२०८३ श्रावण १०

पुनर्निर्माण अन्तिम चरणमा बिपी राजमार्ग, केही दिनभित्रै पूर्ण सञ्चालनमा आउँदै

काठमाडौं पटक–पटकको बाढीपहिरोबाट क्षतिग्रस्त बनेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। सडक कार्यालयका अनुसार अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाट यस खण्डमा पूर्ण रूपमा सवारी सञ्चालन हुने भएको छ।

पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौंसँग जोड्ने छोटो दूरीको महत्वपूर्ण मार्गका रूपमा रहेको बिपी राजमार्ग विगतमा सामान्य वर्षामै अवरुद्ध हुने समस्या भोग्दै आएको थियो। तर, यस वर्षको वर्षायाममा सडक अवरुद्ध हुन नदिन र आकस्मिक अवरोध भए तत्काल खुलाउने गरी विशेष तयारी गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राखेर आवश्यक हेभी इक्विपमेन्ट, प्राविधिक जनशक्ति र उद्धार टोली तयारी अवस्थामा राखिएको छ। उनका अनुसार पुनर्निर्माण भएका अधिकांश स्थानमा अहिले नै सवारी आवागमन सहज रूपमा सञ्चालन भइरहेको छ।

यसअघि रोशी खोलामा बनाइएको अस्थायी डाइभर्सन वर्षाको बहाव बढ्दा पटक–पटक क्षति हुने गरेको थियो। अहिले भने चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्मको सडक खण्डलाई सुरक्षित बनाउँदै पुरानै ट्रयाकबाट सवारी सञ्चालनको व्यवस्था गरिएको छ।

सडक कार्यालयले भने केही स्थानलाई अझै उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरी निरन्तर निगरानी गरिरहेको छ। चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई जोखिमयुक्त सूचीमा राखिएको छ।

विसं २०८१ असोजमा आएको भीषण बाढीपहिरोले बिपी राजमार्गको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडक खण्डमा व्यापक क्षति पुर्‍याएको थियो। क्षतिग्रस्त २९.५ किलोमिटर सडक पुनर्निर्माणको काम विभिन्न चरणमा अघि बढाइएको हो।

क्षतिमध्ये सबैभन्दा बढी प्रभावित बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक खण्डको स्थायी पुनर्निर्माणको जिम्मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले लिएको छ। उक्त क्षेत्रमा सडकको जग बलियो बनाउन माटो भर्ने, ठूला ढुंगा (बोल्डर) राख्ने लगायतका काम भइरहेको छ।

जाइकाको सहयोगका लागि जापान सरकारले करिब २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी गरेको छ। बाँकी सडक खण्डको पुनर्निर्माण भने काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चारवटा प्याकेज बनाएर ठेक्का प्रक्रियामार्फत अघि बढाइएको छ।

दुई लेनको सडक बनाउने दीर्घकालीन योजना

पुनर्निर्माणपछि बिपी राजमार्गको प्रभावित खण्ड दुई लेनको बन्नेछ। हाल सञ्चालनमा रहेका पुलसँगै थप नयाँ पुल निर्माण गरी सडक संरचनालाई थप सुरक्षित र दीर्घकालीन बनाउने योजना रहेको सडक कार्यालयले जनाएको छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट निर्माण सुरु भएको धुलिखेल–सिन्धुली–बर्दिबास सडक १६० किलोमिटर लामो छ। बिपी राजमार्गले काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने प्रमुख वैकल्पिक मार्गका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

हाल क्षतिग्रस्त क्षेत्रहरूमा ग्राभेल बिछ्याउने, ढुंगा राख्ने र सडक संरचना मजबुत बनाउने काम अन्तिम चरणमा पुगेकाले वर्षायाममा पनि यात्रुहरूले सहज र सुरक्षित यात्रा गर्न पाउने विश्वास सडक कार्यालयले व्यक्त गरेको छ।