२०८३ श्रावण १०

महिलाको सुरक्षित यात्राका लागि ‘ब्लू बस’ सेवा साउन १ देखि काठमाडौँ उपत्यकामा सञ्चालन हुँदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी साउन १ गतेदेखि पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित तथा सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित सातै प्रदेशमा निःशुल्क ब्लू बस सेवा विस्तार गर्ने योजना रहेको छ।

पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनभित्र २५ वटा बस सञ्चालन गर्ने लक्ष्य रहेको छ। यसका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग राय तथा सहमतिका लागि पत्राचार गरेको र स्वीकृति प्राप्त भएपछि सेवा सुरु गरिने तयारी छ।

प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुट तथा थानकोट–नागढुंगा–विमानस्थल रुटमा दुई–दुई वटा बस सञ्चालन गरिनेछ। त्यस्तै, चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन हुनेछन्, जसमा दुई वटा घडीको दिशामा र दुई वटा विपरीत दिशामा चल्ने व्यवस्था रहनेछ।