२०८३ असार १०

राजस्व छलीको शंकामा रोकिएको ट्रकबाट ठूलो परिमाणमा ट्रामाडोल बरामद

काठमाडौं । पर्सामा राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइएको एक मालवाहक ट्रकबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल बरामद भएको छ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ३३४६ नम्बरको ट्रकलाई तस्करीजन्य सामान ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो।

राजस्व अनुसन्धान कार्यालयले ट्रकको विस्तृत जाँच गर्दा १२ हजार पत्ता ट्रामाडोल फेला परेको सूचना अधिकारी प्रमोद प्रसादले जानकारी दिए। उनका अनुसार ट्रकमा अन्य विभिन्न सामानसँगै ठूलो परिमाणमा औषधिजन्य सामग्रीसमेत लुकाइ राखिएको अवस्थामा भेटिएको थियो।

बरामद गरिएको लागुऔषध, ट्रक तथा सम्बन्धित व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि पुनः जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।