२०८३ असार ११

सुदूरपश्चिम बजेटप्रति एमाले असन्तुष्ट, समर्थन फिर्ताको चेतावनी

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटप्रति सत्ता साझेदार दल नेकपा (एमाले) ले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। पार्टीले बजेटमा आवश्यक संशोधन नगरिए सरकारलाई दिएको समर्थन पुनर्विचार गर्न सकिने चेतावनीसमेत दिएको छ।

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले प्रदेश सरकारले ल्याएको बजेट सन्तुलित र समावेशी नभएको निष्कर्ष निकालेको जनाएको छ। बैठकले बजेट निर्माण प्रक्रियामा सत्ता गठबन्धनको अर्को प्रमुख साझेदार दललाई पर्याप्त महत्व नदिइएको तथा एकपक्षीय ढंगले कार्यक्रम समावेश गरिएको ठहर गरेको छ।

पार्टीले वर्तमान स्वरूपमा बजेट पारित गर्न नसकिने अडान दोहोर्‍याउँदै आवश्यक संशोधन अपरिहार्य रहेको उल्लेख गरेको छ। प्रदेश उपसचिव तथा प्रचार–प्रकाशन विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा प्रदेश सरकारबाट अपेक्षित सहकार्य र समन्वय हुन नसकेको जनाइएको छ।

एमालेले बजेटमा आफ्ना सुझाव र प्राथमिकतालाई समेटेर पुनः परिमार्जन गर्न आग्रह गर्दै त्यसतर्फ ध्यान नदिइए सरकारप्रतिको समर्थनबारे पुनः निर्णय लिन बाध्य हुने संकेत दिएको छ।

धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा सम्पन्न बैठकको अध्यक्षता प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले गरेका थिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।

प्रदेश सरकारको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै असन्तुष्टि सार्वजनिक भएसँगै आगामी दिनमा प्रदेश राजनीतिको समीकरण प्रभावित हुन सक्ने आकलन गरिएको छ।