काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको मूल आकांक्षा सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, तीव्र विकास, शान्ति र समृद्धि प्राप्त गर्नु रहेको बताएका छन्।
लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयअनुसार राज्य संयन्त्रलाई अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउनु अपरिहार्य भएको धारणा व्यक्त गरे।
उनका अनुसार स्वउत्प्रेरित, अनुशासित, नैतिक र जिम्मेवार कर्मचारीतन्त्रले मात्र सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्दछ। प्रविधि र स्मार्ट सेवा प्रणालीको प्रयोगमार्फत नागरिकको विश्वास जित्न सके मात्रै लोकतान्त्रिक शासनप्रति जनताको भरोसा अझ मजबुत हुने उनले उल्लेख गरे।
राष्ट्रपति पौडेलले संविधानले अंगीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुसार स्थापित योग्यता प्रणालीको संरक्षण र सुदृढीकरण अझै आवश्यक रहेकोमा जोड दिए।
लोकसेवा आयोगप्रतिको विश्वास र यसको निष्पक्ष प्रणालीका कारण योग्य युवाहरूले लोकतान्त्रिक शासनमा आफ्नो भविष्य सुरक्षित देख्न सकेको उल्लेख गर्दै उनले आयोगले आफ्नो अनुभव र विश्वव्यापी अभ्यासबाट सिक्दै सेवा प्रणालीलाई अझ परिष्कृत गर्नुपर्ने बताए।
उनले लोकसेवा आयोगलाई सरकारी सेवामा कर्मचारी छनोट र भर्ना गर्ने अत्यन्त महत्वपूर्ण संवैधानिक निकायका रूपमा उल्लेख गर्दै यसको प्रक्रियालाई आधुनिक प्रविधिमा आधारित, समयसापेक्ष र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।
कर्मचारी छनोट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले हालसम्म पुर्याएको योगदान प्रशंसनीय रहेको बताउँदै राष्ट्रपति पौडेलले सो उपलब्धि र प्रतिष्ठालाई आगामी दिनमा अझ सुदृढ र प्रभावकारी बनाउन निरन्तर प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।
त्यसैगरी, उनले आयोगको कार्यक्षेत्र विस्तारसँगै कार्यसम्पादनलाई थप वैज्ञानिक, व्यवस्थित र प्रविधिमैत्री बनाउँदै भविष्यका चुनौतीलाई ध्यानमा राखेर योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
साढे सात दशक लामो इतिहासमा लोकसेवा आयोगले योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यो उपलब्धि गौरवको विषय भएको बताए।
अन्त्यमा उनले निष्पक्षता र योग्यता नै कर्मचारी छनोटको सर्वोच्च आधार भएको उल्लेख गर्दै आयोगप्रतिको जनविश्वास नै यसको सबैभन्दा ठूलो सम्पत्ति भएको टिप्पणी गरे। उक्त विश्वासलाई अझ मजबुत बनाउँदै आयोगलाई थप सुदृढ बनाउनेतर्फ निरन्तर प्रयत्न आवश्यक रहेको उनले जोड दिए।



