्बन्धित निकायमा पत्राचार गरिसकेको छ । साथै, समस्या समाधानका उपायबारे चिया विकास बोर्डसँग वैशाख २८ गते छलफलसमेत गरिएको थियो । उनले अर्थोडक्स चिया मुख्य रूपमा भारतमै निर्यात हुने गरेको जानकारी पनि दिइन् ।

यसैबीच, नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत भारतका सम्बन्धित मन्त्रालयसँग समेत छलफल भइरहेको मन्त्री कुमारीले बताइन् । नेपालबाट भारत हुँदै तेस्रो मुलुकमा चिया निर्यात सहज बनाउन पनि कूटनीतिक तथा प्रशासनिक पहल जारी रहेको उनको भनाइ थियो ।

उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य निर्धारण तथा कार्यान्वयनको जिम्मेवारी भन्सार विभागलाई दिइएको जानकारी दिँदै उनले गुणस्तर अनुगमनको काम भने उपभोक्ता विभागले गर्दै आएको स्पष्ट पारिन् ।

त्यसैगरी, सर्वोच्च अदालत को आदेशअनुसार लुम्बिनी क्षेत्रमा रहेका उद्योग स्थानान्तरणको प्रक्रिया अघि बढाइएको पनि मन्त्री कुमारीले जानकारी दिइन् । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको पर्खालबाट १५ किलोमिटर क्षेत्रभित्र रहेका उद्योग हटाउन सर्वोच्च अदालतले यसअघि फैसला गरेको थियो ।