२०८३ असार ११

रास्वपाको महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि मतदान जारी रहेको छ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार गएरातिदेखि मतदान सुरु भएको हो र आज दिउँसो १२ बजेसम्म पहिलो चरणको मतदान सञ्चालन हुनेछ।

हालसम्म करिब १,६०० भन्दा बढी प्रतिनिधिले मतदान गरिसकेका छन्। आयोग प्रमुख भुवन केसीका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि ३८४ जनाको उम्मेदवारी परेको छ।

त्यसमध्ये खुलातर्फ २१० र भूगोलतर्फ १७४ उम्मेदवार छन्। सात प्रदेशबाट ३५ र खुलातर्फ ६४ गरी कुल ९९ केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ।

प्रदेशगत रूपमा सुदूरपश्चिमबाट १८, मधेशबाट २०, लुम्बिनीबाट ३१, कोशीबाट २०, कर्णालीबाट ३१, बागमतीबाट २७ र गण्डकीबाट २७ जनाको उम्मेदवारी परेको छ।

चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा मतदान भइरहेको छ। पहिलो चरणको मतदान सकिएपछि दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने र त्यसपछि दोस्रो चरणको मतदान सुरु हुने आयोगले जनाएको छ।