काठमाडौँ । टीकापुर नगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु १ अर्ब ३ करोड ६७ लाख ७७ हजारको बजेट प्रस्तुत गरेको छ।
नगरसभाको अध्यक्षता ज्येष्ठ सदस्य जयराम थारुले गरेका थिए। नगर प्रमुख रामलाल डगौरा थारुले राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका तथा उपप्रमुख खडकबहादुर शाह निलम्बनमा परेपछि सभा ज्येष्ठ सदस्य थारुको नेतृत्वमा सञ्चालन गरिएको हो।
आर्थिक विकास समितिका संयोजक यज्ञप्रसाद न्यौपानेले नगरसभामा बजेट प्रस्तुत गरेका थिए। आगामी वर्षका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक आम्दानीको आधारमा बजेट अनुमान गरिएको छ।
बजेट स्रोत विवरण
| स्रोत | रकम |
|---|---|
| संघीय सरकार अनुदान | रु ६५ करोड ५६ लाख |
| सुदूरपश्चिम प्रदेश सरकार अनुदान | रु १४ करोड ६६ लाख |
| आन्तरिक आम्दानी | रु २४ करोड ४७ लाख |
| कुल बजेट | रु १ अर्ब ३ करोड ६७ लाख ७७ हजार |
नगरसभामा वडा नं १ का वडाध्यक्ष मोहन विकले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले आर्थिक गतिविधिसम्बन्धी प्रस्तावहरू राखेका थिए। त्यस्तै वडा नं ४ का वडाध्यक्ष लालबिर चौधरीले विविध प्रस्तावहरू प्रस्तुत गरेका थिए।
नगरपालिकाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी स्थापना हुने उत्पादनमूलक उद्योगलाई १० वर्षसम्म नगरपालिका तिर्नुपर्ने राजस्व शुल्क छुट दिने नीति अघि सारेको छ।
त्यसैगरी सरकारी स्वामित्वका घरजग्गा, सार्वजनिक संस्था, गैरनाफामूलक शैक्षिक तथा स्वास्थ्य संस्था, धार्मिक स्थल, खानेपानी संरचना, मसानघाटलगायत सार्वजनिक सम्पत्तिमा कर नलगाउने नीति पनि नगरसभाले समावेश गरेको छ।




