काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ को नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि वा लापरवाही नभएको स्पष्ट गरेको छ। मन्त्रालयले नतिजासम्बन्धी उठाइएका प्रश्नहरू तथ्यभन्दा बढी भ्रम र प्रचारमा आधारित रहेको जनाएको छ।
सिंहदरबारमा मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले नतिजा प्रकाशनबारे मन्त्रालयले गरेको समीक्षा तथा अध्ययनमा कुनै समस्या नदेखिएको बताए। उनका अनुसार उत्तरपुस्तिका परीक्षणदेखि नतिजा प्रकाशनसम्मको प्रक्रिया इमान्दारीपूर्वक सम्पन्न गरिएको थियो।
सचिव पौडेलले यस वर्ष शिक्षकहरूलाई थप जिम्मेवार बनाइएको तथा मूल्याङ्कन प्रणालीलाई व्यवस्थित गरिएकाले ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रतिशतमा सुधार आएको बताए। उनले विगतको तुलनामा नतिजा छिटो सार्वजनिक गर्न पनि मन्त्रालय सफल भएको उल्लेख गरे।
बैठकमा विश्वविद्यालयहरूको नियुक्ति प्रक्रियाबारे उठेका जिज्ञासाको जवाफ दिँदै उनले सम्बन्धित विश्वविद्यालय ऐनअनुसार नै नियुक्ति प्रक्रिया सञ्चालन भइरहेको बताए। खुला विश्वविद्यालयका स्थायी शिक्षकसम्बन्धी विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र आवश्यक पहल भइरहेको जानकारी पनि उनले दिए।
उच्च शिक्षाको अन्तर्राष्ट्रिय आकर्षणबारे चर्चा गर्दै सचिव पौडेलले हाल नेपालका विभिन्न विश्वविद्यालयमा करिब १,४०० विदेशी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए। विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्न सहज वातावरण निर्माण गर्ने उद्देश्यले विद्यार्थी भिसा प्रक्रियालाई थप सरल बनाउने विषयमा गृह मन्त्रालयसँग छलफल भइरहेको उनले बताए।
चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको सहभागिता बढाउन कोटा विस्तारसम्बन्धी नीतिगत तयारी भइरहेको उल्लेख गर्दै उनले यसले शैक्षिक क्षेत्रको अन्तर्राष्ट्रियकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
नेपाली विद्यार्थीको विदेश पलायनबारे बोल्दै सचिव पौडेलले अध्ययनपछि पर्याप्त रोजगारीका अवसर नपाउँदा धेरै विद्यार्थी विदेशिने गरेको बताए। स्वदेशमै गुणस्तरीय रोजगारी सिर्जना गर्न सकिए युवा जनशक्तिलाई देशभित्रै राख्न सम्भव हुने उनको धारणा थियो।



