काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि नगरसभामा छलफल सुरु भएको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। महानगरले विभिन्न ११ क्षेत्रमा केन्द्रित १०१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य तथा योजनालाई निरन्तरता दिँदै चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न हुन बाँकी रहेका बहुवर्षीय कार्यक्रमलाई समेत समेटिएको छ।
नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कार्यवाहक प्रमुख डङ्गोलले अन्तरसरकारी समन्वय र साझेदारीमार्फत मात्रै निर्धारित लक्ष्य हासिल गर्न सकिने बताइन्।
महानगरको नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय व्यवस्थापन, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, प्रविधिमैत्री स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा, संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि तथा उपभोक्ता हित संरक्षणलगायतका विषयलाई प्राथमिकता दिइएको छ।




