काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव ले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन को ३५औँ स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले राष्ट्रको भावी दिशा र सरकारको सोचबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।
‘राष्ट्रबारे के सोच बनाउनुभएको छ, देशलाई कुन दिशातर्फ लैजान चाहनुहुन्छ भन्ने विषयमा गणतन्त्र दिवसकै अवसरमा प्रधानमन्त्रीले टुँडिखेलको मञ्चबाट देशवासीलाई सम्बोधन गर्नुपर्छ भन्ने मेरो अपेक्षा छ,’ यादवले भने ।
पूर्वराष्ट्रपति यादवले विभिन्न राजनीतिक आन्दोलनमार्फत मुलुकले हासिल गरेका उपलब्धिबारे सरकारको दृष्टिकोण र आगामी मार्गचित्रबारे प्रधानमन्त्रीको धारणा सुन्न चाहेको पनि बताएका छन् ।




