२०८३ श्रावण ४

सार्वजनिक यातायातको भाडादेखि सीमा समस्यासम्म राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले सार्वजनिक यातायातको भाडा समायोजन, सडक सुरक्षा, विपद् व्यवस्थापन तथा कूटनीतिक माध्यमबाट सीमा समस्या समाधानलगायत विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा सार्वजनिक सवारीसाधन र हवाई यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरे।

कांग्रेसका पदमबहादुर परियारले पछिल्लो एक दशकमा सडक दुर्घटनामा २४ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएको उल्लेख गर्दै सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिए।

कांग्रेसकी विष्णुकुमारी सापकोटाले रुसी सेनामा भर्ना भएका नेपालीमध्ये युक्रेन युद्धमा १८७ जनाको मृत्यु र ९६ जना बेपत्ता भएको भन्ने समाचारप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन्। उनले कूटनीतिक पहलमार्फत घटनाको सत्यतथ्य सार्वजनिक गर्न पनि आग्रह गरिन्।

कांग्रेसकी विष्णुदेवी पुडासैनीले सुकुमवासी नागरिकको समस्या शीघ्र समाधान गर्न सरकारसँग माग गरिन्।

नेकपाका विष्णुबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षमा नयाँ सवारीसाधन खरिद नगर्न सरकारलाई सुझाव दिए।

नेकपाकै श्रीकृष्णप्रसाद अधिकारीले नुवाकोटको सूर्यगढी गाउँपालिका–१ लच्याङस्थित बुलबुले, काउले र सेम्राङ क्षेत्रमा जमिन भासिँदा ३० परिवार विस्थापित भएको र सयौँ घर पहिरोको जोखिममा परेको जानकारी गराउँदै प्रभावितको तत्काल उद्धार तथा व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी, नेकपाकी सावित्री मल्लले नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले भूमि संरक्षण र नागरिकता प्राप्तिको माग गर्दै माइतीघरमा आन्दोलन गरिरहेको उल्लेख गर्दै सीमा समस्याको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरिन्।