२०८३ श्रावण १०

मेलम्चीको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द

काठमाडौं मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि काठमाडौं उपत्यकामा वितरण भइरहेको पानी आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ। पानी अत्यधिक धमिलो भएपछि प्रशोधन प्रक्रिया प्रभावित भई आपूर्ति रोकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ।

केयुकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार लगातारको वर्षाका कारण मुहान क्षेत्रमा पानीको गुणस्तरमा गिरावट आएको छ, जसले गर्दा सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी प्रशोधन प्रक्रिया सञ्चालन गर्न कठिन भएको हो। यही कारण मेलम्चीबाट हुने पानी आपूर्ति रोकिएको उनले बताए।

प्रवक्ता चन्दले भने, “वर्षाका कारण मुहानको पानी अत्यधिक धमिलो भएको छ। पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित तालिकाअनुसार आपूर्ति सुरु गरिनेछ।”

लगातार वर्षा भइरहेमा काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिमा थप असर पर्न सक्ने भएकाले पानीको प्रयोगमा सावधानी अपनाउन पनि उपभोक्तालाई अनुरोध गरिएको छ।