२०८३ जेष्ठ १३

उत्तरी गोरखाबाट गम्भीर सुत्केरीको हवाई उद्धार, काठमाडौंमा उपचार जारी

गोरखा । उत्तरी गोरखाको दुर्गम धार्चे गाउँपालिकामा एक सुत्केरी महिलाको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। धार्चे–२ केरौँजाकी २४ वर्षीया विमला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी थापाथलीस्थित परोपकार प्रसूतिगृहमा भर्ना गरिएको हो।

स्थानीय प्रशासनका अनुसार विकलाई सुत्केरीपछिको जटिल स्वास्थ्य समस्या ‘इक्लामसिया’ देखिएको छ। उनी १३ दिनअघि सुत्केरी भएकी थिइन्, तर बुधबार बिहान एक्कासि बेहोस भएर ढलेपछि तत्काल उपचारको आवश्यकता परेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

धार्चे गाउँपालिका स्वास्थ्य शाखाका अमृत घलेका अनुसार उनको अवस्था निकै संवेदनशील रहेकाले ढिला नगरी सघन उपचारका लागि काठमाडौं पठाउनुपरेको हो। “समयमै आइसियुमा राखेर उपचार नगरे ज्यानै जोखिममा पर्ने अवस्था थियो,” उनले भने।

दिउँसो करिब २ बजे गरिएको उद्धारसँगै केरौँजा स्वास्थ्यचौकीबाट एक स्वास्थ्यकर्मी र बिरामीका कुरुवा पनि हेलिकोप्टरमै काठमाडौं पठाइएको छ। हाल प्रसूतिगृहमा उनको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था अझै गम्भीर रहेको जनाइएको छ।