काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले राष्ट्रिय मानवअधिकार आयोगको पछिल्लो प्रतिवेदनप्रति संकेतपूर्ण असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रतिवेदनको विषयलाई प्रत्यक्ष उल्लेख नगरे पनि आफ्नो अभिव्यक्तिमा गहिरो राजनीतिक सन्देश दिएका छन्।
बुधबार साँझ फेसबुकमा लेख्दै ढकालले महाभारतको प्रसंग जोडेर ‘युद्ध सकिनुअघि कथा लेख्न नहुने’ तर्क अघि सारेका छन्। उनले लेखेका छन्, “महाभारत युद्ध भइरहँदा लेखिएको होइन, युद्ध सकिएको धेरैपछि लेखिएको हो। युद्ध चलिरहेको छ भने कथा लेख्ने हतार नगर्नुहोस्, युद्ध सकिएपछि ढुक्कसँग लेखौँला।”
मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछाने, सांसद हरि ढकालसहित केही व्यक्तिमाथि जेनजी आन्दोलनका घटनाबारे थप अनुसन्धान गर्न सिफारिस गरेपछि ढकालको यस्तो प्रतिक्रिया आएको हो। आयोगले आन्दोलनका क्रममा नख्खु कारागारसँग जोडिएका घटनामा उनीहरूको भूमिकामाथि अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ।
ढकालले युद्धकै बीचमा लेखिने कथाहरू स्थायी नहुने दाबी पनि गरेका छन्। “युद्ध नसकिँदै कथा लेख्न खोज्नेहरूको कथा पानीको फोकाजस्तै अस्थायी हुन्छ,” भन्दै उनले अहिलेको अवस्था अझै समाप्त नभएको संकेत गरेका छन्।
महाभारतको अभिमन्यु प्रसंग स्मरण गर्दै उनले टिप्पणी गर्ने र घटनालाई हेर्ने सबै पक्षलाई तटस्थ दृष्टिकोण अपनाउन आग्रह गरेका छन्। “बर्बरिकले देखेझैँ वा सञ्जयले देखेझैँ तटस्थ भावले युद्ध हेर्नुहोला,” भन्ने उनको भनाइ छ।
ढकालको अभिव्यक्तिलाई धेरैले मानवअधिकार आयोगको प्रतिवेदनप्रतिको अप्रत्यक्ष प्रतिक्रिया रूपमा हेरेका छन्। यता आयोगले भने आफ्नो प्रतिवेदन कानुनी प्रक्रिया, अनुसन्धान र प्राप्त तथ्यका आधारमा तयार गरिएको बताउँदै आएको छ।




