काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव कायम छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।
विभागले आगामी २–३ दिनभित्र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रसहित कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुन विस्तार हुने सम्भावना रहेको जनाएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना छ। तराईका केही क्षेत्रमा पनि मेघगर्जन–चट्याङसहित वर्षा हुन सक्नेछ।
विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा, लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।




