काठमाडौं । आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ। प्रत्येक वर्ष असार १५ गते मनाइने यस दिवसमा किसानहरू खेतमा धान रोप्दै दही–चिउरा खाएर पर्व मनाउने परम्परा रहेको छ। कृषि कार्यको व्यस्त मौसमसँग जोडिएको यो दिन नेपाली समाजमा सांस्कृतिक तथा कृषिजन्य महत्त्व बोकेको पर्वका रूपमा स्थापित भएको छ।
नेपालमा राष्ट्रिय धान दिवस मनाउने परम्परा विसं २०६२ असार १५ गतेदेखि सुरु भएको हो। यसअघि विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट यो दिवस मनाउने व्यवस्था गरिएको थियो। कृषिप्रधान देश नेपालमा अधिकांश नागरिकको जीविकोपार्जन खेतीपातीमा निर्भर भएकाले धान दिवसलाई विशेष महत्त्वका साथ मनाइन्छ।
असार महिना धान रोपाइँको मुख्य समय भएकाले किसानहरू खेतमा व्यस्त रहने गर्छन्। रोपाइँका क्रममा असारे भाका गाउने, हिलोमा रमाउने र सामूहिक रूपमा धान रोप्ने परम्पराले यस दिनलाई अझ उत्साहपूर्ण बनाउने गरेको छ। कतिपय स्थानमा हिलो खेल्ने चलनसमेत रहेको छ, जसलाई कृषि संस्कृतिको अभिन्न अंश मानिन्छ।
असार १५ लाई दही–चिउरा खाने पर्वका रूपमा पनि चिनिन्छ। किसानहरूले खेतमा काम गर्दा शरीरलाई शीतलता र ऊर्जा मिल्ने विश्वासका साथ दही–चिउरा खाने गर्छन्। खेतीपातीमा संलग्न नभएका व्यक्तिहरूले पनि आजको दिन दही–चिउरा खाएर पर्व मनाउने परम्परा कायमै छ।
नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। घरबाट शुभकार्यका लागि निस्कँदा, यात्रा वा विदेश प्रस्थानअघि दही खुवाउने तथा दही–अक्षता लगाउने चलन अझै प्रचलित छ। दही खाएर यात्रा सुरु गर्दा शुभ हुने जनविश्वास पनि रहिआएको छ।
स्वास्थ्यका दृष्टिले पनि दही लाभदायक मानिन्छ। यसले पाचन प्रणालीलाई सुदृढ बनाउन सहयोग गर्ने विश्वास गरिन्छ भने आयुर्वेदमा भोजनपछि मोही सेवन गर्नु स्वास्थ्यका लागि हितकर मानिएको उल्लेख छ। पखालाजस्ता समस्यामा पनि दही–चिउरा उपयोगी हुने विश्वासले यसको महत्त्व अझ बढाएको छ।
यद्यपि यस वर्ष असारको मध्यसम्म पनि देशका सबै क्षेत्रमा पर्याप्त वर्षा नभएकाले अपेक्षाअनुसार धान रोपाइँ हुन सकेको छैन। केही स्थानमा रासायनिक मलको अभाव भएको भन्दै किसानहरूले गुनासो गरेका छन्। भने कृषि, वन तथा वातावरण मन्त्रालयले आवश्यक परिमाणमा रासायनिक मल मौज्दात रहेको जनाएको छ।




