काठमाडौं। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी ले चालु धान सिजनमा रासायनिक मलको अभाव नहुने बताएकी छन्। आवश्यक मलको पर्याप्त मौज्दात रहेको र थप आपूर्तिको प्रक्रिया पनि अघि बढिसकेको भन्दै उनले किसानलाई सहज रूपमा मल उपलब्ध गराइने दाबी गरिन्।
मंगलबार राष्ट्रिय सभाको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले हाल ९५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिइन्।
उनका अनुसार सरकार–सरकार (जीटुजी) प्रणालीमार्फत थप ५० हजार मेट्रिक टन मल छिट्टै आपूर्ति हुने प्रक्रियामा रहेको छ। यसले धानबालीका लागि आवश्यक पर्ने मलको आपूर्तिमा सहजता आउने विश्वास व्यक्त गरिन्।
मन्त्री चौधरीले मल खरिदका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता अर्थ मन्त्रालयबाट प्राप्त भएको पनि बताइन्। आवश्यकता परे थप बजेट उपलब्ध गराउने आश्वासन अर्थ मन्त्रालयले दिएको जानकारी उनले सभालाई गराइन्।
‘हाल ९५ हजार मेट्रिक टन मल मौज्दात छ। जीटुजीमार्फत थप ५० हजार मेट्रिक टन मल आपूर्तिको प्रक्रियामा रहेको छ। यसले धान सिजनका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने देखिन्छ। आवश्यक परे अर्थ मन्त्रालयबाट थप बजेट उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ,’ मन्त्री चौधरीले भनिन्।
उनले आगामी आर्थिक वर्षका लागि रासायनिक मल आपूर्ति तथा व्यवस्थापनसम्बन्धी कार्ययोजना समेत तयार भइसकेको जानकारी दिँदै मल वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने सरकारको योजना रहेको बताइन्।




