काठमाडौँ । चीनको औपचारिक भ्रमणका क्रममा आइतबार बेइजिङ पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल ले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलाई प्रमुख राष्ट्रिय प्राथमिकताका रूपमा अघि सारेको बताएका छन्।
नेपाली दूतावासद्वारा बेइजिङमा आयोजित नेपाली डायस्पोरासँगको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री खनालले पुराना तथा ठूला भ्रष्टाचारका घटनाहरूको छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको जानकारी दिए। उनका अनुसार २०६३ सालपछि भएका भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयहरूको अध्ययन तथा अनुसन्धानका लागि विशेष कार्यदल गठन गरिएको छ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भएपछि निर्वाचनका क्रममा गरिएको सुशासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित भएको उल्लेख गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुनुको उद्देश्य नै प्रभावकारी शासन र सेवा प्रवाह सुधार रहेको उनको भनाइ थियो।
मन्त्री खनालले लामो समयदेखि राज्य सञ्चालनमा देखिएका कमजोरीका कारण प्रभावकारी सेवा प्रवाह हुन नसकेको निष्कर्षका आधारमा सरकार सुधारमुखी एजेन्डासहित अघि बढिरहेको बताए। उनले सेवा प्रवाहलाई सरल, छरितो र झन्झटरहित बनाउन डिजिटल तथा प्रविधिमैत्री शासन प्रणालीलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
विदेशमा रहेका नेपाली नागरिकको समस्या समाधानलाई सहज बनाउन परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको जानकारी दिँदै उनले उक्त एपमार्फत विदेशमा रहेका नेपालीले आफ्ना गुनासो तथा समस्या दर्ता गर्न सक्ने व्यवस्था गरिएको बताए। प्राप्त गुनासोहरू सम्बन्धित नेपाली दूतावाससँग तत्काल समन्वय गरी समाधान प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।
मन्त्री खनालले सरकार परिणाममुखी ढंगले काम गरिरहेको दाबी गर्दै निकट भविष्यमा नागरिकले प्रत्यक्ष रूपमा सुधारको अनुभूति गर्ने विश्वास व्यक्त गरे।




